ताजा अपडेट »

लुम्बिनीमा एमालेका ८० हजार बढी पार्टी सदस्यहरुले दिए एकसाथ परीक्षा

सोमबार, ०५ चैत्र २०८०, २२ : ४३
104 Shares

बुटवल । नेकपा (एमाले) लुम्बिनी प्रदेश संगठन कमिटीले सोमबार एकै दिन सबै जिल्लाका पार्टी सदस्यहरूको  आधारभूत तहको परीक्षा लिएको छ । पार्टीका कार्यकर्ताहरू वैचारिक रूपले स्पष्ट हुन सकून्, अध्ययनप्रति रुचि जागोस्, पार्टीले लिने वैचारिक प्रशिक्षणप्रति उत्साही हुन सकून् भन्ने उद्देश्यले यस प्रकारको कार्यक्रम राखिएको प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले बताए ।

प्रदेश कमिटीको स्कुल विभागले राखेको यो कार्यक्रम एकै दिन एकै समयमा १२ वटै जिल्लामा राखिएकाले प्रभावकारी हुन सकेको विश्वास पनि अध्यक्ष कँडेलले ब्यक्त गरे । पहिलो पटक सदस्यहरूलाई क्रियाशील बनाउन यसखालको प्रक्रिया थालिएको र सबै क्षेत्रमा उत्साहपूर्वक सहभागिता भएको उनले बताए । 

प्रचार विभाग प्रमुख डीआर घिमिरेले यो परीक्षा पूर्व तयारीस्वरुप भएको भए पनि यस अनुभवका आधारमा आगामी दिनमा व्यवस्थित हुँदै जाने बताए । यसको मूल भावना कार्यकर्तामा वैचारिक जिज्ञासा बढाउने हो, जुन हुन सकेको छ, उनले भने । यस कार्यक्रमले आगामी दिनमा स्कुल विभागले सञ्चालन गर्ने प्रशिक्षणमा कुन तहको प्रशिक्षण दिनुपर्ने भनी सन्देश दिन सकेको धारणा प्रदेश कमिटीका उपाध्यक्ष एवं स्कुल विभाग प्रमुख भोजप्रसाद श्रेष्ठले बताए ।

लुम्बिनीका १२ वटा जिल्लाका सबै वडा कमिटीहरुमा परीक्षा सञ्चालन गरिएको थियो । परीक्षामा ८० हजार बढी सदस्य सहभागी भएको एमालेले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।