ताजा अपडेट »

युवा : उमेरले वा विचारले !

शनिबार, १४ पुस २०८०, ०५ : ५७
250 Shares
शनिबार, १४ पुस २०८०
250 Shares

देश अनुसार युवाको उमेर फरक छ । परिभाषा सायद एउटै हुन सक्छ । युवा, देशको मेरुदण्ड हो । आधार हो, देश विकासको । सगरमाथा हो राष्ट्रको । ढुङ्गा खाएपनि पचाउन सक्ने क्षमतावान ब्यक्ति हो । उड्दै गरेको चरा समाउन सक्ने गतिवान हो युवा । आफ्नै पौरखमा बाँच्न सक्ने खुवी भएको मान्छे नै युवा हो । पहिचान र सामथ्र्यको परिचय हो युवा । यस्तै यस्तै उपमामा बाँच्ने ब्यक्ति नै युवा हुन् ।

युवा उमेरले हुन्छ वा विचारले प्रश्न यही उठ्ने गरेको छ अचेल । उमेरलेभन्दा पनि विचारले हुने होला नि युवा जस्तो लाग्छ मलाई । जोश, जाँगरमात्र युवाको परिचय हैन कि ? बरु, मस्तिष्कमा उमार्न सक्ने विचारको प्रणेता हो युवा । विचारलाई बोकेर गन्तव्यमा पुग्न लक्ष्य बोकेर हिडिरहेको यात्री हो युवा । ऊसँग विचारको हतियार हुन्छ र देश उठाउने संकल्प हुन्छ मन, मस्तिष्कमा ।

गर्दैन केही काम तर उमेरले २० वर्षको लक्का जवान अर्थात् युवा भएर के भो र ? जीवन र जगतप्रति बेखबर छ । भविष्यप्रति उसको कुनै सपना छैन । वर्तमानप्रति कर्तव्यनिष्ठ छैन । इतिहासको कुनै अध्ययन छैन अनि ऊ कसरी युवा हुन सक्छ ? आफूलाई चिन्दैन, चिन्ने प्रयास पनि गर्दैन । समाजमा बस्छ तर कुनै वास्ता छैन । घरपरिवारप्रतिको जवाफदेहिता शून्य छ । हेर्दा जिउँदो बाघ छोप्न सक्ने शरीर छ । तर लाछी भएर बसेको छ । आफै कमाइ खाने उमेरको नौजवान बाबुआमासँग हात थापेर खान छाडेको छैन । सायद उसलाई उमेरले युवा भनिन्छ होला तर विचारले ऊ युवा हुन सक्दैन ।

हिम्मत, आँट, जाँगर, शाहसले मान्छे युवा हुने रहेछन् न कि उमेरले । उमेरले ८० पुगेर के भो ? घरदेश, देश र परदेश चिनेको छ । बुझेको छ । पढेको छ । खाँचो परेको बेला देशका लागि बलिदानी गर्न पछि पर्दैन । देशले मागे रगत चढाउँला शब्द र गीतमा मात्र होइन ब्यवहारमा उतार्न एक कदम अघि बढ्छ भने त्यो जतिसुकै बुढो किन नहोस् युवाको परिभाषाभित्र समाहित हुन सक्छ ।

देशलाई काँध थाप्न उमेरले होइन विचारले उत्प्रेरित गर्ने रहेछ । विचारको सगरमाथा बोकेर जीवनको कठिनतम यात्रामा उत्रिने मान्छे नै युवा हो । सुजीको हलुवा त सजिलै निल्न सकिने रहेछ । बासी आँटो निल्न पनि विचारको कसी लगाउन सक्ने पौरखी मान्छे नै युवाभित्र पर्ने रहेछन् ।

यतिबेला युथलेस र टुथलेस भयो देश भन्दैछन् । उमेरका युवा गए तर विचारका युवा देशमै छन् भन्ने लाग्छ मलाई । वर्तमान समयमा देशको छानो चुहिएको हो । तर घरै खरानी भएको होइन । चुहिएको छानो छाउन सकिन्छ । घर चुहियो भनेर आगो लगाएर हिड्ने १८ देखि ४० को नेपाली युवा भएर पो के भो र ? जहाँ उसले देश रोएको बेला आँसु पुस्न सक्दैन । बिरामी, नेपाल आमालाई स्नेहको चुम्बन दिन भ्याउँदैन । के गर्व गर्नु उमेरका युवाहरुप्रति ।

देशलाई चिनेको छ । बुझेको छ । देशको खाँचोमा आफ्नो आहूति अनिवार्य ठान्ने जुनसुकै उमेरको ब्यक्ति युवा हो । मृत्युलाई मौका ठान्ने बीर र बहादुर युवा हुन् । ज्ञान, क्षमता, सीप र योग्यताले सायद मान्छेलाई युवा बनाउँछ । नदीको पानी र युवा उस्तै हुन् । जो हरक्षण नयाँ बनेर आउने गर्छ । नीति, विधि र प्रविधि बुझेको छ । प्रयास, अभ्यास र निरन्तरको गतिशीलतालाई आफ्नो जीवनको यात्रा ठानेको मान्छे नै युवा हो ।

त्यसैले उमेरको घेराभित्र सीमित परिचयमात्र होइन युवा । समय र सन्दर्भको सारथी हो युवा । बुझ्न र बुझाउन सक्ने कला भएको ब्यक्ति नै युवा हो । इतिहासलाई चिनेको, वर्तमानलाई आत्मसात् गर्ने खुबी भएको र भविष्यप्रति आशावादी जुनसुकै उमेरका मानिस नै युवा हुन् । युवालाई शरीरसँगमात्र होइन, मन, मस्तिष्कसँग पनि दाँज्न सक्नुपर्छ । जो हारेर पनि उठ्न सक्छ त्यो युवा हो । जो उठेर पनि सुतेसरि हुन्छ र उस्तै व्यवहार देखाउँछ भने त्यो कसरी युवा हुन सक्ला ?

अंकको मापनमा होइन भावनाको तराजुमा जोखिन सक्ने मान्छे नै युवा रहेछन् । बलिया, बाङ्गा र हेर्दै खाइलाग्दो भएर युवा हुन नसकिदो रहेछ । आफूलाई चिनेको, घरदेखि परसम्म बुझेको, संसारलाई सुन्दर तथा कलात्मक दृष्टिले हेर्न र विश्लेषण सक्ने खास मान्छे नै युवा रहेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।