ताजा अपडेट »

‘दुर्घटनापछिको सहजीकरणमा भलाई कोषको ठूलो योगदान’

सोमबार, ०३ बैशाख २०८१, १६ : ५९
50 Shares

बुटवल । यातायात मजदुर तथा ब्यवसायी भलाई कोषको स्वर्ण महोत्सव तथा ४६ औं साधारण सभा सोमबार सम्पन्न भएको छ । स्वर्ण महोत्सवका अवसरमा स्वर्ण स्तम्भ अनावरण, स्मारिका विमोचन तथा मूल समारोह गरिएको हो ।
स्वर्ण महोत्सवको अनावरण गर्दै लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरीले यातायात मजदूर तथा व्यवसायी भलाई कोषले ठूलो संख्यामा रहेका मजदूर र व्यवसायीको हितमा काम गर्दै आएको भन्दै प्रशंसा गरे । भलाई कोषले व्यवसायी तथा मजदूर वर्गको आर्थिक सुरक्षामा खेलेको भूमिका उच्च रहेको उनले बताए । त्यस्तै स्वर्ण महोत्सव तथा साधारणसभाको एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले उद्घाटन गरेका थिए ।

त्यस अवसरमा बोल्दै उनले मजदुर र ब्यवसायी समेटेपछि संस्था सबल बन्दै गएको र दुर्घटना न्युनीकरणको अभियानमा समेत प्रभावकारी काम हुन सकेको बताए । दुर्घटनापछि हुने झण्झटिलो कानुनी प्रक्रियालाई सहजीकरण गर्न, मजदूर र व्यवसायीको आर्थिक नोक्सानीमा संस्थागत सहकार्यका माध्यमबाट कोषले आफूलाई अगाडि बढाउँदै लगेको उनले बताए ।

कार्यक्रममा बोल्दै संस्थाका पुर्व अध्यक्ष एवं मानार्थ सदस्य कुमार थापाले भलाई कोषको विगतदेखि वर्तमानसम्मको अवस्थाबारे चर्चा गर्दै मजदूहरुको हितको लागि भनेर स्थापना गरिएको भलाई कोषमा समयक्रमसँगै व्यवसायीलाई पनि आवद्ध गराएर संस्था बिस्तार गर्न सकिएको बताए ।  त्यसो नगरिएको भए संस्था अहिलेको अवस्थामा नआउने समेत उनले बताए । कोषका अध्यक्ष दिनेश फुल्लेलले ब्यावसायिक हकहितका लागि निरन्तर संस्था लागेको बताउँदै समयसापेक्ष दुर्घटना न्युनीकरणलगायत रचनात्मक कार्यक्रम समेत गर्दै आएको बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष स्वर्गीय राजेन्द्र सिह श्रेष्ठ, दामोदर ज्ञवाली, स्वर्गीय विजय प्रसाद लाकौल, स्वर्गीय भक्ति शर्मा लगायतको परिवारलाई सम्मान गरिएको थियो । यसैगरी लामोसमय यातायात सेवा गरेका उमेर हदबन्दीका कारण सवारी चालक अनुमतिपत्र नविकरण नभएका दुई जना चालकहरु नवराज फुल्लेल र ठाकुर अधिकारीलाई नगद ५/५ हजार रुपैयाँबाट सम्मान गरिएको छ । यसैगरी जेष्ठ चालकहरु विजय न्यौपाने, रंजित पाण्डे अनुशासित चालक अनिल शाहीलाई सम्मान गरिएको छ ।

यसैगरी कोषका पुर्वअध्यक्ष कुमार केसीलाई अभिनन्दन, कोषमा २५ वर्ष भन्दा लामो अवधि काम गरेका कर्मचारीलाई सम्मान गरिएको छ । स्मारिका प्रकाशन, राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवललाई लाईट ज्याकेट वितरण, उत्कृष्ट पत्रकारिता पुरस्कार वितरण गरिएको महासचिव योग गुरुङले बताए । यसैबिच लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले स्वर्ण महोत्सवको अवसरमा कार्यालय परिसरमा स्वर्णस्तम्भ अनावरण गरेका छन् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।