ताजा अपडेट »

हार्दिक श्रद्धाञ्जली एन.बी. जी !

बुधबार, १४ मंसिर २०७९, ०९ : ०९
64 Shares

हिजो जस्तै लाग्छ, चिनेको, भेटेको र सहकार्यमा जोडएिको । करिब आधा दशकको छोटो अवधिमा पनि एन.बी. जीसँग मेरा अनेकौ औपचारिक र अनौपचारिक स्मरणहरु रहेका छन् । हामी व्यवसायिक सहयात्रीका रुपमा, सम्पादक र सञ्चालकको रुपमा र त्योभन्दा पनि गहिरो पारिवारिक र आत्मीय मित्रका रुपमा । सहयात्राको छोटो अवधिमा पनि मैले फरक–फरक ढँगले उहाँलाई अनुभूत गर्न पाए । करिब १५ वर्ष आगाडि पोखराबाट बुटवल फर्किएसँगै पश्चिम नेपालमै पहिलो पटक बुटवलबाट ग्लोबल मिडिया सलुसन मार्फत व्यवसायिक रुपमा विज्ञापन एजेन्सीको काममा जोडीएको थिए । विज्ञापन एजेन्सीको सञ्चालक भएकै कारण राष्ट्रिय तथा स्थानीय मिडियाहरुसँग सहकार्यको अवसर मैले पनि यहाँ पाएको थिए । बुटवलका स्थानीय मिडियाका संचालक, प्रकाशक, सम्पादक तथा आवद्ध सञ्चारकर्मी साथीहरुसँग मेरो पनि चिनजान र सहकार्यको क्रम चलिरहेकै थियो । विज्ञापन एजेन्सीको काम पनि बिस्तारै गति लिइरहेको थियो । यही क्रममै मेलै पहिलो पटक एन.बी.जीलाई बुटवलमा भेटेको थिए ।

विभिन्न सञ्चार माध्यममा काम गरेका अनुभवसँगै आफैले सञ्चालनमा ल्याएको बुद्धभूमि साप्ताहिकको सञ्चालक/सम्पादकको हैसियतमा उहाँसँग मेरो पहिलो पटक भेट भएको थियो । बुटवलको चाँदबारीमा रहेको ग्लोबल मिडियाको मेरो पुरानो कार्यालयमा एन.बी.जीसँग व्यवसायिक सहकार्यकै सिलसिलामा हाम्रो भेट भएको थियो । सायद २०७४ साल तिर हुनुपर्छ उहाँ र मैले पहिलो भेटमै चिया गफमा करिब १ घण्टा बिताएका थियौं । उहाँ साप्ताहिक पत्रिका बुद्धभूमि साप्ताहिक लिएर मलाई भेट्न, चिनजान गरौं भनेर मेरै कार्यालयमा आउनुभएको थियो । त्यस दिनको पहिलो भेटमै हामीले मोफसलको आम सञ्चार, मोफसलमा मिडियाको अवस्था, मोफसलमा रहेका व्यावसायीक मिडिया, मोफसलका मिडियालाई केन्द्रले हेर्ने दृष्टिकोण, विज्ञापनको बजारको अवस्था लगायत धेरै अन्तरङ्ग कुराहरु समेत त्यो एक घण्टाको छोटो बसाईमा हाम्रो छलफलको विषय बनेको थियो ।

पहिलो पटकको त्यो बसाईमा मैले एन.बी.जीको संचार क्षेत्रको लगाव, मिहिनेत र उहाँमा रहेको जुझारुपना र सकारत्मकता नोटिस गरेको थिए । १ घण्टाको त्यो पहिलो बसाईपछि भने हाम्रो भेट व्यावसायीक हिसाबले पत्रिका संचालक र बिज्ञापन दाताको रुपमा पनि बाक्लिँदै गयो । करिब १ वर्षसम्म साथीभाईको नाताले हाई हल्लोसँगै मौका मिल्दा घण्टौंसम्म आ–आफ्ना व्यवसायीक यात्राका बारेमा छलफल हुनेगर्दथ्यो । बेला–बेलामा भेटहुँदा मैले जिस्कायर तपाईको पत्रिका डेली बनाएर मिलेर चलाउँ न भनेर जिस्काउँदथे उहाँले हासेर भैहाल्छ विज्ञापन तपाई ल्याईहाल्नुहुन्छ र समाचर म हेर्छु तपाई जोडिनुभयो भने मलाई के चहियो र, १ नं बनाएर चलाउन सकिन्छ भन्ने गर्नुहुन्थ्यो । मैले पनि एउटा एजेन्सीको हिसाबले बुद्धभूमि पत्रिकालाई राम्रो स्थानीय पत्रिकाको रुपमा मिडिया प्लानिङ गर्दा क्लाइन्टको प्रपोजलमा सधै पठाउने गर्थे । यसरी हाम्रो व्यावसायिक सम्बन्ध बिस्तारै मित्रवतहुँदै गयो ।

