ताजा अपडेट »
सन्दर्भ : ६७ औं राष्ट्रिय सहकारी दिवस

सहकारी हाम्रो हो र हाम्रै लागि हो !

मंगलबार, २० चैत्र २०८०, ०७ : ३४
158 Shares

सहकारी, सहयात्रा हो । त्यतिमात्र होइन यो सामुहिक प्रयासबाट गरिने आर्थिक एवम्  समतामूलक स्वायक्त उद्यम हो । नेपालको अर्थतन्त्र र नेपालीहरुको भविष्यको गतिलो आधार नै सहकारी बनिरहेको वर्तमान अवस्थामा केही संकट देखिनु र त्यसका निम्ति हुन नसकेको प्रयासले केही निराशा पक्कै छाएको छ । समाजशास्त्रको दर्शन नै समाजमा समस्याहरु देखिन्छन् र समाधान लुकेको हुन्छ । समस्या अघिअघि र समाधान पछिपछि हुन्छ भन्ने नै हो ।

समाज परिवर्तनका विविध आधारहरुमध्ये आर्थिक आधार बलियो छ । यसको जगमा टेकेर नै नेपाली अर्थतन्त्रलाई अग्रगामी रुपमा लैजान सकिन्छ । सरकारको तीनखम्बे अर्थतन्त्रभित्र सहकारीलाई एउटा खम्बाको रुपमा परिभाषित गरिएको छ । यसैलाई आधारमान्दा पनि नेपाली अर्थतन्त्रको जग बलियो बन्न सक्छ । सहकारीले रोजगारी, स्वरोजगार सिर्जना गरेको छ । व्यापार, व्यवसाय, उद्यमलाई प्रश्रय दिएको छ । ससाना काम गरेर पनि दाम कमाउन सकिन्छ भनेर सिकाएको छ । समाजममा आर्थिक समताको कल्पना गरेको छ । सामाजिक न्याय र रुपान्तरणको अभियानमा सहकारी छ ।

जुत्ताको तलुवा फाटुञ्जेल कर्जा लिन धाउनुपर्ने अवस्थाबाट सहकारीले एकहदसम्म जनताहरुलाई मुक्ति दिएको छ । गाउँघर, सहर र बजारमै तुरुन्ताको तुरुन्तै सहकारीबाट कर्जा लिने वातावरण सिर्जना भएको छ । कसैका अघि ङिच्च दाँत देखाएर पाउ परेर कर्जा लिनपर्ने बाध्यकारी अवस्थाको अन्त्य भएको महसुस् गर्न कठिन छैन । सहकारी अभियानको ६७ वर्षको यो दौरानमा सहकारीको एउटा उपलब्धि भनेको यो पनि हो भन्न सकिन्छ ।

सहकारीले सूदखोरीलाई घटाएको छ । सामुहिक नेतृत्वमा जोड दिएको छ । प्रजातान्त्रिक विधि र विधानलाई मानेको छ । प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्न सिकाएको छ । कर्जा लिनेमात्र होइन बचत गर्ने बानीको राम्रो विकास गराएको छ । सहकारीका बीचमा समन्वयकारी भूमिका र समाजप्रति सहकारीलाई उत्तरदायी बनाएको छ ।

सहकारीमा आजको समस्या आउनुलाई प्रलय नै ठान्नु हुँदैन । सहकारीको यो लम्बेयात्रामा अनेक हण्डर, ठक्कर नआएका होइनन् । त्यस कालखण्डलाई सहकारीले टार्दै र व्यवस्थापन गर्दै आइरहेको सत्य हो । आज जेजति सहकारीमा समस्या र जटिलताहरु देखिएका छन् त्यसका पनि समाधान सम्भव छ । सहकारीमा आज हामीले भोगीरहेका समस्या सहकारी सञ्चालक र शेयर सदस्यका कमजोरीको परिणाममात्र पक्कै होइन बरु सहकारीले अंगिकार गरेका नीति, नियम र कार्यान्वयनका पक्षहरुले समेत यसमा असर पुराइरहेका छन् ।

