ताजा अपडेट »

दीप गायन ताराको आठौं संस्करण

शुक्रबार, ०३ फागुन २०७५, ११ : १३
8 Shares

फागुन ३,
बुटवल । सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले यस वर्ष पनि दीप गायन तारा प्रतियोगिता गर्ने भएको छ । विद्यालयले रुपन्देहीका माध्यमिक विद्यालयमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूको गायन प्रतिभाको खोजी गर्न अन्तर मा.वि. जिल्ला स्तरीय दीप गायन तारा (Deep Singing Star) प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

विद्यालयले पत्रकार सम्मेनलको आयोजना गरी यही फागुन ५ र ६ गते कार्यक्रम गर्न लागेको जानकारी गराएको छ । विद्यार्थीहरुकोे गायन प्रतिभालाई उजागर गर्दै उनीहरुलाई भविष्यमा राम्रो कलाकार बनाउने उद्देश्यका साथ हरेक वर्ष यस प्रकारको कार्यक्रम गर्ने गरिएको विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताउनुभयो ।


विद्यालयको ३८ औँ स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा प्रथम हुनेले १५ हजारका साथ सिल्ड र प्रमाणपत्र, द्वितीय हुनेले १० हजारका साथ सिल्ड र प्रमाणपत्र, तृतीय हुनेले ५ हजारका साथ सिल्ड र प्रमाणपत्र तथा सान्त्वना हुने दुई जनाले २/२ हजारका साथ सिल्ड र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनी लगायतका राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहने छ ।


हालसम्म यस प्रतियोगितामा अस्मिता चापागाईं, प्रिया भण्डारी, अफ्सर अली, जुना गुरुङ, नविन परियार, दीप्सन श्रेष्ठ र वर्षा परियार दीप गायन तारा बन्न सफल भएका छन् । सोही अवसरमा शैक्षिक सत्र २०७४ मा तहगत तथा कक्षागत रुपमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गर्ने, विद्यालयको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पु¥याउने शिक्षक, कर्मचारी एवम् विद्यार्थीहरूलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

यस्तै खेलकुद पत्रकारिता मार्फत् उल्लेख्य योगदान दिनुहुने एक जना पत्रकारलाई नगद १० हजारसहित कदर पत्रका साथ सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । पत्रकार सम्मेलन विद्यालयका उप–प्राचार्य कलाधर अर्यालको स्वागत तथा शिक्षक पुरुषोत्तम पाण्डेको सञ्चालनमा भएको थियो भने पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जि.सी.ले कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो ।


कार्यक्रममा विद्यालयका उपप्राचार्य ज्ञानु थापा, कक्षा ११ र १२ तहका संयोजक बसन्त कुमार जोशी लगायतले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।