ताजा अपडेट »

रुपन्देहीको दक्षिणी क्षेत्रमा विद्यार्थीको सिकाईमा ‘भाषा बाधक’

बुधबार, ०१ चैत्र २०७९, १७ : ४०
32 Shares

भैरहवा । मर्चवारी गाउँपालिकामा रहेको जनता माध्यमिक विद्यालयको कक्षा १० को विद्यार्थी हुन राम आशिष हरिजन । १० कक्षामा पढ्दै गरेका हरिजन धेरै समयपछि मात्र भकारीको अर्थ थाहा पाए । गाउँघरमा ‘डेहरी’ भन्ने लाई नै नेपाली भाषामा ‘भकारी’ भन्ने कुरा हरिजनलाई बुझ्न अलि समय नै लाग्यो ।

सोही विद्यालयका शिक्षक हुन सोम बहादुर गुरुङ्ग । पढाउने क्रममै उनले ‘उपियाँ’ को बारे भन्नु पर्ने भयो । शिक्षक गुरुङ्गले उपिया भन्दा विद्यार्थीले बुझेनन् ‘उपिया भनेको के हो सर ?’ एक जना विद्यार्थीले उठेर सोधिहाले । भोजपुरीमा पोख्त नभएका शिक्षक गुरुङ्गलाई पनि उपियालाई ठ्याक्कै के भन्ने भनेर अप्ठ्यारो पर्यो । उनले यसको लागि भोजपुरी भाषी अन्य शिक्षकबाट यसको उत्तर सोधेर बल्ल–बल्ल विद्यार्थीको चित्त बुझाए ।

रूपन्देहीको दक्षिणी क्षेत्रमा अध्ययन हुने प्राय विद्यालयहरूमा गुरुङ्ग जस्ता नेपाली भाषी शिक्षक र अधिकांश विद्यार्थीहरू बीच भाषिक समस्या आउने गरेको छ । शिक्षकले पढाएको विद्यार्थीले बुझ्दैनन् भने शिक्षकले पनि भाषिक ज्ञानको अभावमा विद्यार्थीलाई राम्ररी बुझाउन सकेका छैनन् । भाषागत रुपमा अध्यापनको क्रममा कठिनाई आउने गरेको गुरुङ्ग बताउछन् । ‘विद्यार्थी भाई बहिनीहरुले पूर्ण रुपमा नेपाली भाषा नबुझेको कारणले कठिनाई आउने गरेको छ ।’ उनि भन्छन् ‘जानी नजानी उनिहरुको भाषा प्रयोग गर्ने गरेको छु, माध्यमिक तहको सीप परीक्षामा स्थानीय भाषामा मूल्याङ्कन कार्य भएको भए भाषामा अलि सहजता आउने थियो ।’

बालबालिकाको पहिलो पाठशाला घर भएको र उनिहरू घरमा पहिलो भाषा एवम् मातृभाषाको रूपमा भोजपुरी अथवा अवधी भाषा बोल्ने गर्दछन् । भोजपुरी र अवधी भाषा सिकेका बालबालिकाहरू विद्यालयमा अध्ययनका लागि जाँदा उनिहरूले नेपाली भाषा नै बुझ्दैनन् । भाषा नबुझ्दा अध्यापन गर्ने र गराउने दुबैलाई असहजता आउने गरेको छ । शिक्षामा भाषाको प्रयोगले केन्द्रीय महत्व राख्छ । नेपाली परिवेशमा विद्यालय जाने बालक कम्तीमा तीनवटा भाषाबाट गुज्रीएको हुन्छ घरको भाषा, समुदायको भाषा र विद्यालयको भाषा । घरको भाषा उसको मातृभाषा हो । यो विद्यालयको भाषा नहुन सक्छ ।

