ताजा अपडेट »

लुम्रे–सिदिङ सडकको पहिरो नपन्छाउँदा स्थानीयवासी समस्यामा

आइतबार, १७ भदौ २०८०, ११ : ४८
20 Shares
आइतबार, १७ भदौ २०८०
20 Shares

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकालाई पोखरालाई जोड्ने मुख्य सडक मनिलालमार्गअन्तर्गतको लुम्रे–सिदिङ सडकखण्डको पहिरो पन्छाउन ढिलाइ हुँदा स्थानीयवासी समस्यामा परेका छन् ।

मर्दी हिमाल पदयात्रामार्गको प्रवेशद्वारका रूपमा रहेको सिदिङ जाने सडक यही भदौ ६ गतेको पहिरोले बन्द हुँदा स्थानीयसहित पर्यटकले समेत सास्ती व्यर्होनुपरेको हो ।

पहिराले माछापुच्छे्र गाउँपालिका–८ र ९ दुई वडाका नागरिक प्रभावित बनेका हुन्। यी दुई वडा यहाँका पर्यटकीय क्षेत्रसमेत हुन्। लुम्रे—सिदिङ सडकखण्डको घलेलस्थित केसवाङको घुम्ती र नागीमा पहिरो खसेको हो ।

ठूला ढुङ्गासहित माथिबाट खसेको पहिराले सडक पूर्णरूपमा बन्द भएको छ। माछापुच्छ्रे–९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जेसिबी लगाएर पहिरो पन्छाएर सडक खुलाउने प्रयास गरिए पनि सफल नभएको बताए। सो पहिरो पन्छाउन ठूलो चेनवाला मेसिन चाहिने भएको र गाउँमा उपलब्ध नभएकाले बाटो खुलाउन समय लागेको बताए ।

उनले भने, “ठूला–ठूला ढुङ्गा खसेर सडक अहिले पूरै बन्द छ। खुलाउने प्रयास गरेका थियौँ तर जेसिबीबाट पन्छाउन सम्भव भएन। पोखराबाट ठूलो मेसिन लिएर गएर सडक खुलाउनुको विकल्प छैन।” सडकको पहिरोमात्र पन्छाउनका लागि गाउँपालिकाले रु ७५ हजार लागत अनुमान गरेको छ। तर गाउँमा ठूलो मेसिन उपलब्ध नहुँदा बजारबाट लैजानुपर्ने बाध्यता रहेकाले लागत बढ्ने अनुमान गरिएको छ ।

“पोखराबाट ठूलो मेसिन गाडीमा राखेर ल्याउन÷लैजानमात्र भाडा रु एक लाख हाराहारी लाग्छ। लागत अनुमानमा त्यो रकम समावेश छैन। त्यसैले बजेट अभावमा समेत पहिरो पन्छाउन ढिलाइ भएको हो”, वडाध्यक्ष क्षेत्रीले भने। पहिरोले घलेल, कालिमाटी र सिदिङका स्थानीयवासी प्रत्यक्ष प्रभावित बनेका छन्। स्थानीयवासीसहित मर्दी पदयात्रामा जाने केही पर्यटकले समेत बाटोका कारण दुःख पाएको बताइन्छ ।

वडाध्यक्ष क्षेत्रीले पदयात्रा पर्यटनको अहिले ‘अफसिजन’ रहेकाले पर्यटक आगमन न्यून रहेको बताए। पर्यटकलाई दुःख नहोस् भनेर सैँतीघट्ट हुँदै जानेरआउने व्यवस्था गरिएको र सोहीअनुसार सूचना गरिएको उनले जानकारी दिए। सो स्थानमा यसअघि पनि पहिराले दुःख दिने गरेको थियो। आर्थिक वर्ष २०७८–७९ मा रु १० लाख लागतमा पहिरो नियन्त्रणको काम गरिए पनि यस वर्षको पहिराले क्षति पुर्याएको बताइन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।