ताजा अपडेट »

दाइजो चाहिँदैन असल बुहारी भए पुग्छ !

बुधबार, २१ मंसिर २०७९, १९ : ३०
64 Shares

‘आजदेखि हजुरकी छोरी हाम्री छोरी हुन । यिनी हाम्रो घरकी लक्ष्मी हुन् । हामीलाई चाहिएको असल बुहारी हो । दाइजो केही पनि दिनुपर्दैन ।’-यो सुन्दा खुशीले दङ्ग हुन्छ छोरीका आमाबाबुको मन । छोरी राम्रो घरमा पर्ने भइन् भनेर अनुहारमा एक किसिमको आनन्द देखिन्छ । बिहेको दिन निश्चित भयो फूलमालाको विधि पनि सम्पन्न भयो । औँठी साटासाटसँगै एउटा सानो बिवाह उम्कियो । अब शुरु भयो बिवाहको तयारी ।

कुराकानीकै क्रममा सम्धी–सम्धी बीच छलफल हुन्छ । केटाको बाबुले भन्नुहुन्छ-‘धेरै दुःखले पाँच बहिनी छोरी मुनि जन्मिएको छोरा हो, हजुर हाम्रो इज्जत राखिदिनु होला । सबैलाई यसको बिहेको ठूलो रहर छ । सुनको टुक्राको जस्तै माया गर्छन् यसलाई सबैले । केही पर्दैन जन्ती छुटाउनै नहुने १००/१५० भन्दा धेरै हुँदैनन् । बाजा पनि ल्याउनु पर्यो । एउटा छोरा हो जन्तीलाई राम्रो गरिदिनु होला ।’ केटीका आमा-बुवालाई पनि कुरा राम्रै लाग्यो इज्जत ठूलो रहेछ भन्ने भो ।

बोल्ने कुरै भएन । फेरि केटीकी आमाले कुरा थपिन पाँच बहिनी मुनीको भाइ, दिदी–बहिनी ज्यानै दिन्छन् भाइ भनेपछि छोरी जुवाइ र भान्जा-भान्जीलाई पनि राम्रै गरिदिनुहोला । हामी ‘बा’हरु चार भाइ छम् आमाहरु पनि भैहाले दाइभाइ र बुहारीहरुलाई पनि छुटाउन भएन चित्त दुखाउछन् । एक्लो बिवाह हो सबैको रहर मामा दुई भाइ माइजू पनि भैहाले । मैले खाइनखाइ हुर्काएको छोरो हो हजुर, भनेर केटाकी आमा भक्कानिन् । यो देखेर केटीकी आमालाई पनि कटक्क मन भो ।

छोरीको बिवाह आमाबाबुको लागि एउटा ठूलो जिम्मेवारीको कुरा हुन्छ । आफ्नी प्राण भन्दा प्यारी छोरीलाई अरुको घरमा दिँदा कस्तो व्यवहार हुने हो ? भन्ने डर नै आमा बाबुको मुख्य कमजोरी भैदिन्छ । बाबुको शिक्षकको जागिर । बीस वर्ष जागीर खाए पनि खान बस्न ठिक्क । बचतको नाममा अलिकति सन्चय कोषको रकम थियो । यो पनि छोराछोरीको पढाइको लागि चुड्दा चुड्दै केही रकम मात्रै बाँकी छ । त्यसैबाट बिहेखर्च जुटाउनुपर्छ । केटातिरकाले पनि धेरै त मागेका होइनन् । इज्जत त राखिदिनै पर्यो बडो असमानजस्यको स्थिति आइलाग्यो घर खान्दान राम्रो छ । बिहेको तयारी खर्च हिसाब गर्न एउटा कापी कलम लिएर बसे केटीका बुवा । आमा पनि छेउमै बसिन ।

केटालाई शिरपाउ, औँठी, सिक्री एक तोलाभन्दा सानो त हेर्नै नहुने हुन्छ । केटाकी आमालाई शिरपाउ, माइली तिलहरी, मुखदेखाउने सारी, सम्धी भेट । बालाई शिरपाउ । औँठी आधा तोलाको त दिनैपर्यो । ५ दिदीबहिनीलाई केही दिन नसके पनि ५ वटा चन्द्रमा र सारी त दिनुपर्यो । ससुराहरु सासुहरु, भान्जाभान्जी जुवाइ छोराछोरी सबै गरेर कपडा दिनुपर्ने ४५ जना देखिए । जन्तीलाई ५ सयभन्दा कम त राख्न भएन खान्दानी इज्जतको कुरा छ । भोज पनि राम्रो गर्नुपर्यो सजावट पनि राम्रो गर्नुपर्यो । यसरी टिप्दै जादा लामो लिस्ट तयार भो, बजेट पनि धेरै नै माथी गयो छोरीका बा आमा रातभर निदाउन सकेनन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।