ताजा अपडेट »

सम्पादक कंडेलको स्मृतीमा दीप प्रज्वलन

बुधबार, १४ मंसिर २०७९, २१ : ०१
6 Shares

बुटवल । सवारी दुर्घटनामा परी ज्यान गुमाएका ग्लोबल आवाज डटकमका सम्पादक स्व. एन. बी. कंडेलको १३ औं दिनको पुण्य तिथीमा बुधबार दीप प्रज्वलन गरिएको छ । मंसिर २ गते रुपन्देहीको तिलोत्तमा-२ जानकिनगरमा उनी सवार मोटरसाइकललाई ट्रकको ठक्करबाट दुर्घटना भई कंडेलको मृत्यु भएको थियो । दुर्घटना स्थलमै ट्राफिक सचेतनासहित दिवंगत आत्माको शान्तिको कामना गर्दै ३६५ वटा दीप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले सम्पादक कंडेलप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले ट्राफिक असावधानिका कारण धेरैले अङ्गभङ्ग तथा ज्यान गुमाउनु परेका दुःखद समाचारहरु लेख्नु पर्ने अवस्थाको अन्त्यका लागि सबै सचेत रहनु पर्ने आवश्यक रहेको बताए । यसैगरी लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका वरिष्ठ सई हुमानन्द खनालले ट्राफिक नियमको सबैले पालना गर्नु पर्ने बताउँदै सम्पूर्ण सञ्चार जगतले सचेतनाका लागि सहयोग र सहकार्यका लागि आग्रह गरे । दीप प्रज्वलनसँगै श्रद्धाञ्जली सभामा बोल्दै ग्लोबल आवाज डटकमका प्रवन्ध सम्पादक गौतम भूसालले सवारी दुर्घटनामा अपूरणीय क्षति हुनेगरि सम्पादक कंडेललाई गुमाउनु पर्ने पीडाले संस्था स्तब्ध भएको उल्लेख गरे । शोकलाई शक्तिमा बदलेर अघि बढ्नु पर्ने बाध्यता रहेको बताउँदै उनले ग्लोबल आवाजलाई आगामी दिनमा स्व. कंडेलले देखाएको निष्पक्ष र निस्वार्थ कर्मको मर्म अनुसार अघि बढाउने  प्रतिवद्धता व्यक्त गरे ।

ग्लोबल आवाजकी निर्देशक सृष्टि अधिकारी, प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्षमण पौडेल, प्रेस यूनियन रुपन्देहीका सभापति रेखा भुसाल, प्रगतिशिल पत्रकार संघका अध्यक्ष स्याम पोखरेल लगायतले सडक दुर्घटना न्युनिकरणका लागि सबैको पहल आवश्यक रहेको बताए ।  सडक दुर्घटनाका कारण सञ्चार जगतले होनहार तथा कर्मनिष्ठ सञ्चारकर्मी गुमाउनु परेकोप्रति दुःख व्यक्त गर्दै ट्राफिक नियमको पालना र सचेतनामा सहभागी गएर नै मृत आत्माप्रति सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरे ।

स्वर्गीय कंडेल करिब डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा आवद्ध थिए । ग्लोबल आवाजको संस्थापक सम्पादक कंडेलका श्रीमती, एक छोरा र छोरी रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।