ताजा अपडेट »

बजारमा नक्कली मल, 'ग्रीन च्यानलमा' राखेर पास गर्दै भैरहवा भन्सार

विहीबार, २२ मंसिर २०७९, १८ : १२
16 Shares

भैरहवा । भैरहवा भन्सार कार्यालयले पास गरेको बस्तु रुपन्देही प्रहरीले रोकेको छ । मंसिर १८ गते भैरहवा भन्सार कार्यालयले “जिप्सम ग्रयानुअल्स” भन्दै पास गरेको वस्तु प्रहरीले पहिचान नभएको भन्दै नियन्त्रणमा लिएको हो ।

मंसिर १८ गते रुपन्देही प्रहरीले भैरहवा बसपार्क नजिकै चेकजाँचको क्रममा शंका लागे पछि भन्सार बाट पास भएको भारतीय नम्बर प्लेटको ट्रक युपि ५६ टि २७८५ लाई रोकेको थियो । ट्रकमा कुनै पनि प्रकारको लेबल नरहेको पाँच सय सेतो बोरामा पहिचान नभएको वस्तु (डिएपी मल जस्तै देखिने) लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी बेद पौडेलले जानकारी दिए । ट्रकमै “भूमि शक्ति” लेखेको ४ सय ५० थान खाली नया बोरा पनि बरामद भएको उनले बताए ।

मलको अभाव भई रहेको अवश्थामा भैरहवा तथा यस आसपासमा भारतीय बोरामा नक्कली मल बिक्रि बितरण भई रहेको रुपन्देही प्रहरीलाई उजुरी आएको थियो । “कमसल खालको यस्तो मल बिक्रेताहरुले उच्च मूल्य लिई बिक्रि गर्दै आएको प्रहरीलाई जानकारी आएको थियो ।” पौडेलले भने “बरामद भएको समान शंकास्पद मल जस्तै देखिएको छ ।” उनले बरामद भएको बस्तुको नमूना कृषि ज्ञान केन्द्र भैरहवाको सहयोगमा प्रदेश स्तरिय कृषि प्रयोगशालामा पठाईएको बताए । “अहिले अनुसन्धानकै क्रममा रहेका छौं ।” उनले भने “प्रयोगशालाबाट आएको प्रतिवेदनको आधारमा अगाडी बढ्नेछौं ।”

प्रहरीले बरामद गरेको बोराहरुमा उक्त सामाग्रीबारे जानकारी दिनु कुनै पनि जानकारी छैन । केही नलेखिएको सेतो बोरा र त्यस भित्र खैरो कालो रङ्गको पहिचान नभएको बस्तु रहेको प्रहरी निरिक्षक पौडेलल बताए । “जिप्सम ग्रयानुअल्स” भनेको मल हो भने कृषि मन्त्रालयले सो को आयात गर्न स्विकृति प्रदान गरेको÷नगरेको त्यो पनि खुल्न सकेको छैन । आयातकर्ताले कहिले घर बनाउने जिप्सन बोर्डको कच्चा पदार्थ रहेको र कहिले कृषि जन्य मल रहेको बताउदै आएकोले पनि प्रहरीले शंका गर्ने ठाउ रहेको उनको भनाई छ ।

प्रज्ञापन नम्बर एम११५७८९ बाट भन्सार पास भएको उक्त बस्तु भारत नौतनवाको श्रीवास्तव ट्रान्सपोर्टले पठाएको हो । नेपालमा ओम गंगा ट्रेडर्स एण्ड सप्लायर्स बेलहिया मार्फत आयात भएको समानको क्लियरिङ सञ्जय क्लियरिङ एजेन्टबाट भएको छ । प्रति बोरा १ सय ५० रुपैया मूल्यांकन गरि भैरहवा भन्सार कार्यालयले ५ प्रतिशत भन्सार शुल्क र मूल्य अभिवृद्धि कर सहित २५ हजार ५ सय ३८ रुपैया राजस्व असुल गरेको छ ।

भैरहवा भन्सार कार्यालयले उक्त बस्तु “जिप्सम ग्रयानुअल्स” भन्दै ग्रीन च्यानलबाट जाँचपास गरेको छ । भन्सारमा ग्रीन च्यानल, एलो चयानल र रेड च्यानलबाट समान जाँचपास हुने गरेको छ । ग्रीन च्यानल भनेको आयात गरिने समान र त्यस संग सम्बन्धित कागजात पनि हेर्न आवश्यक नरहेको भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत लक्ष्मण ढुंगानाको भनाई छ । “ग्राहकको स्वघोषणाको आधारमा राजस्व लिने गरिन्छ ।” ढुंगानाले भने “ यस्तो अवश्थामा ट्रकमा के सामाग्री छ?, लेबल छ छैन लगायतको चेकजाँच गर्नु पर्दैन ।”

भन्सारबाट पास भएको समानलाई प्रहरीले रोक्ने अधिकार नरहेको भन्सार अधिकृत ढुंगानाको जिकिर छ । उनले प्रहरीले रोके पनि त्यसलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान वा भन्सार कार्यालयमा बुझाउनु पर्ने प्रावधान रहे पनि प्रहरीले आफै अनुसन्धान गरेको गुनासो गरे ।

भैरहवा भन्सार कार्यालयबाट केही बर्ष अघि पनि प्रज्ञापन पत्रमा कम मूल्यको सामाग्री देखाई समान पास गर्ने भई रहेको थियो । क्लियरिङ एजेन्ट र भन्सार कार्यालयकै सेटिङ्गमा संस्थागत तस्करी हुने गरेको आरोप समय समयमा लाग्ने गरेको छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा