ताजा अपडेट »

एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, मलेसिया ५ विकेटले पराजित

शुक्रबार, ३० चैत्र २०८०, १९ : ४२
144 Shares
शुक्रबार, ३० चैत्र २०८०
144 Shares

बुटवल । एसिसि प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मलेसिया माथि संघर्षपूर्ण जित हात पारेको छ । नेपालले मलेसिया माथि पाँच विकेटको जित दर्ता गरेको हो । मलेसियाले दिएको १४४ रनको मध्यम लक्ष्य नेपालले १९।२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

नेपालले सुरुवात सुस्त रहेकाले इनिङको दोस्रो भागमा जित तर्फ उन्मुख रहन केही गाह्रो भने रहेको थियो । पहिलो १० ओभरमा नेपालले ५९ रन मात्र बनाउन सकेको थियो । अन्त्यतिर गुलशन झाको विष्फोटक इनिङले नेपाललाई जित तर्फ डोहोर्यायो । दुई ओभरमा १७ रन चाहिएको अवस्थामा भिरनदिप सिंहको ओभरमा गुलशनको चौका र छक्का सहित १३ रन आएपछि नेपाल जित तर्फ अग्रसर भयो । गुलशन ७ बलमा १९ रन बनाएर अविजित रहे । यस्तै सन्दिप जोराले ९ बलमा १२ रन बनाए ।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ३२ रन बनाए भने कप्तान रोहित पौडेलले ३२ रन बनाए । कुशल भुर्तेल आठौ ओभरमा २४ बलमा २४ रन नै बनाएर पवनदिप सिंहको बलमा आउट भएका थिए । यस्तै अर्का ओपनर आशिफ शेख ३५ बलमा ३२ रन मात्र बनाएर विरनदिप सिंहको बलमा स्टम्प आउट भए ।

कुशल मल्ल पनि ७ रन मात्र बनाएर मोहम्मद वाफिकको बलमा क्याच आउट भए । कप्तान रोहित पौडेल १७औं ओभरमा २४ बलमा २८ रन बनाएर भिरनदिपकै बलमा क्याच आउट भए । सोही ओभरमा दीपेन्द्र सिंह ऐरी पनि ११ बलमा २० रन बनाएर पेभेलियन फर्किए । मलेसियाका लागि भिरनदिप सिंहले ३ तथा पवनदिप सिंह र मुहम्मद वाफिकले समान १(१ विकेट लिए ।

त्यसअघि अल अमेरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनायो । मलेसियाका लागि कप्तान भिरनदिप सिंहले ५५ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ६८ रनको अविजित इनिङ खेले । यस्तै शर्भिन मुनियान्डीले ३३ बलमा ३ चौका र २ छक्का सहित ४१ रन जोडे ।

ओपनर मुहम्मद आमिर १८ बलमा १६ रन बनाएर छैठौं ओभरमा दीपेन्द्र सिंह ऐरीले आउट गरेका थिए । दोस्रो विकेटका भिरनदिप र शर्भिन मिलेर ८२ रनको साझेदारी गरेका थिए । सो साझेदारी १७औं ओभरमा शर्भिन अविनाश बोहोराको बलमा बोल्ड आउट भएपछि तोडिएको थियो । साएद अजिजलाई १८औं ओभरमा दीपेन्द्रले क्याच आउट गराएका थिए । नज्मुस सकिब ८ रनमा नट आउट रहे ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा १४ रन खर्चिदै २ विकेट लिए । यस्तै अविनाश बोहोराले ४ ओभरमा २८ रन खर्चिदै १ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा २८ रन नै दिए ।

करन किसी, सोमपाल कामी र कुशल भुर्तेलले समान २ ओभर बलिङ गर्दै क्रमसः २१, ११ र १७ रन दिए । गुलशन झाले १ ओभरमा १२ र कुशल मल्लले १ ओभरमा नै १० रन दिए । नेपालको समूहमा मलेसिया, साउदी अरब, हंगकंग र कतार रहेका छन् । नेपालले भोलि दोस्रो खेलमा कतारको सामना गर्नेछ ।

समूह बी मा युएई, कुवेत, ओमान, बहराइन र कम्बोडिया रहेका छन् । ओमान र युएईले आज नै भएका खेलमा जित हासिल गर्दै विजयी सुरुवात गरिसकेका छन् । ओमानले बहराइन विरुद्ध ३ रनले र युएईले कुवेत माथि ७ विकेटको जित निकालेको हो ।

दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।