ताजा अपडेट »
राज्य व्यवस्थातथा सुशासन समिति समिति बैठक

गृहमन्त्रीलाइ बैठकमा सांसदहरूकाे प्रश्नै प्रश्न, विपद उद्धारमा सरकार चुकेकाेआराेप

मंगलबार, १५ असोज २०८१, २३ : ४५
32 Shares
मंगलबार, १५ असोज २०८१
32 Shares

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी पहिरो र डुवानको समस्याका बिषायमा सरकारको कामबारे छलफल गर्न मंगलबार गृहमन्त्री रमेश लेखक संगै रक्षामन्त्री मानवीर राईलाई पनि बोलाएको थियो। उक्त बैठकमा सरकारले समयमै ध्यान नदिँदा बाढी, पहिरो र डुवानका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै सांसदहरुले सरकारको कडा आलोचना गरेका छन् ।

बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले राजधानस् काठमाडौँ मै बाढीबाट ३७ जनाको ज्यान जानु, काठमान्डाै शहर भित्रै ४ घण्टासम्म पनि बाढीमा फसेर गुहार मागीरहेका व्यक्तिहरूको उद्धार गर्न नसक्ने कस्तो सरकार हो भन्दै प्रश्न गरे। उनले देशमा विपत आइलागेका बेला विदेशबाट पर्केका प्रधानमन्त्री केपी ओलीको सवारी भन्दै विमानस्थल बन्द गराएकाे भन्दै आपत्ति जनाए ।

एमालेका सांसद रघुजी पन्तले अन्धाधुन्ध विकासले विपत्तिका घटनाहरू भइरहेको बताए । नख्खुमा भिजिबिलिटीका कारण उद्धारमा कठिनाइ भएको बताएको सरकारले क्षमता बढाउन के सोचिरहेको छ भन्दै उनले प्रश्न समेत  गरे । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले विपदका बेला पनि सरकारले नियमित समयमा भन्दा बढी काम नगरेको आरोप लगाए । गृहमन्त्री लेखकले स्रोत साधनले भ्याएसम्म काम गरेको बताएपछि उनले स्रोत साधन कम भए पनि इच्छाशक्ति भएको भए नागरिकको ज्यान जोगाउन सकिने बताए । भएको स्रोत साधनले यति नै गर्‍यौं भन्दा हाम्रो स्रोत साधन र क्षमता यति मात्र रहेछ भन्ने अर्थ गयो - उनले भने ।

जस्ता पाताको टहरामाथि बसेर पाँच जनाले चार घण्टासम्म उद्धारका लागि गुहार माग्दा पनि सरकारले ध्यान दिन नसकेको तर उल्टै गृहमन्त्रीले त्यस दिन भिजिबिलिटी कम भएकाले हेलिकप्टरबाट उद्धार गर्न नसकेको अभिव्यक्ति दिएको भन्दै उनले आक्रोश पोखे । प्रतिउत्तरमा गृहमन्त्री लेखकले नेपाली सेनाका अधिकारीले नै भिजिबिलिटी पर्याप्त नभएको बताएको जवाफ दिएका थिए । 

जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले नख्खु खोलामा फसेका पाँच जनाको उद्धारका लागि पर्याप्त पहल नगरेको बताए भने जवाफमा गृहमन्त्री लेखकले उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरू पुगेको बताए ।

नेकपा एमालेका सांसद लीलानाथ श्रेष्ठले पनि आफूले जनकपुरबाट आउँदा धेरै यात्रुले बढी भाडा तिर्नुपरेको भन्ने गुनासो सुनेको बताए । ‘आफु पहिले नै टिकट लिएकाले सामान्य भाडामै आएँकाे तर, म सँगै आउनेले ५४ सयसम्म तिरेकाे बताए ।आफु आएकाे जहाजमा केही सिटहरू खालीसमेत रहेकाे उनले बताए।

