ताजा अपडेट »

रुपन्देहीमा घर बनाईदिने प्रलोभनमा लाखौँ ठगि गरी फरार

आइतबार, १८ मंसिर २०७९, १६ : १२

भैरहवा । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार भौतिक पूर्वाधार मात्र नभई सामाजिक एवम शैक्षिक विकासको दृष्टिले पनि जिल्लाकै पिछडीएको क्षेत्र हो । गरिब र सोझा रहेका यहाका बासिन्दालाई फकाउदै ठगि गर्नेहरु बढ्दै गईरहेका छन् । मर्चवारमा माछापुच्छ«े बैंकले गरेको ठगि सेलाउन नपाउदै पुनः अर्को घटना बाहिर आएको छ ।

सोझा साझा स्थानीयहरुलाई एक युवाले घर बनाईदिन्छु भन्दै लाखौँको ठगि गरेका छन् । बिदेशी दाताहरुबाट सहयोग लिई घर बनाईदिने आश्वासन दिदै रजिष्ट्रेशनको लागि लाखौ असुल गरि अहिले ती युवा फरार रहेका छन् । रकम दिएर घर निर्माणको आशमा रहेका मर्चवार तथा लुम्बिनीका स्थानियहरु अहिले आफ्नो रकम फिर्ता दिलाउन प्रशासनिक निकायहरु धाईरहेका छन् । सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ बस्ने मकसुद मुसलमानले कोटहीमाई, सम्मरीमाई तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाका एक सय भन्दा बढी स्थानियहरुलाई ठगि गरेको भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा उजुरी परेको छ ।

मर्चवारमा अतिविपन्न केही परिवारलाई खाडी मुलुकका संघ संस्थाले हैण्डपाईप, सामान्य घर निर्माण लगायतमा सहयोग गर्दै आएका थिए । अत्यन्तै वाचाल रहेको मकसुदले त्यहि घरहरु आफुले बनाई दिएको बताउदै गरिबहरुलाई ठगि गरेका छन् । मर्चवारको भैसागाहन बस्ने उनि आफ्नो छेउछाउका गाउँहरुमा घर बनाईदिने भन्दै विपन्न परिवारलाई आश्वासन दिन्थे र फर्म भर्नु पर्ने भन्दै रकम माग गर्दथे । उनले फर्म भर्न र अन्य प्रक्रियाका लागि भन्दै १ लाख ५५ हजार सम्मको रकम लिने गरेको पिडितहरुले बताएका छन् ।

कोटहीमाई गाउँपालिका वडा नम्बर १ सिपवा बस्ने जमिरुन निसाको ९ जनाको परिवार एउटै कोठामा गुजारा गरिरहेको थियो । दैनिक जसो टोलमा आउने मकसुदको प्रलोभनमा उनि परिन र घर बन्ने आशमा कृषि बिकास बैंकबाट १ लाख ८ हजार रुपैया कर्जा लिएर मकसुदलाई बुझाइन् । रकम बुझाए पछि नै मकसुद सम्पर्कमा नआएको जमिरुनको गुनासो छ । दैनिक ज्यालादारी गरि खाने उनको परिवारलाई अहिले बैंकको ब्याजले पिरोलेको छ ।

टीनको घरमा बासोबास गर्दै आएको निजको परिवारको लागि ४ कोठे पक्की घर बनाइदिने भनी रकम लिएको उनले बताईन । “६ महिना वितिसक्दा न घर बन्यो न पैसा फिर्ता पाए ।” उनले भनिन “मकसुदले कहिले काहि आफै फोन गरेर कहिले रकम फिर्ता गर्न भन्दछन कहिले घर बनाइदिने भन्दछन तर अहिले सम्म आफैले भनेको कार्यान्वयन गरेका छैनन ।” रकम लिएको कुनै रसीद वा कागज समेत नपाएको जमिरुनको भनाई छ ।

कोटहीमाई गाउँपालिका वडा नम्बर १ कै परस्पुर बस्ने ८० वर्षिय मंहगु हरिजन र उनको श्रीमति सिंगारी हरिजनले ज्येष्ठ नागरिक भत्ताबाट पाएको रकम औषधी उपचारका लागि जम्मा गरेका थिए । खरको दिवाल र खरकै छानो रहेको उनिहरुको घर बर्षायाममा बस्नै नसक्ने छ । मकसुदले उनिहरुको पनि घर बनाई दिने आश्वासन दिए, घर बन्ने प्रलोभनमा जेनतेन जम्मा गरेको ५४ हजार रुपैया पनि मकसुदले ठगेको उनले गुनासो गरिन ।

“छोराछोरी सबै छन तर सबै अलग अलग छन्, कसैले हाम्रो रेखदेख गर्दैनन् । जेनतेन ५४ हजार जम्मा गरेका थियौ अब त्यो पनि छैन ।” सिंगारीले भनिन “जसरी पनि हाम्रो पैसा फिर्ता दिलाईदिनुस ।” मकसुदले रकम, नागरिकताको प्रतिलिपि र फोटो संकलन गर्न तथा जग्गा नापजाँच गर्न अस्थायी कर्मचारी समेत राखेका थिए । एक कर्मचारीलाई दैनिक १ हजार ज्याला तथा ५ सय चियानास्ता खर्च तोकिएको थियो । कर्मचारीलाई “गरीबी निर्माणको सहयोगता” नामक संस्थाको परिचय पत्र समेत दिएका थिए ।

मकसुदको प्रलोभनमा पर्नेको सुचि लामै रहेको छ । ठगिमा परेको पिडितहरुले जिल्ला प्रशासन कार्यालयमा कार्तिक २१ गते नै यस बारे उजुरी दिएका छन् । सोही दिन जिल्ला प्रशासन कार्यालयले सक्कलै निवेदन जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ईलाका प्रहरी कार्यालय मर्चवारलाई निज मकसुदलाई जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न पठाई दिनका लागि पत्र काटेको छ ।
प्रक्रियामा गए पनि न्याय नपाएको पिडितहरुको आरोप रहेको छ । “२२ गते पत्र आए पनि प्रहरी मकसुदलाई पक्राउ गर्न तदारुकता देखाएको छैन ।” निवेदक प्रेमलाल कोहारले भने “मकसुद बिदेश भाग्ने तरखरमा छन्, हाम्रा लाखौ ठगि भए पनि प्रहरीले यसमा चासो दिएन ।”

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १० महिलवारका प्रेमलाल कोहार, माया कुर्मी, गुडिया लोध र गीता हरिजनले संयुक्त निवेदन दिएका छन् । पक्की घरको आशमा ऋण लिएर मकसुदलाई जनही १ लाख ५५ हजार दिएको निवेदकहरुको भनाई छ । यस बिषयमा ईलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख, प्रहरी निरिक्षक तेज बहादुर खत्रीलाई सम्पर्क गर्दा उनले पटक पटक प्रहरी मकसुदको घर पठाउदा पनि उनि फेला पर्न नसकेको बताए । यस बिषयमा प्रतिक्रिया लिन मकसुद मुसलमानलाई पटक पटक सम्पर्क गर्ने प्रयास गर्दा पनि प्रयास सफल हुन सकेन् । मकसुदले अहिले प्रयोग गर्ने मोबाईल फोन स्विच अफ रहेको छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा