ताजा अपडेट »

एके ग्राफिक्स भैरहवाले चुम्यो लुम्बिनी कर्पोरेट क्रिकेटको उपाधि

मंगलबार, १० पुस २०८०, २० : ३५
22 Shares
मंगलबार, १० पुस २०८०
22 Shares

भैरहवा । एके ग्राफिक्स, भैरहवाले लुम्बिनी सुपर सिक्सेस कर्पोरेट क्रिकेट प्रतियोगिताको उपाधि चुम्न सफल भएको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो नवौं स्थापना दिवसको अवसरमा आयोजना गरेको प्रतियोगिताको मंगलबार सम्पन्न फाइनल खेलमा न्यु सिटीपी प्वाइन्ट, बुटवललाई २ विकेटले पराजित गर्दै एकेले उपाधि हात पार्न सफल भएको हो ।

उपाधिसँगै एके ग्राफिक्सले नगद २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको न्यु सिटीपी प्वाइन्टले नगद १३ हजार र ट्रफी हात पारेको छ । सिद्धार्थनगर–९ स्थित गोनहिया मैदानमा भएको फाइनल खेलमा जितका लागि ७१ रनको लक्ष्य पाएको एके ग्राफिक्सले निर्धारित ५ ओभरको खेलमा ४ बल बाँकी छँदै ३ विकेट गुमाएर जित आफ्नो पक्षमा पार्यो । एकेका लागि संजय यादवले सर्वाधिक ३३, मोहम्मद रफिकले १२ र जितेन्द्र चौधरीले ८ रनको योगदान दिए । बलिङमा न्यू सिटीपीका प्रविन पौडेल, श्रीधर केसी र सुशील रिजालले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्यु सिटीपीले निर्धारित खेलमा २ विकेटको क्षतिमा ७० रनको सामान्य योगफल बनाएको थियो । उसका लागि श्रीधर केसीले २०, प्रविन केसीले १६ र प्रकाश पाण्डेले १० रन बनाए । बलिङमा एके ग्राफिक्सका जितेन्द्र चौधरी र मोहम्मद रफिकले १–१ विकेट लिए । खेलमा एकेका संजय यादव म्यान अफ द फाइनल भई एक हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा न्यु सिटीपीका श्रीधर केसी उदयमान खेलाडी र सीटीपीकै सुशील रिजाल उत्कृष्ट बलर हुन सफल भए । यस्तै, एके ग्राफिक्सका हृदयेश हरिजनले बेष्ट ब्याट्सम्यानको उपाधि जित्न सफल भए । उनीहरुले जनही ३ हजारका दरले पुरस्कार प्राप्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।