ताजा अपडेट »

के हो विश्व स्वास्थ्य सङ्गठन (WHO), यसले के काम गर्छ

शुक्रबार, २५ जेठ २०८१, २३ : २४
38 Shares

विश्वमा ठूलो स्वास्थ्य सङ्कट आउँदा सबै देश, स्वास्थ्यकर्मी र सर्वसाधारण मानिस पनि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को निर्देशन र सहयोगको अपेक्षा गर्छन्। डब्ल्यूएचओले सबैलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्नु आफ्नो लक्ष्य मान्दै आएको छ।  "सबैलाई, सबै ठाउँमा सुरक्षित र स्वस्थ जीवनको समान अवसर" प्रदान गर्ने दिशामा काम गर्नु पनि आफ्नो उद्देश्य भएको उसको भनाइ छ।

स्विट्जरल्यान्डमा मुख्यालय रहेको यो विश्वव्यापी संस्थाको स्थापना सन् १९४८ मा भएको थियो। यो संयुक्त राष्ट्रसङ्घको एउटा निकाय हो। यसको उद्देश्य संसारभरिका मानिसहरूको स्वास्थ्य र कल्याणबारे काम गर्नु हो। यसले रोगहरूको उन्मूलनका क्षेत्रमा पनि काम गर्छ।

डब्ल्यूएचओमा १९४ राष्ट्रहरू सदस्य छन्। यो निकाय खोप अभियान, स्वास्थ्य सङ्कटकालसँग जुझ्नका लागि मानिसहरूलाई सहयोग गर्ने तथा देशहरूलाई तिनका स्वास्थ्यसेवाका प्रावधानहरू सुधार गर्न सहयोग गर्ने जस्ता परियोजनामा संलग्न रहेको छ। 

डब्ल्यूएचओ खाद्यसुरक्षा, औषधिको परीक्षणसम्बन्धी प्रक्रिया तथा उपचारसम्बन्धी विश्वव्यापी मापदण्ड निर्धारण गर्न पनि संलग्न हुन्छ। यो निकायले आफ्ना सदस्यराष्ट्र र चन्दाबाट खर्च जुटाउँछ। गत वर्ष डब्ल्यूएचओको बजेट ६.७२ अर्ब अमेरिकी डलर थियो। सन् २०१७ यो संस्थाको शीर्ष नेतृत्व इथिओपियाका भूतपूर्व कूटनीतिज्ञ तथा स्वास्थ्यमन्त्री टेड्रोस एड्हानम गेहब्रेयससले गरिरहेका छन्।

आपत्कालीन प्रतिकार्य:
डब्ल्यूएचओले गाजाजस्ता युद्धग्रस्त क्षेत्रका मानिसलाई पनि सहायता उपलब्ध गराउँदै आएको छ, डब्ल्यूएचओले प्राकृतिक प्रकोप, मानवीय सङ्कट र महामारीजस्ता सङ्कटका बेला सम्बन्धित देशका सरकारहरूसँग मिलेर काम गर्छ। यसले गाजाजस्ता युद्धग्रस्त क्षेत्रमा आवश्यक सहयोग चाहिनेहरूलाई स्वास्थ्यसेवा पुर्‍याउने काम पनि गर्छ।

विकासोन्मुख देशहरूमा डब्ल्यूएचओले मानिसहरूको स्वास्थ्य अवस्थामा सुधार गर्न काम गर्ने एउटा तरिका भनेको त्यहाँ मानिसहरूलाई नर्स र स्वास्थ्यकर्मी बन्न प्रशिक्षण दिनु पनि हो।यसले सार्वजनिक नीतिहरू तय गर्न सूचना दिने तथा प्रभाव पार्ने गरी मुख्य रोगबारे तथ्याङ्क र जानकारी पनि प्रकाशित गर्ने गर्छ।

खोप कार्यक्रम:
बिफरको उन्मूलन डब्ल्यूएचओका लागि सबैभन्दा ठूलो सफलता हो।डब्ल्यूएचओको कार्य सरुवा रोग, नसर्ने रोग र मानसिक स्वास्थ्यस्थितिको निगरानी, रोकथाम, निदान, उपचार र हेरचाहसँग सम्बन्धित छ।विश्वका अग्रणी स्वास्थ्य कम्पनीहरूको नेतृत्वमा यो सङ्गठनले रोगहरू निर्मूल पार्ने काम पनि गर्छ। उदाहरणका लागि, सन् १९७४ मा विश्व स्वास्थ्य सङ्गठनले यी छवटा रोगविरुद्ध विश्वभरिका बालबालिकालाई खोप दिने एउटा परियोजना सुरु गर्‍यो।

  • भ्यागुते' 
  • लहरे खोकी, 
  • धनुष्टङ्कार (डीपीटी)
  • पोलिओ
  • दादुरा
  • टीबी अर्थात् क्षयरोग

यो परियोजना विस्तार गर्दै पछि विश्वभरि सिफारिस गरिएका १३ वटा दिन थालियो। केही स्थानमा थप १७ वटा खोप सिफारिस गरिएको छ।

सफलता:
बिफर रोग उन्मूलनलाई विश्व स्वास्थ्य सङ्गठनको एउटा ठूलो उपलब्धि मानिन्छ। निर्मूल हुनुअघि यो रोगका कारण विश्वभरि लाखौँ मानिसको मृत्यु भएको थियो। विश्व स्वास्थ्य सङ्गठनले सन् १९६७ मा बिफर उन्मूलन गर्न व्यापक अभियान सञ्चालन गरेको थियो। कैयौँ वर्ष खोप लगाउने र अनुगमन गर्ने काम भएको थियो।

monkey-pox

एक दशकभन्दा धेरै समय काम गरिसकेपछि विश्व स्वास्थ्य सङ्गठनले सन् १९८० मा बिफर उन्मूलन भएको घोषणा गर्‍यो। कुनै सरुवा रोग उन्मूलनमा त्यति ठूलो सफलता हात परेको यो नै पहिलो र ठूलो अवसर थियो। विश्व स्वास्थ्य सङ्गठनले त्यसलाई “सार्वजनिक स्वास्थ्यमा इतिहासमै सबैभन्दा उल्लेख्य र गहन सफलता” मान्ने गरेको छ।