रुपन्देहीकै रामनरेश माध्यमिक विद्यालयका शिक्षक ईन्द्रकुमार यादवले विद्यालयमा नेपाली भाषा दोश्रो भाषाको रूपमा अध्यापन गराईने गरेको बताउछन् । यादवले विद्यार्थीहरूलाई पहिला नेपालीमा विषय बस्तु पढाइने र त्यसपछि शब्दहरूलाई भोजपुरीमा उल्था गरेर विद्यार्थीहरूलाई बुझाउने गरेको बताउछन् । ‘अझ अंग्रेजी विषय त झन कठिन छ’ यादवले भने, ‘अंग्रेजी पढाउदा शुरुमा अंग्रेजी–नेपाली हुदै भोजपुरीमा बुझाउनु पर्छ ।’

विशेष गरि ५ कक्षासम्मका विद्यार्थीलाई भोजपुरीमा उल्था गरेर पढाउनु परेको र त्यसपछि मात्र विद्यार्थीले नेपाली सिक्ने गरेको शिक्षकहरूको भनाई छ । आधारभूत तहमा मातृभाषामै अध्ययन अध्यापन गराउने स्थानीय तहहरुलाई अधिकार भए पनि रुपन्देहीका अधिकांश स्थानीय तहमा यो ब्यवस्था लागु हुन सकेको छैन । साविकको प्राथमिक तहसम्म मातृभाषामा अध्ययन गर्न पाउने शिक्षा व्यवस्था रहे पनि सो अनुसारको पाठ्यपुस्तक उपलब्ध नभएको कारण बालबालिकाले विद्यालयमा कठिनाई भोग्नुपरेको शिक्षकहरू बताउँछन । मातृभाषा भोजपुरी भएका शिक्षक भए त ठिकै छ यदि नेपाली भाषी शिक्षक भए विद्यार्थी र शिक्षक दुबैलाई गाह्रो हुने गरेको असुरैना माध्यमिक विद्यालयका शेषनाथ कुर्मी बताउछन् । दक्षिणी भेगमा विद्यार्थीहरू नेपाली भाषी विद्यार्थी भन्दा तुलनात्मक रूपमा कमजोर देखिनुमा भाषा मुख्य समस्या रहेको कुर्मीकोे ठम्याई छ ।

गाह्रो गरि बल्ल–बल्ल नेपाली भाषा जानेका दक्षिणी क्षेत्रका विद्यार्थी नेपाली भाषी विद्यार्थीको अनुपातमा कम उत्तिर्ण हुने गरेको उनको भनाई छ । यसले विद्यार्थीको सिकाइमा समेत दुरगामी असर गरेको कुर्मी बताउछन् । जनता माध्यमिक विद्यालयका विज्ञान विषयका शिक्षक बिजय शंकर त्रिपाठी राज महेन्द्र रायले त कतिपय नेपाली शब्दहरूका शाब्दिक अर्थ आफुहरुलाई पनि थाहा नभएको बताउछन् । “स्थानिय परिवेश अनुसार हाम्रो पाठ्यक्रममा ब्यवहारिक कुराहरु नमिल्दो रहेको छ ।” उदाहरण दिदै उनि भन्छन् ‘तपाईहरुले लाँली गुराँस देख्नुभएको होला भन्ने पाठ्यक्रममा हुन्छ तर लाँलीगुराँस बिद्यार्थीहरुले देखेकै हुदैनन् ।’ पाठ्यक्रममा भएका कुनै कुनै सन्दर्भहरु कुनै एक भुगोल वा समुदाय बिशेषलाई जोडिएर आएकोले गाहे्र हुने गरेको उनको भनाई छ । भोजपुरी मातृभाषा भएको विद्यार्थीले नेपाली व्याकरण कसरी राम्रो गर्ला र उसले अन्य विद्यार्थी सित प्रतिस्पर्धा गर्ने यो अहिलेसम्म सरकारी निकायले बुझ्न नसकेको उनको भनाई छ ।

प्राथमिक विद्यालय तह देखी उच्च तह हुदै विद्यार्थीले परिक्षा दिने निकायहरूले पनि मातृभाषामै परिक्षा लिई दिने व्यवस्था मिलाए मात्र भोजपुरी र अवधि भाषी विद्यार्थीहरू अन्य विद्यार्थीहरू सित प्रतिस्पर्धा गर्न सक्ने स्तरको हुने शिक्षकहरूको साझा भनाई छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा