ताजा अपडेट »

नामिबियासँग नेपालको लगातार दोस्रो हार

बुधबार, ०९ फागुन २०८०, १५ : ०७
86 Shares
बुधबार, ०९ फागुन २०८०
86 Shares

काठमाडौं । विश्वकप लिग २ क्रिकेटअन्तर्गत घरेलु मैदानमा जारी पहिलो त्रिदेशीय एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले नामिबियासँग २ विकेटको हार ब्यहोरेको छ ।त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले केवल १६९ रनको लक्ष्य दिएको थियो । नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

नामिबियाका कप्तान जेर्हार्ड इरासमसले ५२, माइकल भान लिंगेनले ३१ र जेजे स्मितले अविजित ३४ रन बनाए । १८ रन जोड्दा २ विकेट गुमाएको नामिबियाका लागि इरासमस र भान लिंगेनले ५२ रनको साझेदारी गरेका थिए ।त्यसपछि ११८र६ र १४२र७ को अवस्थामा पुगे पनि जेजे स्मितले सम्हालिएर खेल्दै टोलीलाई जीततर्फ डोर्‍याएका थिए । उनले जेन ग्रिनसँग सातौं विकेटका लागि २४ र आठौं विकेटका लागि रुबेन ट्रम्पलम्यानसँग २२ रनको साझेदारी गरेका थिए ।

नेपालका कुशल भुर्तेलले ३ तथा ललित राजवंशी, रोहित पौडेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए ।जारी शृंखलामा नेपालले नामिबियासँगका दुवै खेल हारेको हो। नेपालले शृंखलाको आफ्नो अन्तिम खेलमा अब नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने छ। पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ३७।१ ओभरमा सबै विकेट गुमाएर एक सय ६८ रन जोड्यो।
नेपालका लागि आसिफ शेख ५८, कुशल मल्ल ३६,भीम सार्कीले २६ , कुशल भुर्तेल १८ र करण केसीले १२ रन जोडेर आउट भए। दीपेन्द्रसिंह ऐरीले ६ र सोमपाल कामीले ४ रन बनाए। रोहित पौडेल, देव खनाल र अनिल शाहले खाता खोल्न सकेनन्।

४३ रनमा ३ विकेट गुमाएको अवस्थामा आसिफले कुशल मल्लसँग ५७ रनको साझेदारी गरेका थिए। नेपालले एक सय रन जोड्दा चौथो विकेटका रुपमा आसिफ आउट भएका थिए। त्यसपछि नेपालले कुनै पनि विकेटका लागि गतिलो साझेदारी गर्न सकेन। नेपाल ५ रनको अन्तरमा सुरुका तीन विकेट गुमाएको थियो। त्यसअघि पहिलो विकेटका लागि ३८ रनको साझेदारी भएको थियो। नामिबियाका बर्नार्ड स्कोल्ट्ज र जान निकोल लफ्टी इटनले ४र४ विकेट लिए।

स्कोल्ट्जले १० ओभरमा २ मेडन राखेर ३१ रन दिए भने लफ्टी इटनले ६।१ ओभरमा ३४ रन दिए। नामिबियाका ज्याक ब्रास्सेल र जेर्हार्ड इरासमसले पनि एक एक विकेट हात पारे। सातौँ ओभरमा नेपालका सुरुवाती दुई विकेट झारेको स्कोल्ट्जले त्यसपछि अनिल शाह र भीम सार्कीलाई पनि आउट गरेका थिए। लफ्टी इटनले नेपालको मध्य र तल्लोक्रमलाई ध्वस्त बनाएका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।