ताजा अपडेट »

अक्सफोर्ड माविका विद्यार्थीलाई शुभकामना तथा सम्मान कार्यक्रम

शनिबार, ०४ चैत्र २०७९, १९ : २१
22 Shares

बुटवल । उत्कृष्ट शैक्षिक संस्थाको परिचय बनाउँदे गएको अक्सफोर्ड मावि बुटवलले विद्यालय तह पूरा गरि विश्व विद्यालय तह प्रवेश गर्न लागेका विद्यार्थीलाई शनिबार शुभकामना तथा सम्मान गरेको छ। कक्षा ११ का विद्यार्थीद्वारा आजोजना गरेको कार्यक्रममा कक्षा १२ को परीक्षामा सामेल हुने विद्यार्थीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय कलाकार तथा अक्सफोर्ड विद्यालयको गीतका गायककार प्रमोद खरेलले विभिन्न गीतहरूमा प्राध्यापक, विद्यार्थी तथा कर्मचारीलाई छमछमी नचाएका थिए । शुभकामना कार्यक्रममा खेल सप्ताह तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरूलाई सम्मान समेत गरिएको थियो । करिब ३५०० जना विद्यार्थी सहभागी कार्यक्रममा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरूले आ आफ्ना नृत्यहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड बुटवलका रोमाकान्त तिवारीले अक्सफोर्ड मावि राष्ट्रकै उत्कृष्ट विद्यालयको रूपमा पहिचान बनाउन सफल भएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि अझ उत्कृष्ट र सिर्जनात्मक बनाउने तर्फ लाग्न सम्पूर्ण व्यबस्थापन पक्षलाई अनुरोध गरे । विद्यालयका प्राचार्य दिनेश भुसालले विगत केही वर्षदेखि अक्सफोर्ड माविले राष्ट्रिय स्तरमा उत्कृष्ट रिजल्ट ल्याउन सफल भएको चर्चा गर्दै यसको गरिमालाई जोगाउन आफूहरू निरन्तर लागेको बताए । कक्षा १२ को परीक्षामा सम्मिलित विद्यार्थीले समेत यो गरिमा जोगाउन कटिबद्ध रहन आग्रह गरे ।

पुरस्कार वितरण तथा शुभकामना कार्यक्रममा बोल्दै प्राध्यापक सुमन भुसालले प्राध्यापक, विद्यार्थी तथा अभिभावकको मिहिनेतको कारण छोटो समयमै अक्सफोर्ड मावि राष्ट्रमै उत्कृष्ट बन्न सकेको उल्लेख गरे । संस्थाको गरिमालाई जोगाउन र संस्कार सहितको शिक्षालाई स्थापित गर्न तन, मन र वचनले लागेको भन्दै कक्षा १२ को परीक्षाको तयारी गरेका विद्यार्थीलाई शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गर्ने प्राध्यापकहरू महेश शर्मा, केशव भट्टराई, कृष्णप्रसाद पाण्डे, लक्ष्मण घिमिरे विष्णु बस्याल, विपत चौधरी, थानेश्वर भण्डारी, दिवाकर रेग्मी, प्रदिप ज्ञवाली, झविन्द्र मरासिनी, थानेश्वर भण्डारी, सन्जय मरासिनी, गोविन्द गौतम, राजकुमार पाण्डे, सुशील खनाल, विष्णु खनाल, अनिल न्यौपाने र बालकृष्ण प्रोखरेललाई दोसल्ला, मायाको चिनो तथा प्रमाणपत्रले सम्मान गरिएको थियोे ।

त्यस्तै १० वर्ष भन्दा लामो समय सेवा गर्ने प्राध्यापक रामेश्वर ज्योती, वीर बहादुर क्षेत्री तथा कर्मचारीहरू तेज बहादुर आले, विष्णु बहादुर सिंन्जाली र ज्ञान बहादुर थापालाई दोसल्ला, प्रमाणपत्र तथा मायाको चिनोले सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन प्राध्यापकद्वय विष्णु खनाल, वीर बहादुर क्षेत्री तथा विद्यार्थीद्वय प्रशान्न केसी, सुदीक्षा भट्टराई लगायतले गरेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक नारायण सापकोटाले कविता मार्फत विद्यार्थीलाई शुभकामना ब्यक्त गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।