ताजा अपडेट »

भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर

बुधबार, १४ मंसिर २०७९, १६ : २५
8 Shares

काठमाण्डौं । शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, दाङका तत्कालीन कार्यालय प्रमुख डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पाण्डे, इन्जिनियर, निर्माण समितिका अध्यक्षसमेत ६ जना उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
 
उनीहरूविरुद्ध सल्यानको त्रिवेणी गाउँपालिका–१ मा रहेको रिखेबगर–गैरीकटेरी–बाघमारे मोटरबाटो स्तरोन्नतिका लागि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, दाङ घोराहीबाट रकम विनियोजन भएकोमा प्राविधिक र निर्माण समितिका अध्यक्षसमेतको मिलेमतोमा आफू अनुकुल इष्टिमेट चेन्ज गरी सडक निर्माणको रकम हिनामिना गरेको भन्ने उजुरी परेको थियो ।

निवेदनमाथि अनुसन्धान हुँदा डिभिजन कार्यालय, दाङका तत्कालीन कार्यालय प्रमुख डिभिजनल इन्जिनियर पाण्डे¸ तत्कालिन इन्जिनियर सन्तोषकुमार यादव¸ तत्कालिी सब इन्जिनियर नारायण ओलीसमेतले सडक निर्माण उपभोक्ता समितिसँग भएको सम्झौताको शर्त र स्वीकृत लागत अनुमान विपरित भेरिएसन स्वीकृत नगरी बदनियतपूर्वक जथाभावी निर्माण गरेको फेला परेको हो ।

आफूखुसी मूल्याङ्‍कन बिल, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई योजनाको स्वीकृत लागत अनुमान अर्थात डिजाइन विपरित उपभोक्ता समितिलाई ४३ लाख २२ हजार एक सय ५५ रुपैयाँ बढी भुक्तानी दिई सरकारलाई हानिनोक्सानी पुर्‍याईको पाइएको अख्तियारले जनाएको छ  । उनीहरूबाट बिगो ४३ लाख २२ हजार एक सय ५५ रुपैयाँ बिगोबमोजिम जरिमान र सजायको अख्तियारले माग गरेको छ ।

साथै, रिखेबगर, गैरीकटेरी, बाघमारे दाङ्ग सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मनबहादुर खत्री, कोषाध्यक्ष शोभाकुमारी खत्री, सचिव लालबहादुर केसी समेतले सम्झौताविपरित काम गरेको र आवश्यकताभन्दा बढी भुक्तानी दिएको आरोपमा मुद्दा दायर गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।