त्योभन्दा ठूलो असर त एउटै प्रकृतिका धेरै सहकारीमा एकै ब्यक्ति सदस्य बन्ने, कर्जा लिने, भुक्तानी नगर्ने प्रवृत्ति हावी भइरहेको यो परिवेशमा स्थानीय सरकारमा अनुगमन, नियमनको जिम्मा प्राप्त भएपनि स्थानीय सरकारको प्राथमिकतामा सहकारी नपर्नु आश्चर्यको कुरा हो ।  स्थानीय सरकारले आफ्नो कार्यक्षेत्रमा सहकारीलाई प्राथमिकतामा राख्न नसक्दा कतिपय नाम चलेको सहकारी समेत भागेका छन् । घोटालामा परेका छन् । शेयर सदस्यहरुलाई बिचल्ली बनाएर टाप कसेका छन् । यसको जिम्मेवारी बोक्न स्थानीय सरकार तयार छिट्टै छैन ।

सहकारीको मुख्यध्ये नै स्थानीयस्तरमा आर्थिक क्रान्तिका माध्यमबाट समृद्धिको सपना पूरा गर्नु नै हो । सबल र समृद्ध नेपालको सपना कोरा भाषणले सम्भव छैन भन्ने कुरा यतिबेलोको अर्थतन्त्रले काफी सन्देश दिन्छ । आयात दर बढ्दै जाने र निर्यात दर घट्दै जानुको एउटै कारण नेपाली अर्थतन्त्र धरासायी हुँदै जानुको परिणाम हो भन्न सकिन्छ । उत्पादन छैन भन्ने कुराको सन्देश पनि हो । बस्तुको विनिमयलेमात्र अर्थतन्त्र बलियो हुन्छ भन्ने हाम्रो मानसिकताले उत्पादन र त्यसको समुचित वितवरणलाई ध्यान दिन नसक्दा आजको परिवेश सिर्जना भएको हो भन्न कसैलाई आइतबार कुर्नै पर्दैन ।

सहकारी दिवस आउँछ जान्छ तर यसको सन्देशले के सकारात्मक परिणाम छाड्छ ? यो कुरालाई भने धेरै नै ख्याल गर्नुपर्ने देखिन्छ । नेपाली समाज आजको परिवेशसम्म पुग्नुमा सहकारीकोमात्र दोष होइन होला । तर कमजोरीको हिस्सेदार सहकारी पनि हो भन्ने कुरा स्वीकार गर्न नसक्दा हामी पर्नेछौं ।

त्यसैले यस वर्ष,सहकारीको नारा छ –सहकारी सुशासन ः प्रविधि र एकीकरण । सहकारीहरु सुशासनको पाटोमा समावेश हुनुपर्ने पहिलो सर्त हुन सक्छ । उत्तरदायित्व, जिम्मेवारी, जवाफदेहिता  र पारदर्शिता सुशासनका अंग हुन् । आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक ऐना सबैकामाझ देखाउँदा सहकारीको सुशासन प्रभावकारी छ भन्ने सन्देश प्रवाह गर्न सकिन्छ ।
सहकारीमा प्रविधि भित्र्याउन सक्दा प्रविधिमैत्री सहकारीको स्थापना हुन सक्छ । छिटोछरितो सेवा दिन सकिन्छ । आवश्यक परेको बेलामा सूचना पर्याप्त पाउन सकिन्छ । सहकारीलाई वर्तमान युग र परिवेश अनुसार अघि बढाउन सकिन्छ । सहकारी समय, समाज र वर्तमान अवस्थाको तुलनामा संख्यात्मक रुपमा धेरै भएको कारण एकीकरणमा लैजादा प्रभावकारी हुन सक्ने भएकोले यतिबेलो यो नारा सार्थक सावित हुन सक्ला ।

सहकारी बुझेको, बुझाउन सक्ने, सहकारी सञ्चालन र व्यवस्थापन गर्न सक्ने क्षमतावान सञ्चालक समिति, आर्थिक तथा प्रशासनिक क्षमता भएको लेखा समिति, सहकारीलाई अग्रगतिमा लैजान प्रयास र अभ्यास गर्ने शिक्षा उपसमितिका साथै विभिन्न उपसमिति चलायमान हुन सकेमा आजको दुःखद् अवस्थाबाट सहकारीले हदैसम्म मुक्ति पाउन सक्छ ।
सहकारी, निमुखा र भूइँमान्छेका साझा तथा समुन्नत आर्थिक उन्नयन गर्ने संस्था हो । यसको स्थायित्व र दीगोपनाका लागि सहकारी दिवसले नयाँ ज्ञान, सीप प्रदान गर्न सकोस् र व्यवहारमा सहकारी हाम्रो हो । हाम्रै लागि होभन्ने गौरव गर्न सकियोस् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।