ताजा अपडेट »

चौधरी ग्रुपले हडपेको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जमिन आयो सरकार मातहत

शुक्रबार, ०९ चैत्र २०८०, १८ : १९
100 Shares
शुक्रबार, ०९ चैत्र २०८०
100 Shares

काठमाठौं । चौधरी समूहले गैरकानूनी रूपमा हडपेको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत आएको छ । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत छविलाल नेपालीले उक्त जग्गा नेपाल सरकारको मातहतमा ल्याउने निर्णय भएको जानकारी दिए ।

मालपोत ऐन २०३४ को दफा २४ मा भएको व्यवस्था अनुसार उक्त जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको उनले बताए । २०४३ सालमा विनोद चौधरी र उनको परिवारका सदस्यको नाममा च्याम्पियन फूटवेयर कम्पनी खडा गरेर प्रति रोपनी २ लाख ५० हजारका दरले ६ रोपनी जग्गा कम्पनीको नाममा गरिएको थियो । त्यसको एक वर्षपछि थप ४ रोपनी जग्गा च्याम्पियन फूटवेयरलाई दिने निर्णय कारखानाले गरेको थियो ।​ त्यसबापत च्याम्पियन फूटवेयरमा प्रतिकित्ता १ हजारका दरले २५ सय कित्ता शेयर लिने निर्णयमा उल्लेख थियो ।

विनोद चौधरी हर्ताकर्ता भएको चौधरी ग्रुप अफ इन्डस्ट्रिजले खोलेको च्याम्पियन फूटवेयरलाई जग्गा दिने निर्णय गर्ने मुख्य पात्र अजितनारायण सिंह थापा त्यतिबेला बाँसबारी छालाजुत्ता कारखानाको कार्यकारी अध्यक्ष थिए । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानमा थापाले च्याम्पियन फूटवेयरमा जम्मा १२ लाख २५ हजार लगानी गर्नुपर्नेमा बाँसबारी छालाजुत्ता कारखानाले २६ लाखभन्दा बढी लगानी गरेको भेटिएको थियो ।

यसअघि विनोद चौधरीका सहोदर भाइ अरुण चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका त्यतिबेलाका प्रमुख अजितनारायण सिंह थापा र पूर्व कर्मचारीसमेत रहेका सञ्जय ठाकुरलाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरूलाई बाहिरै राखेर अनुसन्धान गर्ने जिल्ला अदालतको आदेशपछि उनीहरू रिहा भएका थिए ।

बिहीवार नेपाली कांग्रेसका सांसदसमेत रहेका विनोद चौधरीलाई काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा सीआईबीले बयान लिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।