पोखरामा रहँदादेखि नै म सञ्चारकर्मीसाथीहरु, सञ्चारगृह र समाचारसँग नजिक थिए । बुटवल आएपछि पनि विज्ञापन एजेन्सीमार्फत सञ्चार क्षेत्रमै जोडिए । एउटा विज्ञापन एजेन्सीका रुपमा समाचार बनाउने, विज्ञापन उठाउने अनि सञ्चार गृह चलाउने सबैसँग नियमित समन्वय गर्नुपर्ने हुन्थ्यो । त्यसैक्रममा मलाई पनि एउटा सञ्चार गृह व्यावसायिक हिसाबले चलाउने भुत कता–कता मनमा नआएको पनि होईन तर एउटा टिम हुनु जरुरी थियो । नयाँ मिडियाको रुपमा आउदै गरेको डिजीटल मिडीया (अनलाइन) नेपाली आम सञ्चारमा नयाँ प्रयोग र लोप्रिय बन्दै गएको थियो । मैले पनि अनलाइन मिडिया सञ्चालन गर्ने मेरो रहर र योजना बारे पहिलो पटक एन.बी जीसँगै सेयर गरेको थिए ।

फरक र व्यवसायिक ढँगले अनलाइन पत्रिका सञ्चाल गर्ने मेरो योजना सुनाउँदै एक दिनको भेटमा मेरै अफिसमा उहाँलाई भनेको थिए-मलाई एक जना विश्वासिलो र सक्षम पत्रकार जो सम्पादकको जिम्मेवारी उठाउन सक्छ, कोही भए खोजी दिनुपर्यो । मैले पनि व्यावसायीक अनलाईन पत्रिका सञ्चालन गर्ने योजना बनाएको छु । उक्त प्रस्तावमा फिस्स हास्दै उहाँले एकै पटक भन्नुभएको थियो, तपाईलाई उपयुक्त लाग्छ भने म छु त तपाईले खोजे जस्तो । मेरो साप्ताहिक पत्रिका बाहेक अरु केही छैन, अन्त आबद्ध पनि छैन । व्यवसायीक पत्रकारिता गर्नुपर्छ भन्नेमा म सधै अडिग छु । मैले जिम्मेवारी निभाउन सक्छु कि सक्दीन त्यो त हजुरले मेरो पत्रिका हेरेर पनि आँकलन पक्कै गर्नुभयो होला । उहाँको त्यो प्रस्तावसँगै म पनि एक पटक सोच्न बाध्य भए । एक वर्षको व्यावसायिक सहकार्य र सम्पर्कमा मैलेपनि उहाँको व्यवहार, बानी र क्षमता बारे केही अनुभव पनि बटुलेको थिए नै । हुनत मलाई राख्नुस भन्दै अरुका प्रस्तावहरु त्यतीबेला नआएका पनि होइनन् । अन्य संचारकर्मी साथीहरुको बानी व्यावहार तथा अरुले हेर्ने दृष्टिकोणको बारेमा पनि राम्रैसँग जानकार थिए । मैले सोचे -यत्तिको जोशिलो युवा, आफ्ना र अर्काका कुरा खुलेर गर्न सक्ने । निसंकोच प्रस्तुत हुनसक्ने आँटिलो युवालाई सम्पादक बनाउँदा राम्रै होला । त्यसदिनको चिया बसाईपछि चाडै अर्को बसाई गर्ने र थप छलफल गरेर अघि बढ्ने बाचा गर्दै हामी छुट्टियौं ।