सांसदहरूले विपद्का बेला मुख्यसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख (सीईओ) अनिल पोखरेल कहाँ थिए भनेर प्रश्न गरे । 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुख्यसचिव, प्रहरी प्रमुख र प्राधिकरण प्रमुखको व्यवहारले प्रश्न उठाएको बताए । ‘नेपाल सरकारको मुख्यसचिवदेखि प्राधिकरणको प्रमुखसम्म, प्रहरी प्रमुखदेखि अरु जिम्मेवारीमा रहेकाहरू सम्मका मानिसहरू जुन ठाउँमा बसेर आपतकालीन अवस्थामा जुन तरिकाले काम गरेको देखिनुपर्ने हो त्यो नदेखिँदा स्वभाविक रुपमा प्रश्न उठेकाे बताए ।

विपदका समयमा काे कहा  थिए ।

  • १२ असोजमा बाढी, पहिरो र विपदका बेला मुख्यसचिव अर्याल सम्मान थाप्न स्याङ्जाको फेदीखोला पुगेका थिए । नागरिकहरू बाढी, पहिरो र डुबानमा रहेका बेला अर्याल सम्मान थाप्न व्यस्त रहेको भन्दै उनको आलोचना भइराखेको छ ।
  • विपद्का बेला प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका थिए । उनी भ्रमण छोट्याएर नफर्किएको भनेर पनि आलोचना भएको थियो ।
  • प्रहरी महानिरीक्षक कुँवर यही असोज ७ गते ३८ औं अन्तर्राष्ट्रिय लागुऔषध कार्यान्वयन सम्मेलनमा भाग लिन ग्रीसको राजधानी एथेन्स पुगेका थिए । उनी हाल सम्म स्वदेश फर्किएका छैनन् । जबकी उक्त कार्यक्रम ८ असोजमा सुरु भएर १० असोजमा सकिएको थियो ।
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल बाढी पहिरो आएकै दिन शनिबार बेलायत उडे । गृहमन्त्रालय मातहत रहेको प्राधिकरणको मुख्य काम नै विपद्का बेला खोज, उद्धार तथा राहत प्रदान गर्ने, गराउने हो । संघ, प्रदेश र स्थानीय तहदेखि गैरसरकारी संस्था, निजी क्षेत्र सबैसँग समन्वय गर्ने, विपद्का सम्भावित घटनाबारेमा सम्बन्धित सबैलाई पूर्व जानकारी गराउने लगायतका जिम्मेवारी प्राधिकरणकै हो ।

कांग्रेस महामन्त्री थापाले विपद्का बेला सरकारलाई प्रश्न र सुझाव दुवै आउन सक्ने भएकाले त्यसका लागि तयार रहनुपर्ने बताए । उनले गृहमन्त्री लेखकलाई जवाफ दिने नभई आलोचना सुन्न सुझाव दिएका थिए। गृहमन्त्री लेखकले पनि आफू आलोचना सुनेर अगाडि बढ्न तयार रहेको बताए ।
विपद्का समयमा एक्कसी हवाइ भाडा बढेको, खाद्यान्न, फलफूल र तरकारीको मूल्य अकासिएको बारे पनि सांसदहरूले प्रश्न गरेका थिए । विपद्का बेला मौका ठानेर व्यावसायीले कमाउन खोज्दा सरकार नदेखिएको संसदहरूकाे भनाइ थियाे ।

बैठकले सडक यातायात सञ्चालन गर्नका लागि भएका बाटाहरू तत्काल यातायातका साधन चल्ने गरी मर्मतसम्भार गर्न, सडकमा पहुँच हुन नसकेका जिल्लाहरूमा हवाइ यातायातको व्यवस्था गर्न, खाद्यान्न, तरकारी, फलफूल आदिको मूल्य बढ्न नदिन बजार अनुगमन गर्न र पीडितहरूले राहत छिटोभन्दा छिटो पाउने व्यवस्था गर्न सरकारलाई निर्देशन गगरेकाे छ ।

विभिन्न स्थानमा अलपत्र परेका यात्रीलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्‍याउन तथा जनधनको थप क्षति हुन नदिन तत्काल आवश्यक सबै तयारी गर्न पनि समितिले निर्देशन दिएको छ । ‘वर्षाका कारण नष्ट भएका सिँचाइ कुलोहरू, पिउनेपानी, विद्युत, टेलिफोन सडक आदिको तत्काल मर्मत गरी जनताको दैनिकी र यस अवस्थामा घाइतेहरूको औषधि उपचारलाई सहज बनाउन नेपाल सरकारलाई निर्देशन दिने’, समितिको निर्णय छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।