ताजा अपडेट »

विश्वकप क्वालिफायर: नेपालको विजयी शुरुआत

मंगलबार, ०७ फागुन २०७५, १४ : २३
4 Shares


फागुन ७,

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजीत गरेको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा १२७ रनको लक्ष्य पच्छ्याएको मलेशियाले पूरै ओभर खेल्दै सात विकेटको क्षतिमा ९२ रन मात्र बनाएपछि नेपालले ३४ रनको जित निकालेको हो ।

 मलेशियाका लागि क्रिस्टिना बर्थ र विनिफ्रेड दूरी सिङ्घमले समान २१÷२१ तथा सासा आज्मीले १६ रन बनाइन् । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । नेपालकी करुना भण्डारी र सरिता मगरले समान दुई÷दुई विकेट लिए । कविता कुँवर र सीता रानामगरले समान एक÷एक विकेट लिए । यसअघि टस जितेको नेपालले पहिलो ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा १२६ रन बनाएको थियो । नेपालका लागि शुरुआती ब्याट्सम्यान सीता रानामगरले ४२ रन जोडिन् ।

यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रन बनाइन् । त्यस्तै काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले छ रन जोडिन् । मलेशियाका लागि दुराइ सिगम, शाशा आज्मी र जुमिका आज्मीले एक÷एक विकेट लिएका थिए । जितसँगै नेपालले एक खेलबाट दुई अङ्क जोडेको छ । दोस्रो खेल फागुन यही फागुन ९ गते थाइल्याण्डसँग, १० गते संयुक्त अरब इमिरेट्स (यूएई), फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।

राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट २०१९ प्रतियोगितामा छानिनेछ । एशिया छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ रहेका छन् । राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।