अनलाइन मिडिया सञ्चालन गर्ने योजना बारे हल्का छलफल भएको केही दिनपछि हाम्रो पुनः भेट भयो, त्यो भेटमा अब हामी कसरी अघि बढ्ने भन्ने विषयमा हाम्रो ध्यान केन्द्रित थियो । एक–आपसमा कसरी जोडिने, सुरु गरेपछि कसरी पार लगाउने र जिम्मेवारी बहन गरेवापत के कस्तो लाभ लिने–दिने भन्ने विषयमा सहजताकासाथ निर्णय गर्यौ । सीमित स्रोत र साधनबाट व्यवसायीक यात्रा सुरु गरेर लामो दूरी पारगर्ने दिर्घकालिन अठोटका साथ ग्लोबल संचार गृह प्रा.लि.मार्फत ग्लोबल आवाज डटकम (globalaawaj.com) संचालन गर्न दर्ता प्रक्रियामा हामी अघि बढ्यौं । उहाँ अनलाइनको सम्पादक हुनुभयो । म सञ्चालक भैहाले । बुटवल चाँदबारी स्थित मेरो पुरानो कार्यालयमा बाथरुमको ढोकै अगाडी सानो टेबुल र एउटा कुर्सी सहीत कम्प्युटर राखेर globalaawaj.com अनलाइन विधिवत सुरु भयो ।

उहाँले भन्ने गरेको एउटा कुरा मलाई सधै याद आउछ, ‘सर, सुरु गरेपछि ब्याक हुन हुँदैन है, जसरी पनि पार लगाउनु पर्छ ।’ मैले उहाँलाई भन्ने गर्थे ३ वर्ष समाचारमा ध्यान दिउ ३ वर्ष घाटामै चलाउन पर्छ, गुडविल कृयट गर्न यति समय लाग्छ । त्यसपछि बिजनेस पनि आउछ खोज्न पनि सकिन्छ । ३ वर्षको खर्च कम्पनीको पूँजी हो, पहिले अनलाइनलाई विश्वासिलो बनाऔं, चिनिने बनाऔं, खोजीने बनाऔं । अनि मात्र हामी अगाडि जान्छौ, व्यावसायिक बन्छौं । यही सुत्र जपेर हामी ग्लोबल आवाज डटकमको यात्रामा उहा सम्पादकका रुपमा अनलाइनको स्टेरिङ समाउने चालक र म सञ्चालका रुपमा अनलाइनको कण्डकटर भएर सञ्चारकर्मको राजमार्गमा हुईकियौं ।

व्यावसायिक सञ्चारकर्मको राजमार्गमा हामी हुइँकदा बाटोमा केही दुःख कष्ट र अवरोधहरु नआएका पनि होइनन्, खुट्टा तान्नेहरु नभेटिएका होइनन्, बिगार्न खोज्नेहरु नभेटीएका पनि होइनन्, एक–आपसमा लडाउन खोज्नेहरुलाई नचिनिएको पनि होइन । यस्ता यावत परिस्थितिहरुलाई चिर्दै सहजताका साथ हामिले ग्लोबल आवाजको यात्रालाई यहाँसम्म ल्याउन सकेका हौ । एउटा कम्पयूटरबाट सुरुगरेको हाम्रो यात्रा सहयात्रासँगै ४ वर्षको अवधिमा हामी बुटवलमै कर्पोरेट कार्यालय मार्फत व्यावसायीक रुपमा मिडिया सञ्चालन गर्ने आट राख्ने अवस्थामा पुगेका हौं । ढिला सुरु गरौं तर, दिर्घकालिन हुनेगरी अघि बढौं भन्ने मेरो विचारमा सम्पादक एन.बी.जीको पनि सधै समर्थन रह्यों । यही धारणा आत्मसात गर्दै हतार नगरी अनलाइन टेलिभिजन सञ्चालनका लागि आधिकांश संरचनाहरु तयार भैसकेर अब छिटै परीक्षणमा जाने गरी तयारी हुदै थियौ, जुन एन.बीं जीको एउटा सपना मध्यकै एक थियो ।

सधै निस्पक्ष र कठोर भएर आफ्नो जिम्मेवारी पुरा गर्ने सम्पादक एन.बी. कंडेलले एउटा कर्तव्य भने पूरा नगरेरै विदा हुनुभयो । त्यो सधैका लागि गुनासो रहने छ । केही दिनमै अनलाइन टेलिभिजन समेत सञ्चालन गर्ने योजनामा हामी अघि बढेका थियौं । उक्त योजना पूरा हुन नपाउँदै हामीबाट उहाँले विदा लिनुभयो । अन्तिममा आफ्नो कर्तव्य पूरा गर्न नपाउँदाको पीडा सायद उहालाई पनि हुने छ । जसरी हामीले उहाँप्रति गुनासो गरेका छौं । एकआपसको पीडा र गुनासो मेट्नकै लागि भए पनि अनलाइन टेलिभिजन सञ्चालन गर्ने हाम्रो योजना पूरा गरेर छाड्ने अठोट गरेको छु । तपाई ब्रह्माण्डको जुनसुकै कुनामा भएर पनि हाम्रो त्यो अन्तिम योजनालाई सफल पार्न मलाई झस्क्याई रहनु, म त्यो पुरागर्न लागिरहने छु ।

