ताजा अपडेट »

शारीरिक सुगठनको अध्यक्षमा राजेशबाबु, उपाध्यक्षमा बुटवलका सितुप्रसाद श्रेष्ठ

बुधबार, ३१ जेठ २०८०, १७ : ०८
2 Shares

बुटवल । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ निर्वाचित भएका छन् । गएको आइतबार सम्पन्न महासंघको पहिलो निर्वाचनबाट श्रेष्ठको अध्यक्षतामा १६ सदस्यीय कमिटी गठन भएको हो ।

यसअघि, नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ र नेप्लेज फेडेरेसन अफ बडी बिल्डिङ संघ अस्तित्वमा थिए । नेपाल खेलकुद विकास ऐन, २०७७ आएपछि राष्ट्रिय खेलुकद परिषद् (राखेप)ले एउटै संघ बनाउने नीति लिएको थियो । सोहीअनुसार राखेपले नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ र नेप्लेज फेडेरेसन अफ बडी बिल्डिङ संघ विघटन गरेर राजेशबाबु श्रेष्ठको नेतृत्वमा २७ सदस्यीय तदर्थ समिति गठन गरेको थियो ।

राखेपले तदर्थ समितिलाई तीन महिनाभित्र नयाँ विधान बनाई निर्वाचन गर्ने ‘म्यान्डेट’ दिएको थियो । तदर्थ समितिले विधान निर्माणकार्य सम्पन्न गरेको थियो । निर्वाचन भने गर्न भ्याएको थिएन । त्यसपछि राखेपलाई समय थपका लागि अनुरोध गरिएको थियो । तर, समय थप्न नमिल्ने भन्दै राखेपले श्रेष्ठकै नेतृत्वमा १५ सदस्यीय नयाँ तदर्थ समिति गठन गरिदियो ।

त्यही तदर्थ समितिले आइतबार निर्वाचन गरेर नयाँ कार्यसमिति चयन गरेको हो । महासंघको पहिलो साधारणसभाले श्रेष्ठको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको बताइएको छ । महासंघको वरिष्ठ उपाध्यमा विजयलाल कायस्थ, उपाध्यक्षमा सुजन लामा र रोशन महर्जन चयन भए । महासचिवमा अजय बज्राचार्य, सविचमा दिनेशकुमार राजभण्डारी र कोषाध्यक्षमा बलराम सुवेदी चुनिए ।

यस्तै, सदस्यहरूमा दिनेश श्रेष्ठ, राजकुमार श्रेष्ठ, बाबुकाजी मानन्धर, नरेशकुमार मल्ल, अमृत रोकाया क्षेत्री, राजेशरत्न बज्राचार्य, दुर्गाबहादुर श्रेष्ठ, ननिता महर्जन र विनिता राई सर्वसम्मत निर्वाचित भए । नवनिर्वाचित कार्यसमितिले महासंघको विधानानुसार अध्यक्षको सिफारिसमा राजेश उपाध्यायलाई उपाध्यक्षमा मनोनीत गर्‍यो । यस्तै, ज्ञानेन्द्र नकर्मी, नवीन आलेमगर, प्रज्ज्वल राई, निर्मला महर्जन, रेणुका श्रेष्ठ, रचना श्रेष्ठ र देविका राईलाई सदस्यमा मनोनीत गरिएको छ ।

महासंघले वाग्मती, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेश समिति पनि गठन गरेको सचिव दिनेशकुमार राजभण्डारीले जानकारी दिए । उनका अनुसार मधेस प्रदेशमा पनि प्रदेश कमिटी गठन भइसकेको छ । सुदूरपश्चिम र कोसीमा भने प्रदेश कमिटी गठन हुन बाँकी छ । वाग्मती प्रदेशबाट राजनकुमार श्रेष्ठ, गण्डकी प्रदेशबाट वकिलमान तुलाधर ‘उदास’, लुम्बिनी प्रदेशबाट सितुप्रसाद श्रेष्ठ र कर्णाली प्रदेशबाट रमेशकुमार केसी पदेन उपाध्यक्ष बनेका छन् ।

०३५ सालमा भारोत्तलन तथा शारीरिक सुगठन संघ गठन भएको थियो । २०४७ सालमा भारोत्तलन संघ र नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघ अलग भएका थिए । त्यसपछि २०६२ सालसम्म नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघ तदर्थ समितिमा चलेको थियो । २०६२ सालमा किशोरबहादुर सिंह सदस्यसचिव भएका बेला पहिलो साधारण सभा भएर राखेपमा दर्ता भएको थियो ।

त्यसपछि ०७५ मा पुनः नेपाल शारीरिक सुगठन तथा फिटनेस संघबाट छुट्टिएर नेपाल फेडेरेसन अफ बडी बिल्डिङ संघ गठन भएको थियो । नयाँ खेलकुद ऐनअनुसार पुनः दुई संघ गाभिएर नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ बनाइएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।