ताजा अपडेट »

लगातार जित दर्ता गर्दै नेपाल टी-२० सिरिजको फाइनलमा

शनिबार, १९ फागुन २०८०, १४ : ४५
354 Shares
शनिबार, १९ फागुन २०८०
354 Shares

बुटवल । त्रिकोणात्मक टी-२० सिरिजमा लगातार दोस्रो जित दर्ता गर्दै नेपाल फाइनलमा स्थान बनाउन सफल भएको छ । टियु क्रिकेट मैदानमा शनिबार सम्पन्न पाँचौ खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै नेपाल सिरिजको दोस्रो जित दर्ता गर्न सफल भएको हो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको सामान्य लक्ष्य १५ दशमलव २ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्दै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लियो ।

नेदरल्यान्ड्सले दिएको लक्ष्य १५ ओभरभित्र पूरा गरे नेपाल रनरेटमा नेदरल्यान्ड्सभन्दा अघि बढ्ने समीकरण रहेको थियो । यसमा सफल नभएपनि पोजिटिभ रन रेट भएपछि नेपाल १ खेल अगावै फाइनल पुगेको हो । अंक तालिकाको शीर्ष दुई टोली फाइनल पुग्ने प्रावधान रहेको छ । हाल अंक तालिकामा नेपाल र नेदरल्यान्ड्सको ४/४ तथा नामिबियाको २ अंक छ । आजको जितले नेपालको रनरेट पोजेटिभ भएको हो । अब आइतबार लिगको अन्तिम खेलमा नेदरल्यान्ड्स र नामिबिया खेल्नेछन् । उक्त खेलको नतिजाले मंगलबार हुने फाइनल खेल्ने अर्को टोलीको टुंगो लाग्नेछ ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेल र गुलशन झाले तेस्रो विकेटका लागि ८६ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । गुलशनले ३६ बलमा ३८ रनको योगदान दिए । १४ औं भोरमा आर्यन दत्तबाट बोल्ड हुनुअघि उनले २ चौका र १ छक्का प्रहार गरेका थिए । रोहितले ३३ बलमा ४६ रन जोडे । उनले ३ चौका र १ छक्का प्रहार गरे । उनी किंग्माले फालेको १५ औं ओभरको तेस्रो बलमा क्याच आउट भएका थिए ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख दुवै एकै ओभरमा आउट भएपछि नेपाल केहि समस्यामा परेको थियो । किंगमाले तेस्रो ओभरको तेस्रो बलमा कुशललाई १२ रनमा क्याच आउट गराए । त्यसपछि आसिफ पाँचौ बलमा ८ रन जोडेको अवस्थामा बोल्ड भए । त्यसपछि गुलशन र रोहितले बलियो साझेदारी निर्माण गर्दै नेपाललाई जित दिलाए ।

त्यसअघि नेदरल्यान्ड्सले १९ दशमलव ३ ओभरमा अलआउट हुनुअघि १ सय २० रन जोड्यो । पहिलो ओभरमै दुई विकेट गुमाएको नेदरल्यान्ड्सले तेस्रो विकेटका लागि संयमित साझेदारी पाएको थियो । तर मध्यक्रममा प्रतिश जिसी र कुशल मल्लले लगातार २/२ विकेट लिएपछि नेदरल्यान्ड्सको मध्यक्रम ध्वस्त भएको थियो । नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ डाउडले सर्वाधिक ३१ रन बनाए । रोलफ भान डर मर्वले तल्लोक्रममा नटआउट २३ रनको योगदान दिए । उनले १४ बलमा १ चौका र १ छक्का जोडे ।

नेपालका प्रतिश जिसीले समग्रमा ३ विकेट लिँदा करण केसी र कुशल मल्लले २/२ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए । अन्तिम विकेट कुशल भुर्तेलको थ्रोमा रनआउट भएको थियो । करण केसीले इनिङको पहिलो ओभरमै २ विकेट लिएर नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

करणले चौथो बलमा माइकल लेभिटलाई दिपेन्द्र सिंह ऐरीको बलमा मिड अफमा क्याच गराए । लेभिटले दोस्रो बलमा चौका प्रहार गरेका थिए । त्यसको दुई बलपछि साइब्रान्ड एंगलब्रेक्ट कट बिहाइन्ड भए । इनिङको नवौं ओभरमा प्रतिशले डच कप्तान स्कट एडवार्ड्स र ओपनर म्याक्स ओ डाउडको विकेट लिए । यी दुईले तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए ।

पहिलो बलमा एडवार्ड्सलाई बोल्ड गरेका उनले पाँचौ बलमा म्याक्सलाई पेभेलियन फर्काए । स्कटले २१ बलमा १ छक्कासहित १८ रन जोडे । म्याक्स २४ बलमा ४ चौका र १ छक्कासहित ३१ रनमा आउट भए । दशौं ओभरमा कुशल मल्लले नोआ क्रोस र आर्यन दत्तको विकेट लिए । पाँचौ बलमा क्रोस ६ बलमा ३ रन जोडेका उनी स्विप सट खेल्ने धुनमा फाइन लेगमा अभिनाश बोहोराको हातबाट समातिए । लगत्तै दत्त अर्को बलमा बोल्ड भए ।

कुशलले १५ औं ओभरको तेस्रो बलमा तेजालाई बोल्ड गरे । उनले १४ बलमा ५ रन जोडेका थिए । १८ औं ओभरमा दीपेन्द्रसिंह ऐरीले टिम भान डर गुग्टेनलाई क्याच आउट गराए । उनले २५ बलमा २४ रनको योगदान दिए । लगत्तै गुलशन झाले डाइरेक्ट हिटमा काइल क्लेइनलाई खाता नखोली रनआउट गरे । अन्तिम ओभरको तेस्रो बलमा कुशल भुर्तेलले सानदार फिल्डीङ गरे । भान डर मर्वले स्ट्रेटतर्फ खेलेको सट बाउन्ड्रीमा उफ्रेर छक्का जोगाएका उनले त्यसपछि किंग्माको रनआउट सम्भव बनाएका थिए ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।