हाम्रो व्यक्तिगत सम्बन्ध
भनिन्छ नि सम्वन्ध माथिबाट नै लेखेर ल्याईन्छ । हो मलाई पनि त्यस्तै लाग्छ । एन.बी.जी सँगकोे मेरो सम्बन्ध धेरैलाई मिडिया सञ्चालक र सम्पादक मात्रको लाग्दो हो । स्वभाविक हो लाग्नु पनि व्यावसायिक हिसाबले त्यो नै थियो । तर भावनात्मक रुपमा हाम्रो सम्बन्ध आत्मीय थियो, पारिवारिक थियो । एउटा दाजु–भाईको जस्तो थियो । करिब आधा दशकको हाम्रो सम्बन्ध निःस्वार्थ चलीरहेको थियो । सम्पादकका रुपमा मैले उहाँलाई अत्यन्त मेहनती, निडर र निःस्वार्थ पाएको थिए । पत्रकारिताको हकमा उहाँमा क्षमता फरक थियो । उहाँको शैली फरक थियो, अझ उहाँको निर्बिवादित छविनै उहाँको ताकत थियो । निस्पक्षताको मामिलामा उहाँ उदाहरणीयनै हुनुहुन्थ्यो ।

उहाले पनि मलाई सञ्चालकको रुपमा सहयोगी पाउनुभयो, त्यतीमात्र नभई मलाई एउटा अभिभावकको रुपमा लिएको पाउथे । मलाई पनि पारिवारिक सदस्य जस्तो महसुस हुन्थ्यो । एक-अर्काको घरमा सहजै आउ–जाउ चलिरहन्थ्यो । त्यही भएर पनि होला बेला–बेलामा हाम्रो परिवारमा उहाको खोजी हुन्थ्यो । सर मैले कुनै गलतकाम गरे जस्तो लागे, गलत बाटो लिए जस्तो लागे निसंकोच मलाई सच्याउनुहोला भनेर सदैव भन्नु हुन्थ्यो । उहा आफै भन्नुहुन्थ्यो तपाईसँग मलाई डर लाग्छ भनेर । ‘किन ?’ भनेर सोद्धा उहाले ‘तपाईमा मैले एउटा अभिभावकीय ब्यावहार पाउछु सर ।’ भनेर भनेर जवाफ पाउँथे । हो म सँग जोडीएका सबै सहकर्मीहरुको माथिल्लो हाकिमको नाताले अभिभावकीय भूमिकामा त म थिएनै । तर एन.बी.जीको हकमा म अलि फरक थिए कि ।

हामी नेपालका धेरै ठाउँहरु पूर्वदेखि पश्चिमसम्म धेरै यात्रा गरेका छौं । यात्रामा सँगै बस्यौं, खायौ, डुल्यौं हास्यौं, हसायांै । आधा दशकको यो अवधिमा हामी सँग–सँगै रोयौं पनि । खुशी सँगै साट्यौ पनि, पीडा सँगै बाड्यौं पनि । उहाँलाई परेको पीडा आफ्ना निजी कुराहरु सहजै मलाई सुनाउनुहुन्थ्यो । मैले पनि सकेसम्म हलगर्न सक्दो भूमिका खेल्दथे । कहिलेकाँही मलाई पर्दा म पनि उहाँसँग सहजै सेयर गर्ने गर्थे । हो कहिलेकाही काम गर्ने सिलशिलामा हामी बीच पनि तीतो–मिठो रह्यो पनि होला । तर त्यो लामो बसेन क्षणिक हुन्थ्यो । सम्झनेगरी त्यस्तो भएको मलाई आजसम्म याद छैन । मेरा लागि उहाँ धेरैजनासँग लड्नु भएको थियो । डिबेट गरिरहनुहुन्थ्यो । उहाँसँगको यस्ता सम्झना धेरै छन्, यो छोटो बसाईका । अब उहाँ उठेर मेरा लागि कहील्यै पनि कसैसँग लड्नुहुने छैन, झगडा गर्नुहुने छैन । सायद यस्तै प्यारो मान्छे भएर होला दैवले पनि हाम्रो मित्रतालाई पचाउन सकेन, उहाँलाई अल्पआयूमै हामीबाट खोसेर लग्यो । उहाँ जहा भएनि उहाँले कोर्नुभएको पत्रकारिताको बाटोमा सदा अगाडि बढिनै रहने छु । उहाँसँग जोडिएको उहाँको नाम कहिल्यै पनि मर्न दिने छैन । ग्लोबल आवाजका संस्थापक सम्पादकका रुपमा उहाँको नाम सदा अमर रहिरहने छ । उहाँसँगका यादहरु हामीसँग सदा रहिरहने छ ।

