ताजा अपडेट »

गफले भिजाएका 'च्युरा' र 'समृद्धि'को भ्रम

सोमबार, १० बैशाख २०८१, १६ : ३१
1.24K Shares

‘केही समय पैले एमाले नेता पृथ्वी सुब्बा गुरुङले पोखराको विकास गर्न थाइल्याण्डमा झैं यौन बजार खोल्नु पर्छ भनेर भाषण गर्दै थिए ।’ वैक्लपिक राजनीतिको डंका पिटेर विद्यमान राजनैतिक दलहरु भन्दा पृथक रुपमा एकाएक उदाएको संसदमा चौथो ठूलो पार्टी रास्वपाले गृह, शिक्षा, श्रम र खेलकुँद जस्ता महत्वपूर्ण मन्त्रालयमा ढलिमलि गरेको छ । काम कम र हल्ला धेरै गर्ने नेपाली राजनीतिको मूल चरित्र हो । जुन शक्तिलाई ‘नो नट फर अगेन !’ भनेर दुत्कारेको थियो त्यो नै शक्तिसंग कसिएको लगन गाँठो नागरिक प्रतिको कर्तव्य बोधका कारण होइन आफ्नै नेत्रृत्व उपर आएको कानुनी प्रश्नहरु छल्नका लागि हो भन्ने धेरैको बुझाई छ । फोहर सफा गर्न फोहरुमा छिरेको नै हो भने सतहमा आएका केही प्रश्नहरुको हल जरुरी छ ।

काठमाडौंको ठमेलमा चौबिसैघण्टा भट्टि पसल चलेर होस् या पोखरा लेकसाईडमा अर्धनग्न शरीरहरुले घाम अस्ताउँने र उदाउँने प्रकृतिलाई बन्द गर्न गर्ने कुचेष्टालाई विकास भनेर बर्बराई रहेका रवि लामिछानेलाई हेक्का होस् । अरुको उत्पादनको उपभोग मात्र होइन आफ्नो उत्पादनको बिक्रीबाट आर्जेको रकमले मात्र संमृद्धि हासिल हुन सक्छ । के के न गर्छु भनेर युवाहरुको भावनालाई व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न प्रयोग गरेको अब स्पष्ट हुन बाँकी रहेन ।

सहकारीहरुमा आम नागरिहरुले बचत गरेको अर्बौं रकम हिनामिनालाई रोक्न होइन बरु यसमा संलग्न जिबिराई लगायतका व्यक्तिहरुलाई ज‍ोगाउँन पुराना दलहरुसँग रास्वपाले सम्झौता गरेको देखियो । पुराना दलहरुको सिण्डिकेट, अकर्मन्यता र भ्रष्टाचारबाट आजित भएका आम नागरिकलाई वैकल्पिक राजनीतिका माध्यमबाट सुशासन दिने भन्ने कुराप्रति धोखा भएको छ ।

समृद्धिको नेपाली सपना र विकासको परिभाषा

जापानबाट २२ अर्ब ऋण लिएर बनिरहेको नागढुङ्गा सिस्ने सुरुङमार्गले जम्मा ४ कि.मि. बाटो छोटिने रहेछ । बुटवल सिद्धबाबा सुरुङ मार्गमा खर्च हुँने ९ अर्बले जम्मा ११०० मिटर सुरुङले न पहिरो छेक्छ न त जोखिम नै रोक्छ । ठूला शडक, पुल, भ्युटावर र विमानस्थलहरुलाई मात्र विकास मान्ने परिपाटी बदल्नु पर्छ । त्यस प्रकारका विकास निर्माणहरु जरुरी त छन् तर त्यो भन्दा पहिला नागरिकका आधारभूत आवश्यक्ताहरु पूरा भएको हुनु पर्छ । जस्तो शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली भोजन र आवास जस्ता कुरा पैलो प्राथमिकतामा पर्नु पर्छ जुन कुरा हाम्रो संविधानले नागरिकको अधिकारको रुपमा उल्लेख गरेको छ ।

नागरिक भोकै हुने तर वडा सदस्यदेखि मुख्य सचिब सम्म अनि वडा सदस्यदेखि राष्ट्रपती सम्मले तलब खाने हुन सक्दैन । कर्मचारी या नेताले लिने सेवा सुबिधाको आधार अरु देशसँग तुलना गरेर हुनसक्दैन नागरिकको सेवा सुविधासँग यस्लाई दाँज्नु पर्छ । आम नागरिकको आवश्यकता पूरा हुनुलाई वल्ल समृद्धिको सुरुवात मान्न सकिन्छ । आफ्नो कुरा सस्तोमा बेच्ने र महङ्गो कुरा किनेर प्रयोग गर्ने कुराले मुलुक उभो लाग्दैन । हामीले विकासका आधारहरुनै बिक्री गरिरहेका छौं । हाम्रो श्रम शक्ति विदेशीहरुले सस्तोमा प्रयोग गरिरहेका छन् ।

