ताजा अपडेट »

अडिएका पाइलाः चलिरहेको यात्रा

शुक्रबार, २५ साउन २०८१, १६ : ०५
114 Shares
शुक्रबार, २५ साउन २०८१
114 Shares

सागर बेल्बासे / बिष्णु सापकोटालाई मैले चिन्न थालेको वसन्त बस्नेतको ‘च्या खानु भो’ कार्यक्रमबाट हो । त्यसपश्चात उनका अनलाइन मिडियामा आउने लेखहरू भेटाएसम्म पढ्न थालें । बिष्णु सापकोटाले कलेजको प्रेम कथामा आधारित उपन्यास बजारमा ल्याएको कुराले म उत्साहित थिएँ । 

उनका बिचारलाई अलिअली पढेको हुनाले उनको उपन्यासमा टिपिकल लभ स्टोरी मात्र रहने छैन्, दर्शन रहनेछ, सिद्धान्त र बिचार रहनेछ भन्नेमा म विश्वस्त थिएँ । उनको उपन्यासलाई पढ्न उत्साहित हुँदाहुँदै पनि मेरो हातमा पुस्तक परेको थिएन । पछिल्लो बिदामा बुटवल गएको बेलामा मेरा मित्र कुलचन्द्र शर्माले मदन पुरस्कारका लागी सुचिकृत सबै पुस्तक पढ्ने बिचार गरेपछी किताब पसलबाट मैले मेरो लागि अडिएका पाइला थपेर सबै पुस्तक अर्डर गरें । गाउँ फर्किनुको ठिक एक दिन अगाडी पुस्तक मेरो हातमा प¥यो । 

यात्रा गर्दा उपन्यास पढ्दै यात्रा गर्ने कल्पनाले मात्र पनि म आनन्दित हुने कुरा पहिले नै व्यक्त गरिसकेको छु । गाउँ फर्कने यात्राका लागि मेरो खुराक मेरो लामो प्रतीक्षापछी प्राप्त भएको उपन्यास ‘अडिएका पाइला’ र पढ्न सहज होस् भनेर अगाडिको झ्यालतर्फको सिटको व्यवस्था भएकाले म उत्साहित थिएँ । श्रावण १५ गते बिहान बुटवलको बेलबासबाट सवारी गाडीमा मेरो यात्रा शुरु भयो । मैले अर्घा भगवतीको विद्युतीय गाडीको लागि अघिल्लो दिन काउण्टरमा फोन गरेर बिहान ६ बजेका लागि सिट रोकाएको थिएँ । 

गाडीवालाले बिहान ६ बजे बाटोमा निस्कन भन्दै मलाई फोन गरेकाले बेलबासबाट म त्यही विद्युतीय गाडीमा चढें । तर एकाएक मलाई तपाइँको सिट रोकाइएको भन्दै फोन आयो । मैले केही बुझेन । म त ६ बजेको गाडीमा बसेको छु, तर सिट रोकाएको अर्को गाडी भन्दै किन फोन आयो ? यस्तै बीचमा केही फोनहरू आए, तपाईं सिट रोकाएको होइन अर्कै गाडीमा जानुभयो भन्दै । मैले मेरो गाडीको चालकलाई पनि यसबारे कुरा बुझ्न खोज्दा उनले केही भएको छैन, यस्तो गर्छन् उनीहरू भन्ने कुरा गरे । 

अनि मैले चालकसँगै कुरा मिलाउन लगाए । केही समयपछी काउण्टरबाट धम्कीपूर्ण फोन आयो तपाइँको नैतिकता छैन, एउटा गाडीमा सिट रोकाएर अर्को गाडीमा चढ्ने, यसको भाडा कसले तिर्छ भन्दै ? यो बीचमा घटना यति छिटो घटे कि मलाई केही सोच्न समय नै मिलेन । शान्त भएर सोच्दा र चालकसँग कुरा बुझ्दा मैले सिट रोकाएको अर्घा भगवतीको गाडीमा भएपनि म चढेको पश्चिम नेपालको गाडीमा रहेछ । 
मलाई अर्घा भगवतीले बाहेक अरूले विद्युतीय गाडी थपेको कुरा थाहै थिएन । बिहानै हिड्नेबेलामा ठूलो पानी परेकाले भिज्दै दौड्दै धेरै सोच्ने समय पनि थिएन ।

