ताजा अपडेट »

विद्यालयमा राजनीतीकरण, महिला सदस्यको विषयमा विवाद हुँदा अभिभावक भेला फेरि स्थगित

मंगलबार, ०८ फागुन २०८०, १३ : ०६
86 Shares

रौतहट  । रौतहटको गुजरा नगरपालिका–५ स्थित जनजागृति आधारभूत विद्यालयको  अभिभावक भेला चौथोपटक पनि स्थगित भएको छ ।विद्यालय व्यावस्थापन समिति गठनका लागि विद्यालयमा सोमबार भएको अभिभावक भेला बिना कुनै निर्णय स्थगित भएको थियो । व्यवस्थापन समितिका लागि अभिभावकहरूबाट दुईजना महिला छनौट गर्ने विषयमा अभिभावकबीच सामन्य  भानभन हुँदा  चौथोपटक अभिभावक भेला स्थगित गरिएको थियो।

शिक्षा नियमाबली २०५९ को दफा १२ को उपदफा १ को खण्ड क बमोजिम बोलाइएको अभिभावकहरूबाट दुईजना महिला सदस्यसहित चारजना  छनौट गर्नुपर्ने कानुनी व्यवस्था छ ।अभिभावकहरूबाट चारजना महिलाको नाम आएको र चारैजना समितिमा बस्ने अडान लिएको र दुईजनामा सहमति गर्न भनेपछि सामान्य भनाभन भएको थियो । अभिभावक नै नभएको व्यक्ति समर्थक हुन नपाउने प्रश्न उठेपछि विवाद भएकोमा शिक्षक प्रतिनिधि एवं नगर शिक्षा संयोजक शिवमंगल साहले भेला स्थगित गरेको प्राध्यानाध्यापक आमानुल हकले बताए । 

निर्वाचन प्रक्रियामा नगई सहमतीय प्रक्रियाबाट सदस्य छनौट गर्ने प्रयास जारी रहेको क्रममा चौथोपटक सहमतिको वातावरण नदेखिएपछि अर्को सूचना नआएसम्मको लागि अभिभावक भेला स्थगित गरिएको प्रधानाध्यापक हकले जानकारी दिए । स्थानीय अभिभावक संजय साहले षड्यन्त्रपूर्वक अभिभावक भेला पटक पटक स्थगित गर्दै आएको आरोप लगाएका छन् । विद्यालयमा कार्यरत शिक्षकहरू विद्यार्थीको अध्ययनअध्यापनतर्फ ध्यान नदिएर दिनभरि गफ गरि बस्ने गरेको बताउँदै विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने कार्य गर्ने गरेको आरोप लागेको छ । 

शिक्षाको स्तर बढाउने कार्य नगरी राजनीतिक गर्ने गरेको शिक्षकलाई विद्यालयबाट हटाउनुपर्ने स्थानीय अभिभावकहरुले माग गरेका छन् । हरिहरपुरका राम आशिष साहले केही शिक्षकहरू स्वयं विद्यार्थीको भविष्यसँग खेलवाड गरिरहेको आरोप लगाए । उक्त विद्यालयको अभिभावकमध्ये ७५ प्रतिशत अभिभावक व्यवस्थापन समिति गठन गराउन प्रयासरत छन् । तर, केही जनप्रतिनिधि आफ्नो नजिकको मानिसलाई समितिको अध्यक्ष बनाउन विभिन्न षडयन्त्र गरेर पटकपटक अवरुद्ध गर्दै आएको पूर्व गाविस अध्यक्षसमेत रहेका साहले बताए । 

जनजागृति आधारभूत विद्यालय हरिहरापुरमा लामो समयदेखि विद्यालय व्यवस्थापन समितिको अभावमा पठनपाठनदेखि विद्यालयको सम्पूर्ण अवस्था दयनीय भएको अभिभावकले गुनासो गर्दै आएका छन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।