ताजा अपडेट »

शक्ति र राजनीतिक भ्रष्टीकरण

सोमबार, ०९ पुस २०८०, ११ : २१
50 Shares
सोमबार, ०९ पुस २०८०
50 Shares

शासनतन्त्रमा शक्ति र राजनीतिको ठूलो चलखेल हुन्छ। शक्तिबिना राजनीति सम्भव हुँदैन । राजनीतिबिना शक्ति प्राप्त हुँदैन।सामान्यतः अर्काको व्यवहार र घटनाक्रमलाई निर्देशित र प्रभावित गर्न सक्ने क्षमता, योग्यता नै शक्ति हो। शक्ति त्यो केन्द्रबिन्दु हो जसबाट संयन्त्रहरूको परिक्रमण हुन्छ। शक्ति सत्तारोहण र अवरोहणको दुई धारे तरबार जस्तै हो। काट्छ र काटिइन्छ पनि।

अधिकांशतः शक्तिको स्वभाव कठोर र शोषण उन्मुख हुन्छ। शक्ति नै उत्थान र पतनको प्रमुख कारक हो। सर्वेक्षणहरूबाट देखिएको छ कि जब व्यक्तिमा शक्ति बढ्छ उसको Sense of Morality घट्दै जान्छ। शक्ति र सत्तामा रहेकाहरूको बोली र भाषण जनताको चाहना र आवश्यकतामा केन्द्रित रहन्छ तर वास्तवमा तिनीहरूको मन मस्तिष्कमा जनताको उपयोग र शोषण बाहेक जनताको आकांक्षा र आवश्यकताको कुनै स्थान हुँदैन । शक्तिको स्वभाव सम्बन्धी एउटा चर्चित भनाई छ-" Power tends to Corrupt.Absolute power corrupts absolutely".

जनयुद्ध र सडक आन्दोलनको संयुक्त शक्तिबाट राजगद्दी र तन्त्र धराशायी भयो। तापनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था क्रियाशील रहेको आजको अवस्थामा "राजकीय शक्ति र सार्वभौमसत्ता श्री ५ मा निहित रहने, व्यवस्था भनेको श्री ५, राजा र राजपरिवारका सदस्यहरू माथी प्रश्न गर्नु भनेको व्यवस्था कमजोर पार्न खोजेको आरोप लाग्ने" विगतको त्यो एकतन्त्री पथमा प्रधानमन्त्री दाहाल हिँड्न खोजेको आशंका जनतामा पैदा हुन थालेको छ। एनसेल प्रकरणमा दाहाल परिवारका सदस्यहरूको संलग्नता बारे राज्य व्यवस्था तथा सुशासन समितिमा प्रश्न उठेको सन्दर्भमा "पारिवारिक सदस्यहरूलाई जोडेर यो व्यवस्थालाई नै कमजोर पार्ने नियत राखिएको " प्रधानमन्त्री दाहालको अभिव्यक्ति संचार माध्यमहरूबाट प्रशारण हुँदा जनता झसङ्गिन थालेका छन्। Nature of political power को दृष्टिले भन्नु पर्दा दाहालको त्यो भनाई अस्वाभाविक होईन। किनकी मुलुकको पावर पोलिटिक्समा दाहालको पोजिसन सर्वोपरी ( Absolute ) छ।

देउवाले दाहाललाई ठाडै नकार्न सक्दैनन्। किनकी आलोपालो प्रधानमन्त्री बन्न छ। दुध दिने गाईको लात पनि सहनु पर्छ भन्ने अवस्था कांग्रेसको छ। कमरेड ओली पनि चिसिएका छन्। माओवादी बिना न कांग्रेस न ऐमालेको सरकार बन्न सक्छ। कांग्रेस एमाले बीच सुप्रीमेसीको इगो रहेकोले तिनीहरू मिलेर जाने अवस्था नै छैन। हुनत थुप्रै दलहरू मिलेर सरकार गठन हुन सक्छ।त्यो भनेको थुप्रैको मल्नु पर्ने, खुसामद गर्नु पर्ने हुन्छ। तासको घर जस्तै हुन्छ। त्यसैले वर्तमान राजनीतिक परिदृश्यमा दाहालको त्यो अभिव्यक्ति राजनीतिक भ्रष्टीकरण र आफ्नो Political Absolutness को संकेत संग-संगै Absolutely Political Corruption पनि हो। यस्तै राजनीतिक सर्वोपरिता, राजनीतिक भ्रष्टीकरण र पूर्णतः राजनीतिक शोषण कै परिणाम राजतन्त्रको अवसान भएको र राजा सडकमा आएको हेका राख्नु अति आवश्यक छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।