ताजा अपडेट »

बुटवलमा श्रमाधान मेला : रोजगारदाता र श्रमिक बीचको खाडल पुर्नेछ- मन्त्री अर्याल

बुधबार, २३ जेठ २०८१, १८ : ३८
128 Shares
बुधबार, २३ जेठ २०८१
128 Shares

बुटवल । श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्री डाेलप्रसाद अर्याल (डीपी) ले श्रमाधान मेलाले राेजगारदाता र श्रमिककाे गहिराे खाडललाई पुर्ने बताएका छन् । श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्याेग पर्यटन तथा सहकारी मन्त्रालय र बुटवल उपमहानगरपालिकाकाे आयाेजनामा बुधबारदेखि बुटवलमा शुरू लुम्बिनी प्रदेशस्तरीय श्रमधान राेजगार मेलाकाे उदघाटन गर्दै मन्त्री अर्यालले यस्ताे बताएका हुन् ।

नेपालमा राेजगारी नपाएकै कारण विदेश गएकाे गुनासाे आएकाले कम्तीमा सातै प्रदेशबाट राेजगारदाता र श्रमिकलाई जाेड्न श्रमाधान मेला राखिएकाे बताए । मेलामा विभिन्न क्षेत्रका राेजगारदाताहरूकाे उपस्थितिले राेजगारी प्राप्त हुने वातावरण बनाउने विश्वास लिए । मन्त्री अर्यालले छाेटाे समयमा केन्द्र, प्रदेश र स्थानीय सरकारसँग मिलेर एउटा प्रयास गरिएकाे बताए । उनले सामाजिक सुरक्षा काेष मार्फत श्रमिकलाई स्वास्थ्य बिमाकाे समेत सुविधा प्रदान गरिएकाे बताए । उनले मेलाले तत्काल राेजगारी प्रदान नगर्ने तर, राेजगारीका लागि अवसरहरू सृजना गर्ने दावि गरे ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले कमाउँदै पढ्ने वातावरण बनाउन नसक्दा विदेश पलायन राेक्न नसक्ने बताए । २० वर्ष समय लगाएर डिग्री अध्ययन गरेकाहरू बेराेजगार हुने र एक वर्ष सीप सिकेका राेजगारी पाउने अवस्था रहेकाे उनले बताए । उनले शिक्षा प्रणालीलाई सुधार गर्नुपर्ने बताए । 'त्रिविकाे दीक्षान्त समाराेहमा दीक्षित भएकाहरूमध्ये ९० प्रतिशत बेराेजगार हुन्छन, यस्ताे अवस्थाकाे अन्त्य गर्नुपर्छ' उनले भने ।

जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले शिक्षा र राेजगारलाई जाेडेर लैजानुपर्ने सुझाव दिए । नेपालमा शिक्षाकै कारण युवाहरू ३० वर्षसम्म अध्ययनमै सीमिति हुनुपर्ने समस्याले युवाहरू विदेश जान थालेकाे उनले बताए । उनले राेजगारी सृजनाका लागि मेला र भेलाले मात्रै काम नगर्ने बताउँदै नीति बनाउन सुझाव दिए ।

यस्तै तुल्सिपुर उपमहानगरपालिका नगरप्रमुख टिकाराम खड्काले वैदेशिक राेजगारमा जान नपर्ने गरि श्रमिकमैत्री ऐन निर्माण गर्नुपर्ने बताए । उनले आगामि दिनमा उद्यमीहरूकाे प्रवर्द्धन र मजदुरमैत्री नीति निर्माण गर्नुपर्ने बताए । उनले स्वदेशमै राेजगारी सृजना गर्न राेजगारदाता र श्रमिकलाई जाेड्न सफल हुने विश्वास दिलाए ।

बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)मा आयोजित मेलामा ४० वटा स्टल छन् । जसमा बायोडाटा निर्माण, सिकाईसम्बन्धी उद्योग व्यवसाय तथा रोजगारदातासँग सम्बन्धित स्टलहरू वैदेशिक रोजगार कल सेन्टरलगायत सरकारी तथा निजी क्षेत्रका स्टलहरू मेलामा राखिएकाे छ । मेला भाेलिसम्म चल्नेछ । देशका सातै प्रदेशमा हुने श्रमाधान रोजगार मेला बागमती प्रदेशको ललितपुरमा ३० जेठमा समापन हुनेछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।