हाम्रो त्यो अन्तिम भेट
मंसिर-४ आउन २ दिन बाँकी थियो । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सिंगो देश केन्द्रित थियो । हामी पनि सोही अनुसार कार्यालयको कामकाजमा व्यस्त नै थियौं । एक दिन आगडिबाट मेरो उहासँग भेट भएको थिएन । फोनमा मात्र कुराहरु भएका थिए, त्यस दिन पनि म कार्यालय ढिलो आएँ । करीब १ बजे पछि मात्र । चुनाव विशेष विषय वस्तु पाठकलाई कसरी पस्किने भन्ने विषयमै सम्पादक कंडेलको ध्यान थियो । म आउँदा उहाँहरु त्यस दिन भैरहवा जानु भएको रहेछ । म पनि करिब ३ बजे तिर बैंकको कामले भैरहवा जानु पर्यो र गए । बैंकको काम सकी–वरी निस्कने क्रममा उहाँ र निर्देशक सृष्टि अधिकारीसँग बैंक आगाडि भेट भयो । मैले खाना नखाएको हुनाले हल्का भोक लागेकोले लुम्बिनी रोड स्थित स्टार बिरियानीमा सँगै खाजा खाएर छुटिने प्रस्ताव राखे । त्यसपछि हामी बिरियानी खान गयौ । भैरहवाको यही होटलमा खाएको बिरियानी र गफिएको पल नै अन्तिम भेट बन्यो । मैले नै कर गरेर हामी त्यहाँ खान बसेका थियौं । सायद अन्तिम पटक सँगै खान लेखेको रहेछ ।

करिब एक घण्टाको त्यो बसाईमा ४ वर्षसम्मको यात्राको बारेमा तिन जनाले हल्का समीक्षासँगै चुनावपछि कसरी अघि बढ्न सकिन्छ भन्ने बारेमा छलफल पनि गर्यौ । उहाँले गम्भिर भएर केही सर सल्लाह पनि प्रस्तुत गर्नुुुभएको थियो । उहाँमा अनलाइनले लिएको उचाई थाम्नै नसक्नेगरी अघि बढेको र सीमित स्रोत–साधनले पाठकसामू निरन्तरतासँगै अझ परिस्कृत हुन गाह्रो पर्ने हो कि भन्ने चिन्ता थियो । त्यो गम्भिरता र चिन्तासँगै कसरी अगाडि बढ्ने भन्ने उत्साहजनक योजनाहरु पनि थिए । त्यो बसाईसँगै दिन ढल्किँदै थियो । हामीलाई घर फर्किनुपर्ने । त्यहाँबाट छुट्टिएर म बजार तिर लागे, सम्पादक कंडेल र निर्देशक अधिकारी बेथरी हुदै फर्साटिकर लाग्नु भयो ।

छुट्टिएपछि पनि सम्पादक कंडेल घर पुगे–नपुगेको बारे मैले एकिन गरे । उहाले हास्दै भन्नुभयो फर्साटिकर पसेर चिया पियर साग र केरा टिपीवरी कोठामा पुगेर पकाउन लगाई त सके । घरमा नास्ता पनि पुर्याएर आधा घण्टाको समय मागेर बाहिर निस्केको छु । त्यो सम्वाद भएको झण्डै आधा घण्टा वित्न नपाउँदै करिब साढे ७ बजेको समयमा ग्लोबल आवाजका समाचार संयोजक डि.बी. सुस्लिङको फोन आयो । निकै आत्तिएको स्वरमा उहाले दुर्घटनाको खबर सुनाउनुभयो ।

