ताजा अपडेट »

डुब्न लागेको नेपाली अर्थतन्त्र

आइतबार, ३१ बैशाख २०८०, १३ : ३६
18 Shares
आइतबार, ३१ बैशाख २०८०
18 Shares


चालु आर्थिक वर्षको नौँ महिनाको आर्थिक अवस्थाका बारेमा राष्ट्र बैंकले प्रकाशित गरेकोे तथ्यांकलाई आधार मानेर हेर्दा मुलुकमा आर्थिक सङ्कट भित्रि तहसम्म फैलिएको प्रमाणित भएको छ । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मुल्य सुचकाङ्कमा आधारित मुद्रास्फिती ७.७६ प्रतिशत रहेको छ । जुन चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ७.८८ प्रतिशत रहेको थियो । अघिल्लो आर्थिक वर्षको सोही समयमा यसप्रकारको मुद्रस्फितीको दर ६.२४ रहेको थियो । यसबाट स्पष्ट हुन्छ । चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा वैदेशिक व्यापारका क्षेत्रमा आयात १९.९ प्रतिशतले, निर्यात २९ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १८.७ प्रतिशतले घटेको अवस्था थियो ।

वर्तमान समयमा वैदेशिक व्यापारका क्षेत्रमा आयात १८.१ प्रतिशतले, निर्यात २६.३ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले घटेको छ । यसको सिधा असर राजस्व संकलमा परिरहेकाले साधारण खर्च सञ्चालनका लागि पनि वैदेशिक सहायता बाह्य ऋण लिनुपर्ने अवस्था आउने निश्चित नै छ । चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २७.१ प्रतिशतले र अमेरिकी डलरमा १६.४ प्रतिशतले बढेकोमा वर्तमान समयमा नेपाली रुपैयाँमा २४.२ प्रतिशतले र अमेरिकी डलरमा १३.९ प्रतिशतले बढेको छ । यो कुराले वैदशिक रोजगारीमा जाने नेपालीहरुले देशको राजनैतिक अवस्थालाई हेरेर स्वदेशमा पैसा पठाउने भन्दा पनि अब उतै स्थायी बसोबास गर्ने योजना बनाएको प्रमाणित भएको छ ।

शोधनान्तर स्थिति रु २३ अर्ब ६८ करोडले घाटामा रहेकोमा अहिले यसमा केही सुधार भएको देखिन्छ । कुल विदेशी विनिमय सञ्चिति रु.१४३३ अर्ब ७३ करोड अमेरिकी डलर रहेको छ । यसले वर्तमान समयको प्रचलित मुल्यस्तरलाई आधार मान्दा ५ महिनाका लागि मात्रै आयात धान्न पुग्दछ । हाम्रो अर्थतन्त्र उपभोत्तावादी छ यसमा नीतिगत निर्यणका आधारमा व्यवसायिक क्षेत्रलाई प्रवर्द्धन गर्दै उत्पादन केन्द्रित गर्न नसक्नु नै हाम्रो कमजोरी हो । दोस्रो चौमासिकमा वैदेशिक रोजगारीमा जानका लागि श्रम स्विकृती लिनेको संख्यामा १६९.९ प्रतिशतले वृद्धि भएकोमा वर्तमान समयमा ५१.५ प्रतिशतले वृद्धि भएको छ । जुन आर्थिक वर्ष २०७८/७९ को सोही समयको तुलनामा ७०.६ प्रतिशतले धेरै हो । यस्तो हुनुका कारण देशमा स्वरोजगारीको वातावरण निर्मार्ण गर्नका लागि राजनैतिक पाटिका योजनाहरुले हावा खानु नै हो ।

बैंक तथा वित्तीय सस्थाको निक्षेप संकलन ७ प्रतिशतले बढेको छ र नीजि क्षेत्रमा प्रवाहित कर्जा ३.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ प्रतिशत र नीजि क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.२ प्रतिशत रहेको छ । यसको अर्थ नीजि क्षेत्रमा गरिएका लगानी थप पूँजीको अभावमा अर्बौका योजनाहरु अलपत्र परेका छन् । यस्तो परिवेश निर्माण हुनु देशको सामाजिक आर्थिक विकासका लागि शुभ संकेत होईन ।

