ताजा अपडेट »

भारतमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या १३३ पुग्यो

आइतबार, १२ फागुन २०७५, २२ : ०५
6 Shares


फागुन १२ ,
गुवाहाटी ।  गुवाहाटी थप ३५ भन्दा बढी मजदुरहरुको मृत्यु भएपछि भारतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १३३ पुगेको छ ।

भारतको आसाम राज्यमा भएको यस घटनामा परी बिरामी भएका दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । मृत्यु भएका र बिरामी भएका सबै आसामको चिया बगानमा काम गर्ने मजदूरहरू हुन् । मृत्यु हुनेक्रम गत बिहीबार सुरु भएको थियो । 

स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्ने बताइएको छ । दुई हप्ताअघि अरू दुई राज्य उत्तर प्रदेश र उत्तराखण्डमा पनि विषाक्त मदिराका कारण झण्डै एक सय जनाको मृत्यु भएको थियो । 

‘पछिल्लो विवरण अनुसार गोलघाट र जोरहाटमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या एक सय ३३ पुगेको छ’ प्रदेश प्रहरीका अतिरिक्त महानिर्देशक मुकेश अग्रवालले आइतबार पत्रकारहरुसँग भने । उनले घटनामा दोषी भएको आशंकामा १० जनालाई गिरफ्तार गरिएको र पीडितहरुले सेवन गरेको मदिराको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको पनि जानकारी दिए । 
त्यसैगरी मदिरा बिक्रीवितरण रोक्न नसकेको भन्दै दुईजना अधिकारीहरूलाई पनि निलम्बन गरिएको जनाइएको छ । गोलाघाट स्वास्थ्य विभागका सहनिर्देशक डा. रतुल बोरदोलोईका अनुसार पीडितहरूमा बान्ता हुने, छाती दुख्ने एवम् सास फेर्न गाह्रो हुने गम्भीर समस्यासहित अस्पताल पुगेका थिए ।- रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।