राजेन्द्र कुँवर/ उहिले बा थिए , मसँग केही थिएन ,
अहिले मसँग सबथोक छ , बा छैनन् ,
केबल छ त,
बाको नामको नागरिकता
अनि
बाको नागरिकताबाट निकालेको फोटो।
पूजनीय बुबा ,
हजुरको प्यारो साइँलो छोराका तर्फबाट
साष्टङ ,दण्डवत् प्रणाम !
यहाँ हामी स -परिवार आरामै छौँ , त्यहाँ पनि तपाईं लगायत आमा , ठुल्दिदी र स्वर्गवासी सबै आफन्तगण आरामै हुनुहुन्छ होला भनी सपरिवार कामना गरिरहेका छौ । विशेष लेख्नु पर्ने त केही थिएन तैपनि बेला बेलामा आइ रहने याद र आज कुशे ओँसी , बाबाको मुख हेर्ने दिन अनि र तपाईंको सम्झना स्वरूप यो पत्र लेख्दैछु । अझ गत वर्षको अन्त्यमा अलिकति म विरामी हुन पुगेँ , हजुरको आशीर्वादले कुशल मंगल छु , डौडा जितेको छोरो भनेर रुपन्देहीमा छाती फुल्याएर हिँडेको छु । हजुरको पत्रोत्तरको पर्खाइमा छु।
तपाईंले हामीलाई छोडेर गएको समय अनुसार २४ वर्ष पुगेर २५ वर्ष लागे । दिन अनुसार २४ वर्ष ७ महिना पुगे तर हिजो जस्तै पो लागिरहेको छ किन किन !! आज सम्पूर्ण कुरा हुँदा पनि तपाईंको अभाव क्षण क्षणमा खड्की रहन्छ । समय धेरै परिवर्तन भयो ,पनाह खोलमा धेरै पानी बग्यो । गाउँमा खानेपानी , बाटो , बिजुली लगायत धेरै विकास निर्माणका काम भइसकेका छन तर सम्झना ,बिर्सनामा कुनै परिवर्तन भएको छैन। खासमा तपाई लाई पत्र लेख्नुपर्ने मुल ठुल्दिदी पनि हामीलाई छोडेर तपाईसँग जान्छु भनी हिड्नु भएको तिन वर्ष पुग्यो, अरु गन्थन मन्थन पनि थिए । दिदीसँग पक्कै पनि भेट भए होला , दिदीलाई राम्ररी स्याहार सम्भार गर्नु होला। आमाले पनि हामीलाई छोडेर गएको १३ बर्ष ५ महिना पुग्न लागे , तपाईंको साथमा अवस्य पनि रमाइ रहनु भएको छ होला। दुवैको विशेष ख्याल गर्नु होला। यस्तै हो संसारको लीला , के भन्नू ?
समयको बहावका साथ धेरै कुराहरु परिवर्तन भएका छन । तपाईंले छाडेपछिको परिवारिक परिवर्तनका बारेमा केही जानकारी गराउन चाहन्छु ,झर्को नमान्नु होला। ठुल्दिदीका तीनवटा छोरामध्ये विराज ,किशोर र राजेन्द्र तीन जनाकै विहे भयो। बिराजका एक छोरा र एक छोरी छन् , बाग्लुङतिरकी बाहुनकी छोरी साबित्रीसँग बिहे गरेका हुन। अमेरिकातिर बस्छन् । किशोरका एक छोरा छन् , चितवनतिरकी लामा बिमासग बिहे गरेका हुन। अस्ट्रेलियातिर बस्छन्। राजेन्द्रले कपिलवस्तुमा बिहे गरेका हुन । क्यानडामा बस्छन अनि दिदीलाई दुख दिनेहरुको बिरोधमा निरन्तर लागिरहेका छन्।
साँच्चै तपाईंको रगतको छिटा राजेन्द्रमा रहेछ। माइली दिदीका तीन सन्तान मध्ये निलम भान्जीको बिहे पिपलधाराका बिनय खत्रीसँग भयो ।दुइटा नानी पाकी छिन्। विष्णु भान्जाको पनि प्युठानकी कवितासग बिहे भयो, बाबू जन्मेको छ । कपिलवस्तुमा बस्छन। सन्जुले काठमाडौँमा बिहे गरे, भान्जीलाई अस्ट्रेलिया पठाएर बुटवलमा जागिर गर्छन्। भिनाजु पेन्सन निस्कनु भाछैन। यही दशैमा निस्कदै हुनुहुन्छ । हामी सबैको अभिभावकत्व अहिले उहाँको काँधमा छ।