आर्थिक वर्ष २०७९/८० को वार्षिक आर्थिक वृद्धिदर ८ प्रतिशत हुने प्रक्षेपण गरिएकोमा वास्तविकतामा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशतमा खुम्चिने अवस्था छ । एसियाली विकास बैंक एवं विश्व बैंकले ४.१ प्रतिशत आर्थिक वृद्धिदर प्रक्षेपण गरेको सन्दर्भ रहेता पनि नेपाली नेतृत्वका कारण यो अवस्था आउन सकेको छैन । आन्तरिक राजस्व संकलन र पूँजीगत खर्चमा कमीका कारण सरकारी वित्त नाजुक रहेको अवस्थामा उत्पादन–उद्योग, निर्माण, व्यापार लगायत क्षेत्रको वृद्धिदर ऋणात्मक रहनुले नेपाली अर्थतन्त्रमा संरचनागत परिवर्तनको आवश्यकता छ  ।

रुस र युक्रेनको युद्धका कारणले विश्वव्यापी रूपमा आपूर्ति शृंखला प्रतिकुल बनेको छ । यसले गर्दा पेट्रोलियम पदार्थ लगायतका वस्तुमा भएको मूल्यवृद्धिको असर हाम्रो अर्थतन्त्रमा पनि परेको देखिन्छ । मुलुकको जीडीपीमा सबैभन्दा बढी योगदान पु¥याउँदै आएको कृषि क्षेत्रमै अपेक्षित सुधार भएको छैन । चालु आर्थिक वर्षको जीडीपीमा कृषि क्षेत्रको योगदान अपेक्षाभन्दा २.६९ प्रतिशत कम अर्थात् २४.६ प्रतिशत मात्र हुने देखिएको छ । भन्सार विभागका अनुसार चैत मसान्त सम्ममा नेपालले रू १२ खर्ब १ अर्ब ५०करोड बराबरको आयात गर्यो भने रू १ खर्ब १८ अर्ब २८ करोड बराबरको निर्यात गरेको छ । यो अवधीमा कुल व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड हुन पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १८ र निर्यात २६.३४ प्रतिशतले घटेको छ ।

नेपाली अर्थतन्त्रमा देखिएको अर्को चिन्ताको विषय भनेको साधन र स्रोतको असन्तुलित वितरण हो । चालु आर्थिक वर्षमा करिब २ खर्ब २० अर्ब रुपैयाँले राष्ट्रिय अर्थतन्त्रमा स्रोत अभाव रहने अनुमान गरिएको छ  । यस अवधिमा मुलुकको राष्ट्रिय पुँजी निर्माण र अन्तिम उपभोग गरी कुल ६८ खर्ब ३६ अर्ब रुपैयाँ रहँदा कुल राष्ट्रिय आय भने ६६ खर्ब १६ अर्ब रुपैयाँ मात्रै छ । जुन जीडीपीको झण्डै ४ प्रतिशत हुन आउछ । यसलाई सन्तुलनमा ल्याउनका सरकारले ठूलो परिमाणमा पुँजीगत खर्च गर्नुका साथै अधिकतम विदेशी सहयोग, सहुलियत ऋण, अनुदान लगायतका प्रयास गर्नुपर्ने हुन्छ । यद्धपी वर्तमान समयमा सरकारले अर्थतन्त्रलाई कसरी मजबुत बनाउन सकिन्छ भन्नेमा खासै ध्यान दिएको छैन् ।

अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकमा निक्षेप जम्मा बढेको छ । निजी क्षेत्रसँग नयाँ परियोजनामा लगानी गर्ने प्राविधिक तथा जनशक्ति व्यवस्थापनको क्षमता छैन । उद्योगका उत्पादनहरु १५ देखी २५ प्रतिशतमा सीमित भएका छन् । खाद्यान्न उत्पादनका क्षेत्रमा खासै उल्लेख्नीय प्रतिकुलता नभएता पनि निर्माण सामग्री उत्पादन गर्ने उद्योगमा ऋणात्मकताको अवस्था रहेको छ । नेपालको कुल पूँजी निर्माणमा करिब ८० प्रतिशत हिस्सा निजी क्षेत्रको छ । नेपाली अर्थतन्त्रलाई दुर्घटना हुनबाट बचाउनको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीनै किसिमका योजना बनाएर अघि बढ्न आवश्यक छ । जुन योजनाहरु नेपाल आफैले बनाउनु पर्ने हुन्छ । नेपाली अर्थतन्त्रले वास्तविक रुपमा परिवर्तन गर्न नसक्नुको प्रमुख कारण नै नेपालको माटो नचिनेका दाताले योजना बनाईदिनु हो ।

