ताजा अपडेट »

गणतन्त्रको विकल्प सुधारसहतिको गणतन्त्र हो, राजतन्त्र होइन : वर्षमान पुन

शनिबार, ०७ पुस २०८०, १९ : ४४
54 Shares
शनिबार, ०७ पुस २०८०
54 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व मन्त्री वर्षमान पुनले गणतन्त्र कार्यान्वयनका क्रममा आएका झिना-मसिना समस्या देखाएर राजतन्त्रको ओकालत गर्नु जायन नहुने बताएका छन्। गणतन्त्रको विकल्प गणतन्त्र, नेताको विकल्प अझ राम्रो नेता र पार्टीहरुको विकल्प अझ राम्रो पार्टी हुने तर राजतन्त्र हुन नसक्ने उनले ठोकुवा गरे।

सत्तारुढ दल माओवादी केन्द्रको चन्द्रागिरी नगरपालिका २ मा शनिबार भएको सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘राजतन्त्रको अन्त्य र संविधान जारी गरेसँगै जनवादी क्रान्ति पूरा भयो तर जनताको अवस्थामा सुधार आएको छैन। नेताको आचरण र व्यवहारमा सुधार आएको छैन। ३ ओटा राष्ट्रपति भए र आचरण र व्यवहारमा प्रश्न उठाउँदै राजासँग दाँज्ने काम भयो। त्यसैले हामिले आचरण र व्यवहार सुधार गर्नुपर्छ। गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन।’

गणतन्त्र प्राप्तीपछि देशमा संघीयता, धर्मनिरपेक्षता, समावेशीता, सामाजिक न्याय जस्ता विषय स्थापित गरेको तर आर्थिक समृद्धिको काम अझै बाँकी रहेको उनले बताए। आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको कामको प्रशंसा गर्दै उनले अरु सरकार र अन्य नेताले गर्न नसकेको सामाजिक सुरक्षा, सुशासन, राष्ट्रियता र समृद्धिका पक्षमा राम्रा काम भएको बताए।

‘अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, समृद्दिका क्षेत्रमा राम्रो काम गरेको छ। सुनकाण्ड विरुद्दको अभियान चलाएको छ। अरुले सुन पास गराईरहेका थिए। माओवादीको सरकारले समात्यो त के नराम्रो भयो ?’ उनले प्रश्न गरे। मध्यपहाडी राजमार्ग माओवादीले बनाएको हो। तर त्यसलाई पनि एमालेले दावी गरिरहेको छ। ९ ओटा लोकमार्ग बनाउने कुरा हाम्रो घोषणापत्रमा उल्लेख भएको छ। बाटो चौड पार्ने, लोडसेडि हटाउने काम माओवादीले गरेको हो।

'सुन काण्डका विषयमा पनि हाम्रो पार्टीमाथि नेताहरुमाथि प्रश्न उठ्यो। जनताले प्रश्न उठाउँदैमा भाग्नु हुँदैन। हामीले जवाफ दिनुपर्दछ। हामीले छानविन समिति बनाऔं भनेका थियौं', पूर्वमन्त्री पुनले थपे, ‘हाम्रो पार्टी भ्रष्टाचार, कालाबजारीलाई संरक्षणा गर्दैन। तर पनि आरोप लगाउनेका विरुद्ध भने हामी जुध्नु पर्दछ। सम्बन्धीत निकायमा मुद्दा हाल्नु पर्दछ। यदि कसैले गल्ती गरेको छ भने उसको बचाउमा संगठन लाग्दैन। गल्ती गर्ने कसैलाई छोड्नु हुँदैन।’ गल्ती नगरे पनि प्रविधिको दुरुपयोग गरेर माओवादी विरुद्ध जनतालाई भ्रम पार्न खोज्नेप्रति भने सचेत हुनुपर्ने उनले बताए।

‘पुस १० गते अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको एक वर्ष पुग्दैछ। आफ्नो सचिवालय, मन्त्री, सल्लाहाकार फेर्छु तर पछि हट्दिन, देश र जनताको पक्षमा काम गर्छु भन्नुभएको छ। परिणाम निकाल्छु भन्नु भएको छ। पार्टीले उहाँलाई साथ दिएको छ’ सम्मेलनका सहभागिलाई प्रशिक्षण दिदै पुनले थपे।

चन्द्रागिरी २ माओवादी जनप्रतिनिधिले स्थानीय चुनावमा जितेको वडा हो। माओवादीको रुपान्तरण अभियानको उद्घाटनका क्रममा अध्यक्ष प्रचण्ड सोही वडामा पुगेर कार्यक्रममा सहभागि भएका थिए। सम्मेलन र प्रशिक्षणमा उपमहासचिव पुन पुगेका हुन्। नेता पुनले जनयुद्धकालको अन्तिम क्षणमा आफू मध्य कमाण्डको इन्चार्ज भएर आएको स्मरण गरे। जनआन्दोलन सफल बनाउन ७ दलीय सहमति अनुसार काठमाडौं वरपरका साँखु, दधिकोट र थानकोटमा आक्रमण गरेको खुलासा गरेका नेता पुनले जनआन्दोलनमा माओवादीले काभ्रे जिल्लाबाट मात्रै ९१ हजार ६ सय जना पठाएको बताए।

माओवादी कमजोर हुनुका कारण केलाएका नेता पुनले पार्टी विभाजन हुनु प्रमुख कारण भएको बताए। संविधानसभाको पहिलो चुनावमा जनताले दिएको जनमत अनुसारको काम गर्नु र त्यसलाई सम्मान गर्दै संविधान जारी गर्न नसक्नु पनि माओवादी कमजोर हुनुको कारण रहेको उनले बताएका छन्। तर अहिले विगतको कमजोरी सुधार गर्दै माओवादीहरु एक हुने बाटोमा अघि बढिरहेको उनले जानकारी दिए। विगतका गल्तीहरु महसुस गरेर माओवादी धारहरुको एकताका लागि प्रयास भईरहेको उनले जानकारी दिएका छन्।

चन्द्रागिरी २ मा सुरेन्द्र तामाङको नेतृत्वमा माओवादीको २९ सदस्यीय समिति गठन भएको छ। नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई माओवादी सल्लाहाकार मुकुन्द घिमिरेले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।