ताजा अपडेट »

अन्तर-विद्यालय क्रिकेटः काशी नोबल र शान्ति नमूना विजयी

मंगलबार, २० मंसिर २०७९, १८ : १६
28 Shares

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तर-विद्यालय स्तरीय टी-२० क्रिकेट प्रतियोगिता अन्तरगत मंगलबारको खेलमा काशी नोबल एकेडेमी भैरहवा र शान्ति नमूना मावि मणिग्राम विजयी भएका छन् । काशी नोबलले नव ज्योति इङ्गलिस बोर्डिङ स्कूल मणिग्रामलाई ५ विकेट र शान्ति नमूनाले देवदह बुद्ध माविलाई ५६ रनले पराजित गरेको हो ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा नवज्योतिबाट १ सय २१ रनको लक्ष्य पाएकोे काशी नोबलले १८ दशमलव २ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै जित निकाल्यो । उसको जितमा सोनम लामाले नटआउट ३१, सुप्रित घिमिरेले १८ र सक्षम कार्कीले १८ रनको योगदान दिए ।  बलिङमा नवज्योतिका खड्कबहादुर बस्नेतले ३ र शिव कुँवरले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नवज्योतिले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १ सय २० रन बनाएको थियो । उसका लागि शिव कुँवरले ६५ र लक्ष्मण घिमिरेले १२ रन बनाए । बलिङमा काशी नोबलका सुप्रित घिमिरेले ४, सुजन रानाभाटले ३ र संदिप रोकाले १ विकेट लिए । 

यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको शान्ति नमूनाले निर्धारित खेलमा ६ विकेटको क्षतिमा १ सय १६ रनको योगफल बनायो । उसका लागि स्वस्तिक पराजुलीले २१, सन्देश भण्डारीले २०, विवश क्षेत्रीले नटआउट १६ र सागर भण्डारीले १५ रन बनाए । बलिङमा देवदहका कृष केसीले ४, रोशन कुँवर र सुरज खड्काले समान १-१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको देवदह १ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ६० रनमै समेटियो । उसका लागि आयुष ठडराईले १७ र आकाश न्यौपानेले १२ रन बनाए पनि अन्य ब्याट्रले दोहोरो अंक जोड्न सकेनन् । देवदहलाई सस्तैमा समेट्न शान्ति नमूनाका आशुतोष पाण्डेले ५, स्वस्तिक पराजुलीले २  तथा रुविन पराजुली र सागर भण्डारीले समान १-१ विकेट लिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।