ताजा अपडेट »

तिलोत्तमाको होराइजन गौतमबुद्धमा खाना महोत्सवसँगै रक्तदान तथा पुरस्कार वितरण

सोमबार, ०७ फागुन २०८०, १८ : ५८
78 Shares

बुटवल । होराइजन गौतम बुद्ध मावि तिलोत्तमामा खेल सप्ताहको अन्तिम दिन सोमबार खाना महोत्सव, पुरस्कार वितरण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । होटल व्यवस्थापन विषय अध्ययन गर्ने विद्यार्थीले विभिन्न खानाका परिकारहरु बनाएर आफ्नो सीप प्रदर्शन गरेका थिए ।

विद्यार्थीमा व्यवसायिक सीपको विकास गर्ने उद्देश्यका साथ खाना महोत्सवको आयोजना गरिएको थियो । आठओटा स्टल रहेको महोत्सवमा सेकुवा, भुटुवा, सेलरोटी, बटुक, मःम लगायतका परिकारहरू विद्यार्थी आफैले तयार गरेका थिए । खाना महोत्सवमा चार लाख बराबरको आर्थिक कारोबार भएको र एक लाख पन्ध्र  हजार मुनाफा भएको थियो । उक्त मुनाफा विद्यार्थीहरू आफैले बाँड्ने  कार्यक्रम संयोजक दिलिप कुमार श्रेष्ठले जानकारी दिए । यसैगरी खेल सप्ताहमा उत्कृष्ट हुने विभिन्न विधाका खेलाडीहरूलाई मेडल तथा प्रमाण पत्रले पुरस्कृत गरिएको छ। विद्यार्थीमा मानवीय सेवाको भावना विकास गर्नका निम्ति विद्यालयमा रहेको जुनीयर रेडक्रस सर्कलद्वारा आयोजित रक्तदान कार्यक्रममा प्राध्यापक, कर्मचारी, अभिभावक तथा विद्यार्थीबाट १०१ युनिट रगत सङ्कल भएको कार्यक्रम संयोजक डा. नारायण प्रसाद पन्थले जानकारी दिए ।
    

कार्यक्रममा दोस्रो त्रैमासिक परीक्षाको परीक्षाफलमा हरेक सेक्सनबाट प्रथम, द्वितीय एवम् तृतीय र सर्वोत्कृष्ट हुने विद्यार्थी तथा अभिभावकलाई नगद तथा विभिन्न पुरस्कारबाट सम्मान गरिएको थियो । राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता २०८० मा उत्कृष्ट खेल प्रदर्शन गर्ने १८ जना विद्यार्थीलाई समेत मेडल, नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । विद्यालय बाहिर भएका विभिन्न अतिरिक्त क्रियाकलापमा विद्यालयको प्रतिनिधित्व गर्दै सहभागी भई उत्कृष्ट हुने विद्यार्थी, एमवीवीएस इन्जिनीयरिङ लगायत विभिन्न विधामा पूर्णछात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई समेत सम्मान गरिएको थियो ।


कार्यक्रममा विद्यार्थीले विभिन्न नृत्यहरू समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा–१ का वडाअध्यक्ष फर्सूराम गिरीले होराइजन मा.वि. देशकै उत्कृष्ट विद्यालय भएकोमा धन्यवाद दिँदै अतिरिक्त क्रियाकलापबाट विद्यार्थीमा सिर्जनशीलता बढ्ने कुरामा जोड दिए । सहायक क्याम्पस प्रमुख इन्द्रप्रसाद भुसालले होराइजन माविले विगतदेखि नै यस्ता गतिविधिहरू गर्दै आएको र  विद्यार्थीमा व्यवहारिक ज्ञान सिकाउन आफूहरू प्रतिबद्ध रहेको कुरा स्मरण गर्दै सम्पूर्ण प्राध्यापक तथा विद्यार्थीलाई बधाई दिए ।


पुरस्कार वितरण समारोहमा विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यले होराइजन देशमै एउटा ब्रान्डको रुपमा स्थापित भइसकेको हुँदा धेरै अभिभावकहरूको रोजाइमा होराइजन पर्ने गरेको कुरा उल्लेख गर्दै अभिभावकहरूको विश्वासलाई सार्थकता प्रदान गर्न विद्यालय प्रशासन निरन्तर लागिरहेको बताए । यसैगरी कार्यक्रमका सभाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजू श्रेष्ठले विद्यालयको भौतिक संरचना, यातायात सुविधा, शिक्षक कर्मचारीहरूको सेवा सुविधा विद्यार्थी तथा शिक्षक तथा कर्मचारीहरूका लागि तालिम, सेमिनार जस्ता कुराहरूमा सञ्चालक समिति सधै चनाखो हुने बताउँदै विद्यार्थी, शिक्षक, अभिभावक तथा सञ्चालकहरूले यथेस्ट ध्यान दिन सकियो भनेमात्र विद्यालयलाई थप उचाईंमा पुर्याउन सकिने बताए  । कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक डा. मुरारी प्रसाद पराजुलीले गरेका थिए ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।