ताजा अपडेट »

इँटा उद्योगलाई माटोको समस्या, चौध उद्योग बन्द

आइतबार, १२ फागुन २०७५, ०८ : ५८
10 Shares

फागुन १२,

चितवन । घर निर्माणका लागि आवश्यक इँटा उत्पादन गर्र्दै आएका उद्योग माटोको अभावमा समस्यामा छन् । चितवन जिल्लामा सञ्चालनमा रहेका इँटा उद्योगका लागि आवश्यक पर्ने माटोको अभाव हुन थालेपछि १४ वटा उद्योग बन्द भइसकेका छन् ।  स्थानीयको जमिन खरिद गर्दै अग्लो, ढिस्को भएको स्थानको माटो काटेर उद्योगले इँटा बनाउँदै आएका थिए । त्यसरी खरिद गर्दै आएको जमिन अभाव भएको, जग्गाको अत्यधिक मूल्य वृद्धिले गर्दा उद्योग सञ्चालनमा नै समस्या परेको इँटा व्यवसायी सङ्घ चितवनका अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो । 
‘जमिनको अभावमा नै उद्योग सङ्कटमा पर्न थालेको छ’ उहाँले भन्नुभयो ‘कतिपय उद्योग माटोको अभावले बन्द भइसकेका छन् । ’ अहिले सञ्चालनमा रहेका उद्योग पनि लामो समय टिक्न सक्ने अवस्थामा नरहेको बताइएको छ । अग्लो जमिन भएको स्थान घडेरीका लागि उपयुक्त हुने भन्दै जग्गा व्यवसायीले गाउँगाउँमा प्लटिङ गर्न थालेपछि उद्योगलाई समस्या परेको हो । 


जमिनको अभावमा यसै वर्ष तीनवटा उद्योग बन्द भएका छन् । दुईवटा बन्द हुने अवस्थामा पुगेको सापकोटाले बताउनुभयो । दस वर्षअघि ३० वटा उद्योग भएको चितवनमा अहिले १६ वटा मात्र सञ्चालनमा छन् । सञ्चालनमा रहेका उद्योग पनि आउँदो पाँच वर्षभित्र ज्यादै थोरै मात्र चल्ने अध्यक्ष सापकोटाले दाबी गर्नुभयो । केही वर्ष अघिसम्म अग्लो जमिन भएको ठाउँमा जग्गाधनीले धान रोप्न मिल्ने बनाउनका लागि उद्योगलाई लिजमा जमिन दिने गरेका थिए, गणेश इँटा उद्योगका सञ्चालक राजु गुरुङले भन्नुभयो तर अहिले त्यस्तो अवस्था छैन ।
उद्योगले दिने जग्गाको मूल्यभन्दा प्लटिङ व्यवसायीले दिने रुपियाँ धेरै हुने भएपछि जग्गा पाउन समस्या परेको छ । उद्योग भएको स्थानमा माटो पाइँदैन उहाँले भन्नुभयो टाढाबाट खरिद गरेर ल्याउँदा महँगो पर्छ । महँगै परे पनि खरिद गर्छु भन्दा पनि माटो पाउन ज्यादै कठिन छ । जग्गाको मूल्य वृद्धि भएपछि त्यसको प्रत्यक्ष असर इँटा उद्योगमा परेको मनकामना इँटा उद्योगका सञ्चालक पुष्पकुमार पियाले बताउनुभयो । १० वर्षअघि प्रशस्त जग्गा पाइन्थ्यो । अहिले त्यो समय छैन । 
जग्गाको मूल्य बढेपछि भाडामा जमिन लिन वा खरिद गरेर उद्योग चलाउन नसकिने अवस्थामा पुगेको पियाले बताउनुभयो । ग्रामीण क्षेत्रमा प्रतिकठ्ठा एक लाख रुपियाँमा पाइने जमिन अहिले प्रतिकठ्ठा २० लाख रुपियाँभन्दा माथि पुगेपछि उद्योगीहरू व्यवसाय बन्द गर्न थालेका छन् ।

वर्षौँदेखि यही पेसा गर्दै आएका थियौँ, अब नसकिने भएको छ । अब मुस्किलले दुई वर्षसम्म चल्छ भन्ने आशा छ उहाँले भन्नुभयो – त्यसपछि उद्योग बन्द गर्ने तयारी छ । मजदुरहरूले पहिल्यै पैसा लिएर जाने र काममा नआउने समस्याले उद्योग सञ्चालकलाई थप समस्या पर्ने गरेको छ । पछिल्लो वर्ष काम गर्न आउनको लागि अघिल्लो वर्ष उद्योगले मजदुर ठेकेदारलाई पैसा दिने प्रचलन छ । 
कच्चा पदार्थ नपाउने समस्या ठूलो छ धरेल इँटा उद्योगका व्यवस्थापक कैलाश दहालले भन्नुभयो मजदुर नपाउने अर्को समस्या छ । अर्को वर्ष काम गर्न आउनका लागि अघिल्लो वर्ष नै पेस्की दिएर पठाउनुपर्ने अवस्था छ, उहाँले भन्नुभयो मजदुर आएन भने दिएको पैसा फिर्ता हुँदैन ।

यो उद्योगहरूको साझा समस्या हो । मजदुरहरूको समस्या, कच्चा पदार्थ नपाउने, वातावरण मैत्री उद्योग बनाउनुपर्नेजस्ता विभिन्न कारणले उद्योग चलाउन ज्यादै कठिन भएको उहाँले बताउनुभयो । 
इँटा उद्योगमा आएको नयाँ प्रविधि, इँटा पोल्न आवश्यक प्रविधि, वातावरणमैत्री उद्योग सञ्चालन गर्न अपनाउनुपर्ने सावधानीलगायतका कारण पनि उद्योग सञ्चालन गर्न ठूलो खर्च लाग्ने भएको छ । परम्परागत रूपमा इँटा पोल्दै आएका नयाँ प्रविधि अपनाउन नसकेका र वातावरणमैत्री बनाउन नसकेका उद्योग पनि बन्द हुन पुगेका छन् । -शालिग्राम नेपाल /गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।