वैदेशिक तथा आन्तरिक गरी नेपालको कुल ऋण २० खर्बभन्दा बढी छ  । ४८ खर्बको राष्ट्रिय अर्थतन्त्र भएको मुलुकमा २० खर्ब त्यति ठूलो नभए ता पनि नेपाली शाशकको जीवनशैली तथा कार्य प्रणालीले देशमा आर्थिक संकट ल्याउनेमा विमती छैन् । श्रीलंकामा आर्थिक संकट आउनुको प्रमुख कारण बाह्य ऋणबाट नै हो । त्यसैले गर्दा नेपाली अर्थतन्त्रका बादशाहहरुले समयमा नै यस विषयमा निकै संयमित तथा संवेदनशील हुनुपर्छ । नेपालको अर्थतन्त्र कमजोर बनाउने कारक तत्व कोभिड तथा भ्रष्ट राजनैतिक तथा प्रशासनिक तन्त्रलाई लिन सकिन्छ ।

नेपाली अर्थतन्त्र यो शताब्दीकै कमजोर अवस्थामा छ यसका लागि गणतन्त्रको स्थापनापछि मौलाउँदै गएको भ्रष्टाचार तथा राजनैतिक सरकार नै प्रमुख जिम्मेवार छ । देशका अधिकाशं व्यवसायिक केन्द्रहरुमा व्यवसायिक तथा व्यापारिक प्रतिष्ठानहरुका गतिविधिहरु बन्द छन् । देश विकासका आधार युवाशक्तिहरु दैनिक सयौंको सङख्यामा विदेश उडिरहनु , महिना-महिनामा सरकार फेरिनु र पूर्व मन्त्रिहरुको सङख्या धेरै भई राज्यको साधारण खर्च बढ्दै जानु जस्ता तथ्यहरुले गर्दा नेपाली अर्थतन्त्र निकट महिनामा नै एम्बुसमा पर्ने निश्चित नै छ । यसबाट बच्नका लागि सरकारले हाम्रो अर्थतन्त्रलाई उत्पादनमा जोड्नु आवश्यकता रहन्छ । अर्थतन्त्रमा उत्पादनमूलक गतिविधिमा वृद्धि भई सिर्जना भएको पुँजीले मात्रै वास्तवीक तवरले अर्थतन्त्रलाई दुर्घटनाबाट बचाँउने सामाथ्र्यको विकास हुने गर्दछ ।

अन्त्यमा, वर्तमान समयमा नेतादेखि जनता सबैलाई छिटो भन्दा छिटो धनी बन्नु पर्दछ भन्ने धनोविज्ञानले मनोवैज्ञानिक रुपमा आक्रमण गरेको छ । जुन पूँजीवादको पछिल्लो भाईरस हो । यसको सञ्जाल घरायसी अर्थतन्त्रसम्म नराम्रोसँग फैलिएको छ । यसले नेपाल जस्ता विकासोन्मुख अर्थतन्त्रलाई उत्पादनका परियोजना आफ्नो देशको पुँजी र जनशक्तिबाट सञ्चालन हुन दिदैन । जसका ज्वलन्त उदाहरणहरु भनेका दाताको ऋण र अनुदान सहयोगमा निर्माण गरिएका जहाज नउड्ने विमानस्थल ,पहाडमा बनाएका भ्यू टावर , अनुदानका रुपमा कार्यकतालाई वितरण गरिएको पैँसा हुन् । यस्ता प्रकारका विगतका अभ्यासले नै नेपाली अर्थतन्त्र डुब्न लागेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।