एकजना दिदीले म मार्फत आफ्नो घरमा सामान पठाउन आउँदा म बसेको चालकसँग चिनजान भएकाले मेरो नम्बर प्राप्त गरेर फोन गरेको रहेछ । यो सबै कुरा बुझेपछि मलाई यो सबै गर्ने मेरो गाडीको चालकसँग रिस नउठेको होइन तर मैले सिट रोकेको गाडीले हामीलाई पछाडि छोडेको हुनाले गर्न सक्ने केही थिएन, केही गर्नका लागि धेरै ढिलो भैसकेको थियो । फेरि सामान धेरै भएकाले घरिघरि गाडी फेर्न उचित लागेन । यसरी बिहानैका घटनाले मन अधैर्य बनाएको थियो ।

झमझम पानी परेको, साइडको सिट खाली र बस्नको लागि झ्यालको सिट प्राप्त भएकाले वातावरण आफैमा आनन्दित थियो, प्रफेक्ट थियो । मन अधैर्य भए पनि मैले उपन्यास पढ्न शुरु गरेको थिएँ । म बसेको सिटको साइडमा खाली भए पनि अगाडि र पछाडि २÷३ जना यात्रुहरू चढेका थिए । उपन्यासको कथा अस्तित्वले तिहारपश्चात् किर्तिपुर जाने बसमा चढेपछी शुरु हुन्छ । 

संयोगले त्यसैदिन अस्तित्वको जन्मदिन परेको हुन्छ । अस्तित्वले विश्वविद्यालयमा पढाउने गर्छन् । पढाउनकै लागि उनले किर्तिपुरको बस चढेका हुन्छन् तर विश्वविद्यालयमा तालाबन्दी भएकाले त्यसदिन उनले पढाउनु परेन । पढाउन नपरेपछि उनले त्यसदिनको गन्तव्य नागी गुम्बालाई बनाएका हुन्छन् । शिवपुरी उनको त्यही ठाउँ हुन्छ, जहाँ गतसाल आफ्नो जन्मदिनमा उनी अनसुयासङ्ग आएका थिए । 

यसरी एक युगल जोडीले÷ प्रेमी प्रेमिकाले पुराना यादहरूलाई पुनरावलोकन गरिरहन खोजेको वास्तविक जीवनमा पनि देख्न सकिन्छ । लेखकले एक ठाउँ लेख्छन्, ‘यादहरूमा आउन पनि त वातावरण मिल्नुपर्छ’। यही बीचमा उनले गतसालको शिवपुरी यात्रामा अनसुयाको साथलाई सम्झदै एक्लै हिड्छन् । अनसुयालाई अरूले सुन्दर भने पनि अनसुया भने सुन्दरताबारे धारणा फरिरहने पात्रको रूपमा चिनाइएको छ । 

सुन्दर के लाई भन्ने ? कस्तो देखियो भन्ने सुन्दर देखिएको भन्ने ? हामीले देख्ने सुन्दरता र अफ्रिका देशका जनताले देख्ने सुन्दरता एउटै होला ?  आज हामीलाई जे राम्रो लाग्छ, के अबको सय बर्षपछी पनि राम्रो नै होला ? वा आज राम्रो लागेको चिज भोलि पनि राम्रै रहला ? पक्कै पनि राम्रो वा नराम्रो भन्ने धारणा सांस्कृतिक धारणा हो । जुन समय र भूगोलअनुसार फरक हुने गर्छ, दृष्टिकोण अनुसार फरक हुने गर्छ । 

बिहानका तमाम घटनाले अधैर्य मन कतिबेला सबै भुलेर उपन्यासमा गढेछ पत्तै भएन । गाडीमा सवारीहरू चढ्ने क्रम जारी थियो । अघिसम्म खाली गाडी लगभग भरिएको थियो, मेरो साइडको सिटमा एकजना आमा बस्नुभएको थियो । म पुनः उपन्यासमै फर्किएं । अस्तित्वको नजरमा डेढ बर्षअगाडि अनसूयालाई देख्दा सबैभन्दा राम्रो लागेको थियो । उपन्यासमा आफूले गरेको प्रेम हो कि होइन निधो नभैसकेको अवस्थामा प्रेम गरेको मान्छे नै सबैभन्दा राम्रो लाग्ने कुरा बताइएको छ ।’ 