वर्षा याममा मात्र सस्तोमा बिजुली बेचेर हिँउदमा झण्डै दोब्बर मूल्यमा बिजुली आयात गर्दा हात लाग्यो शून्य यसरी कैले ऋण तिरिन्छ ? तमाम कच्चा जडिबुटीहरु सस्तोमा निर्यात गरेर महंगोमा प्रशोधित बस्तु हामीले किनिरहेका छौं । हाम्रो श्रम शक्तिलाई उचित मूल्यमा काम लगाउँने, उपलब्ध बिजुलीको प्रयोग गरेर हाइड्र‍ोजन उत्पादन गर्न सके पेट्रोलीयमको आयातलाई पूरै रोक्न सकिन्छ ।  भन्सार उठाएर तलब खाने उक्त भन्सार नागरिकसँग अशुल्ने विद्यमान आर्थिक नीति निर्माताहरुसँगै विकास र समृद्धिका परिभाषाहरु सबै बदल्नु पर्छ ।


जमिन र वनको प्रयोग नागरिकको हितमा हुनु पर्छ

हामीलाई प्रकृतिले दिएका श्रोतहरुको उपयोग गरेर अघि बढ्न सकेनौं । आज पनि जङ्गलमा अर्बौंको काठ शडिरहेको छ । त्यसलाई सरल र सहज रुपमा विक्री तथा उपयोग गर्न नसकिएको त छँदै छ नागरिकले आफ्नो लालपूर्जा भित्रको काठको उपभोग पनि गर्न पाएका छैनन् । वनको उपभोग र संरक्षणको अधिकार स्थानीय तहलाई दिनु पर्छ र त्यहाँ दक्ष कर्मचारी व्यवस्थापन हुनु पर्छ । खोलाको ढुङ्गा, गिट्टी बालुवाको पनि हालत उस्तै छ । त्यो अथाह प्राकृतिक श्रोतबाट नागरिक बन्चित छन् सरकारलाई पनि खासै आम्दानी भएको छैन । केही भ्रष्ट कर्मचारी र तस्करहरुले सुनको कुखुरी बनाइरहेका छन् खोला नाला !

नागरिकले मान्छे मर्दा दाहसंस्कार गर्ने चारहात जग्गाको शुल्क तिर्नु पर्ने, लास जलाउँने दाउरा बाबु आमा गुमाउँने छोरा छोरीको ऋणको कारण बन्ने कसरी हुन्छ ? तत्कालै नागरिकको पक्षमा केही निर्णयहरु हुनैपर्छ चार कोठासम्मको घर बनाउँदा आवश्यक पर्ने काठ, ढुङ्गा, बालुवा गिट्टी जस्ता कुरा न्युँनतम दस्तुरमा नागरिकले प्राप्त गर्ने नियम बन्नु पर्छ । वास्तबमा नागरिकले प्राप्त गर्ने साना साना कुराहरुले नै मुलुकको समृद्धिका आधारहरु हुन् ।

अन्तमा
स्व. मदन भण्डारीले भन्नुहुन्थ्यो ‘कुराले च्युरा भिज्दैन।’ यो कुरा वहाँका स्वास्नी छोरी ज्वाइँ र चेलाचपेटा सबैले विर्षीए । तर यथार्थ यहिँ हो । खास गरेर भ्रष्टहरुलाई टुंडिखेलमा ल्याएर नाँकको डाँडिमा लात्तिले हिर्काउँनु पर्छ भन्ने रवि र आफ्ना तर्क र कुराले सबैलाई पछि पार्न सकेकी सुमना श्रेष्ठले कुनै अदृष्य शक्तिको जुठोपुरो नखाएर नेपाली धर्तीको मूलको पानी खाएका हौ भने तत्काल देहायका काम गरेर देखाउ ! गफले त देश शिङ्गापुर र स्विटजरल्याण्ड उहिल्लै भएको हो ।

सहकारीहरुमा अपचलन भएको अर्बौं रुपीयाँ नागरिकलाई फिर्ता गर !
गाँजा खेती र लोकल रक्सि उद्पादन र बिक्री वितरण  व्यवस्थापन गर !
भाषणमा मात्र होइन सरकारी विद्यालयमा उठाइ रहेको भर्ना तथा अन्य शुल्कहरु फिर्ता गर !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।