ताजा अपडेट »

प्रथम शहीद लखन थापाको १४२ औं स्मृति दिवस मनाइयो

विहीबार, ०२ फागुन २०७५, १७ : ३८
4 Shares

‘संघीयता र समावेशीता शहीदहरुले कोरेको दुरगामी सपना ’


फागुन २,
बुटवल । नेपालका प्रथम शहीद लखन थापामगरको १४२ औं स्मृति दिवस आज बिहिबार बुटवल चौराह लखनचोकमा एक कार्यक्रमको आयोजना गरि मनाईएको छ । प्रथम शहीद लखन थापामगर अक्षयकोष तथा स्मृति प्रतिष्ठान् रुपन्देहीले आयोजना गरेको कार्यक्रममा लखनचोक चौराहस्थित शहीद लखन थापाको पूर्णकदको शालीकमा माल्यार्पण पश्चात बोल्दै प्रदेश ५ सभा सदस्य तुलाराम घर्तीमगरले शहीदको सपनालाई कुण्ठित गर्ने अधिकार कसैलाई नभएको बताउनु भयो ।

संघीयता र समावेशीता जस्ता मुद्दाहरु शहीदहरुले कोरेको दुरगामी सपना भएको बताउँदै उहाँले यसलाई कुल्चने दुषप्रयास भएको बताउनु भयो । देशको संरचना संघीय ढाँचा र विविधतायुक्त रहेको भएपनि यसको बेवास्ता गर्दै एकात्मक राज्यसत्ता प्रणाली लागु गर्न खोज्नु शहीदहरुप्रतिको अपमान भएको बताउनु भयो । नेपालमा भएका २००७ साल देखिका पछिल्ला क्रान्ती र महत्वपूर्ण परिवर्तनका घटनाहरुको जगको श्रेय प्रथम शहीद लखनथापामगर रहेको उहाँको भनाई थियो ।

सरकार आफैले २०७२ साल असोज २ गतेको मन्त्रीपरिषद्को निर्णयबाट शहीद लखन थापामगरलाई प्रथम शहीद घोषणा गरेको स्मरण गर्दै उहाँले राष्ट्रको शहीद भएकाले राज्यस्तरबाट थापाको स्मृति दिवस मनाउनु पर्ने धारणा राख्नु भयो ।


प्रथम शहीद लखन थापामगर अक्षयकोष तथा स्मृति प्रतिष्ठान् रुपन्देहीका अध्यक्ष माथवरसिङ सलामीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री एम.एस. थापालाई सम्मान गरिएको थियो । सम्मानित पश्चात बोल्दै मन्त्री थापाले शहीद लखनथापाको शहादतलाई अवमूल्यन भएको प्रति चिन्ता व्यक्त गर्नुभयो । जहाँनीया राणा शासनको विरुद्ध थापाले विद्रोहको सुरुवात नगरेको भए आजको यो स्थितिको परिकल्पना गर्न नसकिने उहाँको जिकिर थियो । कार्यक्रममा नेताहरु झम बहादुर गुरुङ, मगर संघका उपाध्यक्ष दल बहादुर वीरकट्टा, कमला बहिक, सनु थापा लगायतले बोल्नु भएको थियो ।

जनताको स्वतन्त्रताका लागि, निरङ्कशताको विरुद्ध जनतालाई संगठित र जागरित गरेको आरोपमा नेपालका प्रथम शहीद लखन थापामगरलाई तत्कालिन जहाँनियाँ राणा शासनका प्रधानमन्त्री जंग बहादुर राणाको निर्देशनमा वि.स. १९३३ सालमा ४२ वर्षको उमेरमा गोर्खा बुङ्कोट स्थित आफ्नै निवास अगाडि खिर्राको रुखमा झुण्ड्याएर फाँसी दिइएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।