प्रेम गर्नेहरूको इगोले कसरी काम गर्छ’ भन्ने कुरालाई दर्शाइएको छ । दुवैजनाले सँगैै माथी डाँडासम्मै पुग्ने रहर राखेता पनि एकअर्काले कर नगरेकाले बीच बाटोबाटै फर्किएको अस्तित्वले सम्झन्छन् । घटस्थापनादेखी अस्तित्व र अनसूयाको बोलचाल भएको छैन भन्ने कुराले उनीहरू बीचमा आखिर के भयो जसले गर्दा बोल्न छोड्नुप¥यो ? के उनीहरू फेरि सम्बन्धमा हुन्छन् ? हुन्छन् भने कसरी हुन्छन् ? यो कुराले उपन्यास झनै चाखलाग्दो बन्छ । 

बिदेशमै गएर सेटल हुन खोज्ने कुराले नेपाली बौद्धिक जमातलाई अछुतो राखेको छैन । कीर्तिपुर विभागमा पढाउने नयाँ जति सबैको एजेन्डा नै बाहिर कतै न कतै पढ्न जाने थियो भन्ने कुरा पढ्दै थिएँ, छप्याक्क गर्दै मेरो शरिरमा एक झोका पानी छ्यापिएपछी मेरो ध्यान पुस्तकबाट हट्यो । पानी बिदो भएकाले मैले गाडीको सिसा खोलेको थिएँ । सडकमा रातभर परेको पानीले डुबान पारेको रहेछ । 

बिपरित दिशाबाट आएको गाडिको घर्षणले गर्दा सडकको पानी झ्यालबाट मेरो शरीरमा परेको थियो । त्यो पानी टक्टक्याएर सोच्न थालें, क्षमता र योग्यता नभएकाहरू यहाँ केही छैन भनेर आत्तिनु त स्वभाविक भयो तर प्राध्यापक जस्ता सामाजिक र राजनीतिक अभियान्ता पनि मास्टर्स र पिएचडी पढ्ने बहानामा बिदेश जाने र मिलेसम्म उतै बस्ने गरेका हुन्छन् । अझ अहिलेको युवा पुस्ता त देश छोड्नलाई मात्र पनि लाखौं लगानी लगाउन तयार छ । 

यो कस्तो विडम्बना ? पुस्तकमा बौद्धिक देखिनलाई किताब छाप्ने, कसैलाई पढेको छु भन्ने पार्न उसका अगाडि विभिन्न पुस्तकको चर्चा गर्ने प्रतिस्पर्धा चल्ने र जवर्जस्ति पुस्तकको समीक्षा लेख्न मानसिक दबाब दिने बौद्धिक जमातप्रती व्यंग्य हानिएको छ । राजदुत र अन्यत्र राम्रो ठाउँमा नियुक्ति पाउन प्राध्यापकहरूले नेताको चाकरी गर्ने र दलहरूले प्राध्यापकलाई अन्यत्र पालो कुराउन विश्वविद्यालयका विभिन्न निकायमा थन्काउने र प्राध्यापक स्वयं अरूले आफ्नो चाकरी गरुन् भन्ने चाहना राख्ने जस्ता कुरालाई पनि उपन्यासमा व्यंग्य गरिएको छ ।

उपन्यासमा अर्का पात्र छन्, मास्टर्स पढ्न काठमाडौं आएका सप्तरी घर भएका मोहन झा । उनले नेपालको संविधानप्रती अपनत्व लिन नसकेको प्रकारको मानसिकता देखिन्छ । एउटा दलितमाथि भएको विभेदको पीडालाई जतिसुकै कोसिस गरे पनि अरू समुदायले बुझ्न नसक्ने, त्यस्तै मधेसी समुदायको मनोविज्ञानलाई अरू समुदायले बुझ्न नसक्ने कुरा गरिएको छ ।एउटा दलितले केवल छुवाछूत मात्र भोग्दैन । मुलधारको राजनीतिबाट विभेद भोग्छ, आर्थिक असमानता भोग्छ, राज्य सत्तामा विभेद भोग्छ । 

