ताजा अपडेट »

रुपन्देहीको रोहिणीमा आगलागी पीडितलाई राहत वितरण

आइतबार, ०९ बैशाख २०८१, १६ : ४०
120 Shares
आइतबार, ०९ बैशाख २०८१
120 Shares

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाका विभिन्न स्थानमा शनिबार आगलागी भएपछि गाउँपालिकाले प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेको छ । गाउँपालिकाले आईतबार बिहान रोहिणी–६ स्थित पर्साबाट राहत वितरण कार्य सुरु गरेको हो ।

गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले आगलागीबाट प्रभावित घरपरिवारलाई तत्काल राहत वितरण सुरु गरिएको बताए । उनले भने,‘एकै स्थानमा आगलागी हुँदा समस्या भयो । नियन्त्रणमा आउन समय लाग्यो । धनमाल र पशुचौपायामा क्षति पुगेपछि शनिबार साँझ स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसेर राहत वितरण गर्ने निर्णय गरिएको हो ।’ शनिबार रोहिणी गाउँपालिका वडा नम्बर ४, ५ र ६ का विभिन्न स्थानमा आगलागीबाट ५० वटा घरमा क्षति पुगेको अध्यक्ष यादवले जानकारी दिए ।  उनले आगलागी नियन्त्रणमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले आगलागीबाट प्रभावित घरपरिवारलाई तत्काल राहत सामग्री वितरण सुरु गरिएको बताए । उनले पीडित परिवारलाई खाद्यान्न सामग्री, झुल, त्रिपालसहित नगद वितरण गरिएको जानकारी दिए । आगलागी प्रभावित क्षेत्रमा पुगेका नेकपा ९एमाले० लुम्बिनी प्रदेश कमिटी सदस्य संजय कुमार गुप्ताले प्रभावित परिवारलाई घरदैलोमै पुगेर राहत वितरण कार्य सुरु भएको बताए । आगलागी प्रभावित घरपरिवार बिचल्लीमा परेको स्थानीय प्रदीप पाण्डेयले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।