ताजा अपडेट »

भैरहवामा अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता सुरु

आइतबार, १८ मंसिर २०७९, १६ : १४
37 Shares

भैरहवा । रुपन्देहीको भैरहवामा आइतबारदेखि स्वर्गिय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तर–विद्यालय टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा सुरु प्रतियोगिताको उद्घाटन खेलमा एभरेष्ट बोर्डिङ स्कूल बुटवलले साइ ग्लोबल एकेडेमीलाई ९ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

भैरहवा स्थित सिद्धार्थ क्रिकेट मैदानामा टस जितेर ब्याटिङ गरेको साइ ग्लोबलले निर्धारित खेलमा ९ ओभरमा सबै विकेट गुमाउँदै ५९ रन जोड्यो । उसका लागि मोहम्द हुसेनले २० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । साई ग्लोबललाई सस्तैमा रोक्न एभरेष्टका रोजन रेग्मीले ४, कुशल अर्यालले ३ र शौरभ भण्डारीले १ विकेट लिए । जवाफी ब्याटिङ गरेको एभरेष्टले ६ ओभरमै १ विकेटको क्षतिमा ६० रन जोड्दै जित निकाल्यो । एभरेष्टको जितमा चाल्स भट्टराईले १५ र सन्देश थापाले ८ रन बनाए । बलिङमा साइ ग्लोबलका निर्वाण क्षेत्रीले १ विकेट लिए । एभरेष्टका रोजन रेग्मी म्यान अफ द म्याच भई ५ सय रुपैयाँबाट पुरस्कृत भए ।

लामो समयदेखि रुपन्देही क्रिकेट संघले संचालन गर्दै आएको यो प्रतियोगिता पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण रोकिएको थियो । यसपटक महामारी कम भएकाले पुनः प्रतियोगिता सुरु गरिएको संघका अध्यक्ष हरिबहादुर थापाले बताए । प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए । उनका अनुसार उपबिजेता टिमलाई नगद १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने छ । यस्तै, म्यान अफ द सिरिजलाई ५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई दुई हजार ५ सय, प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ सय रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताको अन्तिममा अनुशासित खेल प्रदर्शन गर्ने एक टिमलाई पनि पुरस्कृत गरिने छ ।

यस अघि प्रतियोगिता उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँनले खेल क्षेत्रको विकासमा नगरपालिकाले सधैं हातेमालो गर्ने प्रतिवद्धता जनाए । उनले खेलले राष्ट्रलाई चिनाउने जनाउँदै क्रिकेटलाई प्राथकिता दिएर नगरपालिका अघि बढ्ने जिकिर गरे । खानले अनुशासित भएर खेल खेल्न खेलाडीहरुलाई आग्रह गरे । निजी र संस्थागत गरी १३ विद्यालय सहभागी प्रतियोगिता मंसिर २४ गतेसम्म संचालन हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।