ताजा अपडेट »

भारतबाट कफ सिरप निर्यातमा प्रतिबन्ध, नेपालमा उत्पादित औषधि कति सुरक्षित ?

विहीबार, ११ जेठ २०८०, ०८ : ११
30 Shares

भारतले सरकारी प्रयोगशालामा नमुना परीक्षण गरेपछि मात्र खोकीको औषधि (कफ सिरप) अन्य देशमा निर्यात गर्न अनुमति दिने भएको छ। यद्यपि त्यहाँको वाणिज्य मन्त्रालयको उक्त निर्णयले नेपालको हकमा कुनै असर नपार्ने अधिकारीहरूले बताएका छन्। अहिले नेपालमा प्रयोग हुने अधिकांश कफ सिरप स्वदेशमै उत्पादन हुने र ती सबैले सुरक्षा तथा गुणस्तर मापदण्ड पूरा गरेको नेपालको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसी बताउँछन्।

“हामीलाई आवश्यक कफ सिरप देशकै उत्पादनले धान्छ। त्यसमाथि यहाँ भारतको कफ सिरप निकै कम मात्रै आउने भएकाले निर्यात रोकिनुले कुनै असर गर्दैन,” उनले जानकारी दिए। केसीका अनुसार नेपालमा भारतबाट भित्रिने ५१ देखि ५२ प्रतिशत औषधिहरूमध्ये सीमित कम्पनीका कफ सिरप छन्। ती कति छन् भन्नेबारे विभागसँग स्पष्ट तथ्याङ्क छैन। तर नेपाल औषधि उत्पादक सङ्घका अनुसार नेपाली बजारमा ४० प्रतिशत कफ सिरप भारतबाट आउँछ।

भारतले किन रोक्यो निर्यात ?

गत वर्ष द गाम्बियामा ७० जना र उज्वेकिस्तानमा १९ जना बालबालिकाको मृत्युसँग भारतमा उत्पादित कफ सिरप सम्बन्धित रहेको बताइएको थियो। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि भारतका चारवटा कफ सिरप बालबालिकाको मृत्युसँग सम्बन्धित रहेको भन्दै विश्वव्यापी चेतावनी दिएको छ। केही नमुनाहरूको प्रयोगशाला विश्लेषणले तिनमा उल्लेख्य मात्रामा विषाक्त पदार्थहरू रहेको पुष्टि गरेको थियो।

उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले गरेको प्रारम्भिक परीक्षणमा त्यस देशमा लगिएको सम्बन्धित औषधिको एउटा ब्याचमा एथलीन ग्लाइकोल नामक विषाक्त पदार्थ उल्लेख्य देखिएको थियो। खोकीको झोल औषधिकै कारण झन्डै १०० बालबालिकाको मृत्यु भएपछि इन्डोनेशियामा सबै खालका सिरप तथा झोल औषधि बेच्न रोक लगाइएको छ। संसारभरि औषधि निर्यात गर्ने भएकाले भारतलाई विश्वको औषधि उत्पादनको 'पावर हाउस' समेत भन्ने गरिन्छ।

तर हालैका वर्षहरूमा भारतको औषधि उद्योगको द्रुत वृद्धिले औषधिको गुणस्तर खस्किएको र नियमन समेत कमजोर बनेको आरोपहरू सुनिएको बीबीसी संवाददाता सौतिक बिस्वासले जानकारी दिए।

नेपालमा कस्तो सजगता ?

औषधि व्यवस्था विभागका सूचना अधिकारी केसीले नेपालमा हालसम्म खोकी रोक्ने झोल औषधिका कारण कुनै समस्या नदेखिएका भए पनि डब्ल्यूएचओले चेतावनी दिएका कारण सजगता अपनाइएको बताए। “हामीले कतै हाम्रो बजारमा पनि ती औषधि उपलब्ध छन् कि भनेर जाँच गरेका थियौँ। तर चेतावनी दिइएकामध्ये कुनै पनि ब्रान्ड नेपालमा दर्ता भएको पाएनौँ,” उनले भने।

केसीका अनुसार त्यस्ता औषधि बनाउने कच्चा पदार्थ भारतबाटै आउने भएकाले नेपालका औषधि उत्पादकहरूलाई गुणस्तर सुनिश्चित गर्न समेत निर्देशन दिइएको उनको दाबी छ। “औषधिमा प्रयोग हुने तत्त्वहरूमा मिसावट हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर त्यस्तो निर्देशन दिइएको हो। नेपालमा त्यति बेलै उत्पादन भएका औषधिहरूमा पनि डाईएथलीन ग्लाइकोल प्रयोग भएको पाइएको थिएन,” केसीले भने।

कतिपय अवस्थामा चिकित्सकको सिफारिस (प्रेस्क्रिप्शन)बिन‍ै कफ सिरपको बिक्री वितरण हुनु बालबालिकाको लागि जोखिमपूर्ण हुने चिकित्सकहरू बताउँछन्। यद्यपि त्यस्तो कार्य नियन्त्रणका लागि औषधि व्यवस्था विभागले औषधिहरूलाई क, ख र ग वर्गका वर्गीकृत गरेको छ। वर्गका आधारमा ग वर्गका औषधिहरूलाई मात्र फार्मेसीले अनुभवको आधारमा उपभोक्तालाई दिन मिल्छ। क र ख वर्गका औषधि त्यसो गर्न मिल्दैन।

“कफ सिरप यी तीन वटै वर्गमा पर्ने भएकाले सिफारिसबिना दिन मिल्ने औषधिहरू दिइन्छ। नत्र चिकित्सकको प्रेस्क्रिप्शन मागिन्छ भन्ने हाम्रो विश्वास छ,” सूचना अधिकारी केसीले भने। अहिले नेपालमा करिब ३५ वटा कम्पनीहरूले कफ सिरप उत्पादन गर्ने नेपाल औषधि उत्पादक सङ्घका उपाध्यक्ष सन्तोष बरालले बताए।

ती सबै कम्पनीहरूले छ महिनासम्म दैनिक आठदेखि १० घण्टा खोकीको झोल औषधि उत्पादन गर्ने हो भने त्यसले आगामी दुई वर्षसम्म पुग्ने उनको भनाइ छ। ती औषधि व्यवस्था विभागको नियम र मापदण्डअनुरूप भएकाले सुरक्षित रहेको उनको मत छ।

“खोकीको झोल औषधि हामीकहाँ नै पर्याप्त छन् तर पनि भारतबाट ल्याइन्छ। यसले नेपाली औषधिको बजारलाई केही प्रभावित पारेको छ। अब निर्यात रोकिने हो भने देशकै उत्पादन वृद्धि हुन्छ,” बरालले बताए। यद्यप, स्वास्थ्यकर्मीहरू कफ सिरप प्रयोगबारे सावधान हुनुपर्ने मत राख्छन्। - बीबीसी नेपाली

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।