ताजा अपडेट »

फागुनको पहिलो साता दाेस्राे भक्तपुर कप खुला फुटबल

मंगलबार, १० माघ २०७९, १६ : ३३
25 Shares

भक्तपुर । फागुनको पहिलो साता भक्तपुरमा दाेस्राे भक्तपुर कप खुला फुटबल प्रतियोगिता हुने भएको छ । फागुन ५ गतेदेखि १३ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

आयोजक भक्तपुर युवा टिमले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुने जानकारी गराएको हो । पहिलो संस्करणको सफलतासँगै भक्तपुर युवा टिमले प्रतियोगिताको दोस्रो संस्करण  आयोजना गर्ने जानकारी गराएको छ ।

प्रतियोगिताका खेल महेश्वरी खेल मैदान भक्तपुरमा सञ्चालन गरिनेछ । प्रतियोगिताको विजेताले  १ लाख २५ हजार र उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछ । 

भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानाबासुले भक्तपुरमा फुटबलमय वातावरण सिर्जना गर्ने उद्देश्यअनुरुप दोस्रो संस्करणको प्रतियोगिता गर्ने निष्कर्षमा आयोजक टिम पुगेको बताए । उनले प्रतियोगितालाई सफल बनाउन गत वर्ष जस्तै सबै क्षेत्रबाट सहयोगको अपेक्षा रहेको उल्लेख गरे।

सम्मेलनमा भक्तपुर खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, आयोजक टिमका संस्थापक एवं सल्लाहकार विश्वराम कवां, सचिव रामेश्वर मचामसीलगायतले प्रतियोगिताका विविध पक्षमा चर्चा गरे ।

भक्तपुरको खेलकुद र सामाजिक कार्यलाई प्रभावकारी बनाउन मित्रता अनुशाशन र स्वास्थको लागि खेलकुद भन्ने नाराका साथ भक्तपुर युवा टिम २०५० सालमा गठन भएको थियो । टिमले गतवर्ष २०७८ फागुन ६ देखि १४ सम्म खुल्ला भक्तपुर कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।