अहिलेको युवाले छुवाछूत मात्र दलितको  समस्या हो भनेर गम्भीर भुल गरेको छ र केही थान आरक्षणको एकोहोरो बिरोध गरेको छ । त्यस्तै मधेसी समुदायका पनि आफ्नै पीडा छन्, त्यसलाई कति बुझ्न सकिन्छ र सुल्झाउन सकिन्छ आगामी दिनमा प्रष्ट हुँदै जानेछ ।

कक्षा १० मा पढ्दै गरेकी अनसूयाले अस्तित्वलाई पहिलो पटक आफ्नो गेट बाहिर उभिएको देखेकी हुन्छिन् । अस्तित्वको गुरु अनसूयाको बुबा भएकाले आफ्नो थेसिसको लागि अस्तित्व अनसूयाको घरमा गएका हुन्छन् । त्यस्तै एकदिन अस्तित्व आफ्ना घरमा आएका बेलामा अस्तित्वको नजरमा पर्नका लागि चिया बनाउने बहाना भेट्छिन् । अरूबेला बिरलै चिया बनाउने उनले चिया बनाउने काममा पनि त्यो दिन रोमाञ्चकता भेट्छिन् । म पुस्तकबाट बाहिर हेर्न थालेको थिएँ, गाडी आफ्नै रफ्तारमा गुडेको  थियो । 

गाडी अगाडि बढ्दै गरेको बेलामा सडकको छेउछाउमा भएका रूखहहरू, घरहरू, मान्छे वा अरू बस्तु सलल आफै बगेजस्ता देखिएका थिए । कैयौं पटक ओहोरदोहोर गरेको भए पनि दोहोटेको जङ्गलबाट पारी देखिने सम्भवत कपिलवस्तुमा वाणगंगा नदिले बनाएको तिर हुन सक्छ वा म झुक्किएको हुन सक्छु त्यति सुन्दर मलाई कहिल्यै लागेको थिएन । 

मेरो काठमाडौंसङ्ग त्यति नजिकको सम्बन्ध नभए पनि उपन्यासले काठमाडौंका केही ठाउँहरू घुमाएको थियो । केन्द्रीय क्याम्पसमा पुनः घुम्ने अवसर प्राप्त भएको थियो । टपक्क टिपेर एउटा पाठकलाई उस्तै काल, परिवेश र स्थानमा लैजान सक्ने लेखकको क्षमतालाई मान्नै पर्छ ।

अनसूया र अस्तित्व बीचमा घनिष्ठता उत्पन्न हुनु, प्रेम सम्बन्धको अंकुरण हुनुमा अस्तित्व थेसिसको कामले अनसूयाका बुबालाई भेट्न उनको घरमा भएका बेलामा अनसूया घरमा एक्लै रहनुले काम गरेको छ । अस्तित्वले सोच्छन्, ‘यदि त्यो दिन अनसूया एक्लै घरमा नभएको भए सायद जीवन अर्कै हुन्थ्यो कि ?’ तर जीवनमा जीवनको दिशा परिवर्तन गराउने यस्ता कैयौं संयोगहरू भेटिएका हुन्छन् । 

आखिर कैयौं संयोगहरूको योग नै त जीवन हो । अस्तित्व चढेको गाडी कुरिनटारको रिभरसाइड मोडिदैं गर्दा छेउकी दिदीलाई हेरेर लाज मान्दै सोच्छन्, ‘धन्न मनका संसार सायद मनभित्रै सुरक्षित हुन्छन्।’ मैले अघिनै देखि ख्याल गरेको थिएँ जसै जसै मैले पुस्तकका पाना पल्टाउने गर्थें, मेरो साइडमा हुनुभएकी आमाले मलाई हेरिरहनु हुन्थ्यो । 
यसले मलाई असजिलो पारेको भएता पनि उहाँले केही सोचेर होला भनेर मैले खासै वास्ता गरेन । पुस्तकका कतिपय सन्दर्भमा मेरो मुखको हाउभाउ बदलिन्थ्यो, त्यो देखेर उहाँले के सोच्नुभयो होला भन्ने सोचेर मलाई लाज नलागेको भने होइन । पुस्तकको बारेमा आठौं अध्यायसम्म पढेर सक्दा लगभग मेरो सन्धिखर्कसम्मको यात्रा पूरा भएको थियो । सबै पढेर पुस्तकको समग्र समीक्षा लेख्ने मेरो कोसिस रहनेछ । (बाकीँ अर्को भागमा )
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।