विश्वव्यापी प्रयासको परिणामस्वरूप अहिले पाकिस्तान र अफगानिस्तानबाहेक अरू अधिकांश देशबाट पोलिओ उन्मूलन भइसकेको छ। त्यसअघि नै सन् १९५५ मा सुरु भएको औलो उन्मूलन अभियान सन् १९६९ मा थाँती राखियो। त्यसपछि यसमा खासै प्रगति हुन सकेको छैन।

polio-drop

विश्व स्वास्थ्य सङ्गठनका सबै सदस्यराष्ट्रका प्रतिनिधिहरू सहभागी हुने निर्णायक निकाय विश्व स्वास्थ्य महासभाबाट पारित भएका विभिन्न सङ्कल्पहरूमा सन् १९५५ देखि सन् २०१५ सम्म निरन्तर यो उद्देश्यमा पुनः प्रतिबद्धता व्यक्त गरिएको छ। सन् २०१५ विश्व स्वास्थ्य सङ्गठनले १२ देशहरूलाई औलोमुक्त घोषणा गरेको थियो। विश्व स्वास्थ्य सङ्गठनको सन् २०१६ देखि २०३० सम्मका लागि तय गरिएको विश्वव्यापी रणनीतिमा सन् २०३० सम्म ३० वटा देशमा औलो उन्मूनलन गर्ने लक्ष्य तय गरिएको छ।

सन् २०२१ मा विश्व स्वास्थ्य सङ्गठनले बालबालिकाहरूमा औलो लाग्न नदिन खोपको सिफारिस गरेको थियो। त्यसको दुई वर्षपछि सन् २०२३ मा उसले औलोविरुद्ध खोप कार्यक्रम नै सुरु गर्‍यो।यो नयाँ पहल अन्तर्गत १२ वटा अफ्रिकी देशहरूले सन् २०२५ सम्म एक करोड ८० लाख मात्रा खोप प्राप्त गर्ने छन्।

Untitled-1

किन आलोचना हुन्छ?
पश्चिमी अफ्रिकामा सन् २०१४ मा इबोला रोगको प्रकोप नियन्त्रणका विषयमा विश्व स्वास्थ्य सङ्गठनको व्यापक आलोचना भयो। यो प्रकोप नियन्त्रणका लागि तत्काल काम गर्न नसकेको र प्रभावकारी सञ्चारको अभावका साथै दक्ष कर्मचारी नराखेको जस्ता विषयमा यो संस्थाको आलोचना भयो। यो संस्थाका समर्थकहरूले कतिपय आलोचनाहरू अनुचित भएको र मानिसहरूको अपेक्षा पूरा गर्न नसकिने किसिमका भएको बताउने गरेका छन्। 

विश्व स्वास्थ्य सङ्गठनले तथ्याङ्क र विश्लेषणहरू उपलब्ध गराउने भए पनि स्वतन्त्र रूपमा कदम चाल्ने अधिकार उससँग हुँदैन। सदस्यराष्ट्रले सहयोग मागेको अवस्थामा मात्रै यो निकायले काम गर्न सक्छ। कोभिड फैलिएका बेला पनि महामारी नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठनले पहल गर्न नसकेको भन्दै व्यापक आलोचना भयो। 

covid-fear

सन् २०२० मा तात्कालिक अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस फैलिने क्रम रोक्न नसकेको भन्दै आफ्नो देश यो सङ्गठनबाट बाहिरिन चाहेको बताएका थिए। अमेरिकाले महामारी सुरु हुने समयमा विश्व स्वास्थ्य सङ्गठन चिनियाँ इसारामा चलेको आरोप लगाएको थियो। अमेरिका विश्व स्वास्थ्य सङ्गठनको सबैभन्दा ठूलो दाता हो। उसको असन्तुष्टिका कारण डब्ल्यूएचओमा ठूलो धक्का पुग्यो।

ट्रम्पपछि अमेरिकाको राष्ट्रपति बनेका जो बाइडनले आफू निर्वाचित भएलगत्तै सन् २०२१ मा विश्व स्वास्थ्य सङ्गठनलाई अमेरिकी अनुदान र राजनीतिक समर्थन कायमै राख्ने वचन दिए।  विश्व स्वास्थ्य सङ्गठनले गठन गरेको विज्ञहरूको एउटा स्वतन्त्र समितिले यो महामारी रोकथाम गर्न सकिने किसिमको भएको निष्कर्ष सुनाएको थियो। उक्त समितिले विश्व स्वास्थ्य सङ्गठन र विश्वभरिका सरकारहरूले यसको नियन्त्रणका लागि गरेका पहल प्रभावकारी नभएको टिप्पणी गरेका थिए।

उक्त समितिले विश्व स्वास्थ्य सङ्गठनको आपत्कालीन समितिले यो प्रकोपलाई कम्तीमा एक साताअघि अन्तर्राष्ट्रिय सङ्कटकाल घोषणा गर्नुपर्ने औँल्याएको थियो। भविष्यमा आउन सक्ने महामारीको नियन्त्रणका लागि यो समितिले विश्वव्यापी सुशासन र विश्व स्वास्थ्य सङ्गठनका लागि थप अनुदान आवश्यक रहेको जनाएको छ। #बिबिसी नेपालीबाट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।