ताजा अपडेट »

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा आचार्य सिफारिस

सोमबार, १० बैशाख २०८१, ०७ : ४२
28 Shares

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा डा। तिलकराम आचार्य सिफारिस भएका छन् । रिक्त रहेको रजिष्टर पदमा सिफारिसका लागि उपकुलपति प्रा।डा। सुवर्णलाल बज्राचार्यले खुला विज्ञापनबाट दरखास्त माग गरेका थिए । रजिष्टर सिफारिस गर्ने अधिकार उपकुलपतिमा रहे पनि प्रधानमन्त्री र शिक्षा मन्त्रीले खुला प्रतिष्पर्धाबाट विश्वविद्यालयका पदाधिकारी छनौट गर्ने परिपाटी बनाउनुपर्ने बताउदै आएपछि विज्ञापन गरिएको थियो ।

चैत १८ गते प्रकाशित विज्ञापन अनुसार ९ जनाले दरखास्त दिएकोमा अन्तिम मूल्यांकनका लागि ७ जना छनौटमा परेका थिए । उनीहरुको बैशाख ८ मा अन्तिम मूल्यांकन भएको थियो । मूल्यांकन समितिमा राष्ट्यि योजना आयोगका शिक्षा हेर्ने सदस्य डा। रमेशचन्द्र पौडेल अध्यक्ष, मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा।डा। उपेन्द्र कुमार कोइराला र शिक्षाविद् प्रा।डा। पुष्कर बज्राचार्य सदस्य रहेको उपकुलपति कार्यालयले जनाएको छ । मूल्यांकन समितिले गरेको अन्तिम मूल्यांकनबाट प्राप्त नतिजाका आधारमा उच्च अंक ल्याउने आचार्यलाई नियुक्तिका लागि प्रधानमन्त्री समक्ष सिफारिस गरिएको विश्वविद्यालयबाट जारी गरिएको सूचनामा उल्लेख छ । उनले बौद्ध दर्शनमा विद्यावारिधि गरेका छन् ।

उपकुलपति कार्यालयले प्रकाशित गरेको सूचनाको योग्यताक्रमको पहिलो नम्बर आचार्य रहेका छन् । दोस्रोमा प्रा।डा। नरेन्द्र कटुवाल छन् । उनले चिया खेतीका विषयमा विद्यावारिधि गरेका छन् । तेस्रोमा प्रा।डा। लालमणि पाण्डे छन् । उनी राजनीति शास्त्रमा विद्यावारिधि गरेका छन् । चौथोमा प्रा।डा। काजिराम अधिकारी फार्मेसी विषयका विद्यावारिधि रहेको बताइएको छ । पाँचौंमा इन्द्र प्रसाद काफ्ले बौद्ध दर्शनमा स्नातकोत्तर हुन भने छैठौंमा रहेका डा। घनश्याम न्यौपाने र सातौंमा रहेका डा। गणेशप्रसाद घिमिरे नेपाली साहित्यमा विद्यावारिधि रहेका छन् ।

मूल्यांकनका लागि दीर्घकालीन योजना र कार्ययोजनासहितको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि ५० अंक छुट्याइएको विश्वविद्यालय स्रोतले जनाएको छ । स्रोतका अनुसार शैक्षिक योग्यता वापत विद्यावारिधी गर्नेले १५ अंक र स्नातकोत्तर तहतर्फ १० अंक राखिएको थियो । त्यस्तै प्राध्यापकले १५ र सह प्राध्यापकले १० अंक तोकिएको बताइएको छ । अनुभवमा डिनभन्दा माथिल्लो पदमा रही काम गरेकाको हकमा प्रति वर्ष २ अंक, निर्देशक, परीक्षा नियन्त्रक भई कार्य गरेकालाई प्रतिवर्ष १ दशमलव ५ अंक र केन्द्रीय विभाग प्रमुख, सहायक डिन र क्याम्पस प्रमुखका हकमा प्रतिवर्ष १ अंक राखी २० पूर्णांक तोकिएको जनाइएको छ । सोही अंक र मूल्यांकनका आधारमा विश्वविद्यालयले योग्यताक्रम प्रकाशित गरेको छ ।

विश्वविद्यालयका एक उपप्राध्यापकका अनुसार पारदर्शी रुपमा रजिष्टार छनौट गर्नका लागि उपकुलपतिले आफ्नो कुनै संलग्नता नगराएको बताए । उहाँ कुनै पनि मूल्यांकनका प्रक्रियामा सहभागी हुनुभएन, ती उपप्राध्यापकले भने, पारदर्शी रुपमा पदाधिकारी सिफारिस भएको सम्भवतः पहिलो विश्वविद्यालय नै हुनसक्छ ।

सिफारिसका आधारमा प्रधानमन्त्रीले ४ वर्षका लागि रजिष्टार नियुक्त गर्नेछन् । विश्वविद्यालयमा चैत १ गतेदेखि रजिष्टार पद रिक्त भएको हो । केही दिनअघि मात्रै त्रिभुवन विश्वविद्यालयमा रेक्टर र रजिष्टार पद खुला विज्ञापन गरी उपकुलपतिले सिफारिस गरेका थिए । त्रिविका उपकुलपतिले सिफारिस गरेकै व्यक्तिलाई प्रधानमन्त्रीले रेक्टर र रजिष्टार नियुक्त गरेका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयमा भने पहिलो पटक खुला प्रतिष्पर्धा भएको हो । अन्य विश्वविद्यालयमा पनि खुला प्रतिष्पर्धाबाट पदाधिकारी छनौटको प्रक्रिया चलिरहेको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।