ताजा अपडेट »

भेनेजुएलाद्वारा युरोपेली सांसदहरुलाई देश निकाला

सोमबार, ०६ फागुन २०७५, १७ : ४२
12 Shares

फागुन ६,

काराकास । भेनेजुएला सरकारले भेनेजुएला भ्रमणमा रहेका पाँच जना युरोपेली सांसदहरुलाई देश निकाला गरेको छ । विपक्षी नेता हुँवा गुएइदोले सरकारको उक्त कदम ‘अविवेकी’ रहेको बताएका छन् ।युरोपेली संसदका सदस्यलाई देश निकाला गर्नुपर्ने स्पष्ट कारण भेनेजुएला सरकारले नखुलाएको टोली नेता एवं स्पेनका तर्फबाट युरोपेली सांसद एस्टब्यान गोन्जालेज पोन्सले बताए ।

सांसद पोन्सले भने, ‘हामीलाई भेनेजुएला छाड्न भनिएको छ । हाम्रो पासपोर्ट खोसिएको छ । देश निकाला गर्नुपर्ने कारणबारे सरकारले हामीलाई केही बताएको छैन ।’

यो पछिल्लो घटनाले राष्ट्रपति निकोलास मदुरो र अन्तर्राष्ट्रिय समुदायबीचको तनाब अझ बढाएको छ । गत महिना राष्ट्रिय सभाका अध्यक्ष समेत रहेका विपक्षी नेता हुँवा गुएइदोले मुलुकको अन्तरिम राष्ट्रपति आफू रहेको घोषणा गरेयता शक्ति सङ्घर्ष चरम अवस्थामा पुगेको छ ।

गुएइदोलाई ५० भन्दा बढी देशले समर्थन गरेका छन् । तीमध्ये युरोपका ३० वटा देश रहेका छन् ।देश छाड् आदेश दिइएका अरु सांसदहरुमा जोजे इग्नासीयो सालाफ्रान्का, ग्याब्रिएल माटो आद्रोभर, एस्थर डी लान्गे र पाउलो रान्जेल रहेका छन् । उनीहरु सबै युरोपेली पिपुल्स पार्टीका सदस्य हुन् ।

सांसदहरुलाई देश निकाला गरिएकोप्रति आपत्ति जनाउँदै विश्व समुदायबाट एक्लिँदै गएको मदुरो सरकारको पछिल्लो कदम अविवेकी हो भनेका छन् ।विपक्षी नेता गुएइदोले भेनेजुएलाका निम्ति मित्रराष्ट्रले पठाएको आपतकालीन मानवीय राहत सामग्री देशभित्र ल्याउन आम नागरिक समक्ष अपिल गरेका छन् ।

भेनेजुएलासँग सीमा जोडिएको कोलम्बियाको कुकुटामा खाद्यान्न, सरसरफाईका सामान तथा पोषणयुक्त खाद्य आइपुगेको छ । तर त्यसलाई भेनेजुएला प्रवेश गर्न सरकारले अनुमति दिएको छैन । ब्राजिल र भेनेजुएलासँगै सीमा जोडिएको कुराकाओमा पनि सामग्री भण्डारहरु स्थापना गर्ने तयारी थालिएको छ ।

‘हाम्रो मुख्य लक्ष्य नै फेब्रुअरी २३ सम्ममा दश लाख स्वयंसेवी परिचालन गर्ने भन्ने हो,’ गुएइदोले बताए । करिब ६ लाख भेनेजुएलाबासीले सीमामा रोकिएको सहायता देशभित्र ल्याउन हस्ताक्षर गरिसकेका छन् ।विपक्षी नेता गुएइदोले सबै स्वयंसेवीलाई सीमामा गई सामग्री देशभित्र ल्याउन आह्वान गरेका छन् ।

अमेरिकी सिनेटर मार्को रुबियो सहायता कार्यको प्रत्यक्ष अवलोकनका लागि आइतबार कुकुटा पुगेका छन् । उनले कोलम्बिया र भेनेजुएला जोड्ने सिमोन बोलिभार अन्तर्राष्ट्रिय पुलको पनि निरीक्षण गरेका छन् । तीन वटा अमेरिकी सैनिक कार्गो विमानले दर्जनौं टन खाद्य सामग्री कुकुटा ल्याएका छन् । -रासस/एएफपी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।