साहिली दिदीका दुईवटा छोरा छन्। बादलले बिहे गरेर अस्ट्रेलियामा बस्छन भने बिबस यतै छन। भिनाजु पनि पेन्सन निस्कनु भयो। तम्घास तिरै बस्नुहुन्छ । सबैलाई राम्रो सहयोग गर्नु भएको छ , मिनाले पनि इन्द्रसँग बिहे गरेको कुरा हजुरलाई भनेको थिइन्। एउटा भान्जा छन्। तम्घासमै बस्छन्। जुनाको बिहे इस्मा गरिदिएका थियौ । एउटा भान्जा हुनुहुन्छ । ब्याचलर पढ्नु हुन्छ । हामी यतैतिर छौ। हजुरको अभावमा पनि परिवार अत्यन्तै मिलेर बसेका झौँ ।
ठुल्दाइका दुई छोरी र एक छोरा छन्। सपनाले त तपाईंलाई पनि देखेकी हो। उसको बिहे भएर एउटा बाबू छ , सम्भीरको बिहेमा भेट भएको थियो , धेरै पछि । दाइ पेन्सन निस्केर तम्घास बस्नुहुन्छ। हामी सबैको अभिभावक बनेर ।
माइल दाइका तीन छोरी र एक छोरा छन्। हजुरले बनाएको घरमै बस्नुहुन्छ। तपाईंले बनाएको र कमाएको सम्पत्ति स्याहार सम्भार गर्नुभएको छ। तपाईंको वास्तविक भक्त माइल दाइ नै हुनुहुन्छ । उहाकै सेवा भावले तपाईंको स्वर्गमा वास भएको हो। हामी सबै परिवारलाई तपाईंबाट पाइने माया ममता र छत्र छायाँ हामीले माइल दाइबाट पाएका छौ। जन्म घर जाने आउने बाटो , माया , ममता उस्तै छ , दाइबाट। मैंले पनि यतैतिर विहे गरे। बाबु ब्याचलर पढ्दै छ। तपाईंको स्वर्ग वास हुँदा ६ वर्षको कान्छो सम्भीरले पनि यही बर्ष मोहोराइ बिहे गर्यो। हजुरको अनुपस्थितिामा पनि सबै कर्महरु निरन्तर चलिरहेका छन , के गर्नु ।
तपाईका शाखा सन्तान नै ४८ जना छौ । अब ४९ को हुने भन्ने होडबाजी छ। तपाईं र आमाले छोडेर गएपछि ठु्ल्दिदी छत्र छायाँ थियो त्यो पनि दैवले हजुरकै साथमा लग्यो। अहिले दाइदिदीबाट त्यो नियास्रो मेटाएका छौँ। लेख्न त हजुरे छाडेर गएका २५ वर्षमा गाउँ घर , वेशी ,मावली , देश विदेशमा भएका सम्पूर्ण सामाजिक , राजनीतिक , धार्मिक, शैक्षिक लगायतका विभिन्न परिवर्तनका बारेमा लेख्न मन थियो। तर सानो पत्रमा पारिवारिक विवरण मात्र लेखे। अन्य विषय अर्को पत्रमा अवश्य पनि लेख्ने छु। स्वर्गबाट पनि यहाँको माया ममता निरन्तर रुपमा पाइ रहने विश्वास गर्दै भए गरेका गल्ती कमजोरी प्रति माफी चाहन्छु।
बाबा एक जना कुलाङ्गरले हाम्रो परिवारमा गिध्दे दृष्टि लगाएको छ , त्यसलाई छिटोभन्दा छिटो तपाईंसँगै लगेर कोर्रा लगाउनु होला । त्यो पापीले यतै पनि कुकुरको गुँ खाँदै हिँड्छ , मरेतुल्य नै छ । त्यसलाई अबिलम्ब कार्यवाही गर्नुहोला , कि हामीलाई आदेश दिनुहोला।
हजुरको हरेक आदेश सतप्रतिशत मान्न हाम्रो परिवार तयार छ।
लेख्न त कति मन छ , कति , के गरुँ, अलिकति मन शान्त बनाएको मात्रै हुँ।
अहिलेलाई यति , फेरि अर्को पत्रमा भेटौला।
प्रतिक्रिया