आत्तिदै तिलोत्तमा स्थित घरबाट निस्किएर दुर्घटना भएको स्थल तर्फ हानिए । मन असान्त थियो, म भगवानसँग कहिल्यई पनि केही माग्नेमा त्यती विश्वास गर्दिन, तर जीवनमा पहिलो पटक धेरै चोटी केही नभईदिएको होस भगवान भन्दै पटक–पटक पुकारा गरे । गाडीमा बसेर आगडि बढे तर हात खुट्टाले काम गर्न मुस्किल भयो । दिमाखमा अनेकन कुराहरु खेलीनै रहे । आफूलाई असहज महशुस भएपछि गाडीलाई सर्भिसलेनतर्फ मोडे । सर्भिसलेन हुँदै बिस्तारै घटना स्थलमा आइपुग्दा ठूलो भिडभाड थियो । उत्रन नपाउँदै उहाँ यस संसारमा नभएको जस्ता कुराकानी भिडमा सुन्न पुगे, दिमाख शुन्य भयो, केही सोच्नै सकिन । दिउँसो बिर्यानी खाएर छुट्टिएका साथी सडकमै लम्पसार परेको दृश्यले मानसपटल नै शुन्यको अवस्थामा पुग्यो । दिन ढल्किएर रातले छोपिसकेको त्यो पल मेरा लागि थप अध्यारो बन्यो । स्मरण शक्तिले काम गर्न छाड्यो, त्यत्रो ठूलो भिडमा पनि आफूले मलाई शुन्यता र एक्लै अजङ्गको पहाडले च्यापिएको महशुस गरे ।

तत्काल मेरो दिमाखले उहाकी जीवन संगिनी मनुलाई सम्झियो, ति साना बाबु–नानीलाई सम्मिmयो । मनुलाई बताउने कसरी, थाहा पाईन् भने सम्हाल्ने कसरी ? तत्कालै सृष्टिलाई फोन गरे र मनु भएको ठाउँमा जान भने । उनलाई थाह नहोस है भनेर सतर्क रहन आग्रह पनि गरे । अनि नेपाल पत्रकार महासंघ अध्यक्ष रामराज दाजुसंग देबीनगरमा रहेको उहाँको ससुराली(सानीआमा) को घरमा जानकारी गराउन भनेर हिँडे ।
कुनै समय मनलाई यति धेरै कठोर पार्नु पर्ने रहेछ भन्ने कुरा त्यो घटनाले मलाई सिकायो । केही घण्टा अगाडी टेलिफोनमा गफिएका सम्पादक कंडेललाई यही हातले उठाएर लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा राख्दै गर्दा अहँ उहाँ एक शब्द बोल्नु भएन । सधै रमाईलो र हसिलो पाराले गफिने उहाले त्यो दिन न त खित्का छाडेर हास्नुभयो, न त मलिन भएर आँसु चुहाउनुभयो । बस उहाको शरिबाट रगतका थोपाहरु सब गृहसम्म लैजादै गर्दा चुहिनै रहे । लम्पसार बनेर उहाँ अब कहिल्यई नमुस्कुराउने, नरुने गरी सदाका लागि अस्ताउनुभयो ।

ग्लोबल आवाज अनलाईनको स्थापनाकालदेखि नै सम्पादक रहेर लाखौं पाठकहरुलाई सत्य र निस्पक्ष समाचार पस्किने प्रिय पात्रको अप्रिय घटनाबाट भएको स्वर्गबासले हामी स्तब्ध र मर्माहत भएका छौं । उहाको अवसानसँगै हाम्रो अबको यात्राका बारेमा पनि प्रश्नहरु उब्जिएका छन् । ति सबै प्रश्नहरुलाई पार गर्दै अघि बढ्नुपर्ने हाम्रो कर्तव्य पनि हो । सधै निस्पक्षता र सत्यका पक्षमा खरो रुपमा प्रस्तुत हुने सम्पादक कंडेलले विगतमा प्रस्तुत गरेका केही योजना र मार्गदर्शनहरुलाई आत्मसाथ गर्दै सम्पूर्ण पाठकहरुका सामू उही गती, उही निस्पक्षता, उही सत्यतथ्यका साथ प्रस्तुत हुनुपर्ने चुनौतीलाई पूरा गर्ने प्रतिवद्धता गर्दछौं । सम्पादक कंडेल यस संसारबाट सदा सदाका लागि भौतिक रुपमा विदा हुदै गर्दा उहाले पुर्याएका हरेक योगदान भने आजिवन अविष्मरणीय रहनेनै छ । आज उहाँको १३ औं दिनको पूण्य तिथिमा स्वर्गवासी आत्माको बैकुण्ठ बासको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु साथै दुःखद घटनाबाट शोकाकुल सम्पूर्णमा समवेदना सहित अलविदा !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।