ताजा अपडेट »

पाल्पामा आइतबार साँझ जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुग्यो

सोमबार, २२ जेठ २०८०, १० : ४१
6 Shares

पाल्पा । पाल्पाको रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप आइतबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । अर्घाखाँचीको पाणिनी गाउँपालिका–२, का २ वर्षीय बालक संयोग गौतम र पाणिनी(१ का ४४ वर्षीय विजय पोखरेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

संयोगको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र विजयको बुटवलको चौराह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । विजय पोखरेल सोही वडाका वडासदस्य हुन् । मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पडेना बस्ने जिप चालक २६ वर्षीय रमेश विक, पाणिनी– १ का ५५ वर्षीया श्यामकला परियार, पाणिनी–२ पोखराथोकका २५ वर्षीया सीता गौतम र सोही स्थानका दुई वर्षीय बालक संयोग गौतम रहेका छन् ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । घाइते पाँच जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा, दुई जनाको चौराहा अस्पताल बुटवल र चार जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप सडकदेखि करिब ७० मिटर तल खसेको छ । दुर्घटनासम्बन्धी अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।