June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

गौतमबुद्ध विमानस्थल : भदौबाट व्यावसायिक उडान

546

फागुन १२,

काठमाडौँ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति सन् २०१७ को डिसेम्बरसम्म २६ प्रतिशत मात्रै थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन । कामको गति कछुवाको जस्तै थियो । समस्या समाधानका लागि भएका पहलसमेत सकारात्मक हुनसकेको थिएन । निर्माण सामग्री उपलब्ध हुनसकेको थिएन । नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत प्रभावकारी समन्वय गर्न सकेको थिएन । आयोजना करिब करिब रुग्ण अवस्थामा पुगेको थियो । 


आयोजनालाई अगाडि बढाउने जिम्मेवार निकाय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पनि बेखबर अवस्थामा थियो । समन्वय गर्ने निकायको चासो थिएन । लगानीकर्ता एशियाली विकास बैंकलाई समेत आयोजनाको दुरवस्थाले पिरोलेको थियो । ठेकेदारको बेमेल परामर्शदाताको परामर्शको समेत सुनुवाइ नभएको अवस्थामा आयोजना सकिनसकी घस्रिरहेको अवस्थामा थियो । सन् २०१५ को जनवरीदेखि शुरु भएको आयोजना सन् २०१७ मा सक्ने लक्ष्य भए पनि तोकिएको समयमा काम भएन ।

चौध महीनापछि आयोजनाको अवस्था अर्कै भएको छ । कूल २६ प्रतिशत भौतिक प्रगतिमा रहेको आयोजना आज करिब ७० प्रतिशतको हाराहारीमा पुगेको छ । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा पारेर निर्माण भइरहेको विमानस्थलको दुःखद अतित सुखद् वर्तमानमा परिणत भएको छ । आगामी भदौ महिनादेखि व्यावसायिक उडान गर्ने लक्ष्यका साथ निर्माणकार्य भइरहेको आयोजना प्रमुख प्रवेश अधिकारी सगौरव बताउनुहुन्छ । 


एक वर्ष भयो अधिकारीले आयोजनाको नेतृत्व सम्हालेको । त्यसअघि आयोजना प्रमुखका रूपमा ओम शर्मा हुनुहुन्थ्यो । शर्मालाई प्राधिकरणले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरेपछि अधिकारीलाई उक्त आयोजनाको जिम्मा दिइएको थियो । उमेरले ३३ वर्षीय अधिकारीले भन्नुभयो, “एक वर्षको बीचमा ठूलो प्रगति भएको छ । विमानस्थल बन्छ कि बन्दैन भनेर मडारिएको कालो बादल हटेको छ । जस्तो प्रगति भएको छ, यसमा म र मेरो समूह असाध्यै खुशी छ ।”

 
देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै समस्या आउने बित्तिकै हवाइजहाजलाई थाइल्याण्ड, कोलकत्ता, लखनऊ र नयाँदिल्ली ‘डाइभर्ट’ गर्नुपर्ने बाध्यता एकातिर थियो भने अर्कोतिर विमानस्थलको प्रगति नहुँदा सरोकारवाला निकायमा निराशा फैलिइरहेको थियो । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्रीको रूपमा रवीन्द्र अधिकारीले पदभार ग्रहण गरेपछि गौतमबुद्ध विमानस्थलाई जसरी भए पनि अगाडि बढाउने सोच बनाइयोे ।

ठेकेदारका समस्या समाधान गरियो, पैसाको उचित प्रबन्ध र व्यवस्थापन गरियो । प्राविधिक तथा अन्य समस्यासमेत निरुपण गरियो । फलस्वरुप यतिखेर विमानस्थल युद्धस्तरमा निर्माण भइरहेको हो । आयोजना प्रमुख अधिकारीका अनुसार विमानस्थलको धावनमार्गको तेस्रो चरणको कालोपत्र सकिएको छ । चौथो तहको कालोपत्र दुई दिनपछि शुरु हुँदैछ । कूल सात दशमलव पाँच इन्च मोटाइको चार तहको कालोपत्र सकिएपछि विमानस्थलको निर्माण करिब सकिन्छ । बढीमा २० दिनभित्र चौथो चरणको कालोपत्र सकेर बत्ती व्यवस्थापनलगायत काम गर्ने सोचमा आयोजना लागेको छ । 


ट्याक्सी पार्किङस्थल पिच गर्न ठिक्क पारिएको छ । टर्मिनल भवन निर्माण अन्तिम चरणमा पुगेको छ । यस्तै ‘कन्ट्रोल टावर’को कामसमेत अन्तिम चरणमा पुग्न लागेको छ । आयोजना प्रमुख अधिकारी बिहानदेखि साँझसम्म निरन्तर काममा खट्नुभएको छ । ठेकेदार, परामर्शदाता, प्राधिकरण सबैसँग समन्वयका साथ काम भएको छ । दैनिक चार सयभन्दा बढी मजदुरले नियमित रूपमा काम गरिरहेका छन् ।

 
समस्यामा फसेको आयोजना यो रूपमा यसरी अगाडि बढ्ला भन्ने धेरैलाई लागेको थिएन तर यतिखेर आयोजनाको प्रगति देखेर धेरैले भन्न थालेका छन्, इमान्दार भएर काम ग¥यो भने प्रगति देख्न जुगाँै कुर्र्नु पर्दैन । हालैमात्र उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालगायतले आयोजना निरीक्षण गरी समयमै काम सक्न आयोजना प्रमुख अधिकारीलाई हौस्याउनुभएको छ । 


संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीले त दैनिकजसो नै आयोजनाको प्रगतिका बारेमा जानकारी लिँदै आउनुभएको छ । ठेकेदारले तोकिएअनुसार काम गरेका छन् । निकट भविष्यमै एउटा मात्रै विमानस्थल हुनाको पीडाबाट नेपालले मुक्ति पाउँदैछ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको काखमा अन्तर्राष्ट्रिय विमानस्थल तयार हुँदैछ । 


सरकारले पछिल्लो पटक थप रु चार अर्ब रकम आयोजनाका लागि उपलब्ध गराएको थियो । आयोजना विस्तारका लागि भन्दै अर्थ मन्त्रालयले रकमान्तर गरेर उक्त परिमाणको रकम मुआब्जाका लागि उपलब्ध गराएको हो । अधिकाशं ठूला आयोजना समस्यामा परेकोे बेला सरकारको सकारात्मक प्रयासले उक्त विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको छ । कूल ४५ मिटर चौडाइ र ३ हजार मिटर लामो धावनमार्ग पनि निर्माण भएको छ ।

 
हालै मात्र प्राधिकरणले नेपाल आयल निगमलाई साढे सात बिघा जग्गा हवाई इन्धन भण्डारणका लागि उपलब्ध गराएको छ । निगम प्रवक्ता वीरेन्द्र गोइतका अनुसार विमानस्थल सञ्चालनमा आउने तयारी भएपछि हवाई इन्धनका लागि उक्त जग्गा उपलब्ध गराइएको हो । आयोजनाको कूल लागत मूल्यअभिवृद्धि करसहित छ अर्ब २२ करोड ५१ लाख २० हजार ११८ रुपियाँ छ ।
रमेश लम्साल /गोरखापत्र

पछिल्लो अपडेट