ताजा अपडेट »

रुपन्देहीका सबै क्षेत्रको नतिजा सार्वजनिक, प्रतिनिधिसभामा कांग्रेस शून्य

शनिबार, १० मंसिर २०७९, १७ : ३३
8 Shares

भैरहवा । रुपन्देहीमा मतगणना सकिएको छ । रुपन्देहीको अन्तिम मतगणना अनुसार नेकपा एमाले ३ क्षेत्रमा बिजयी भएको छ भने नेपाली कांग्रेस कुनै पनि क्षेत्रमा जित निकाल्न सकेन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँण र राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बोहरा बिच कडा टक्कर भए पनि अन्ततः खाँण पराजित भएका छन् ।

रुपन्देही जिल्लाको अन्तिम मत परिणाम अनुसार प्रतिनिधि सभा तर्फ रुपन्देही क्षेत्र नम्बर १ मा नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन् । क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत श्याम श्रेष्ठका अनुसार विश्वकर्माले २४ हजार ८ सय ७२ मत पाए भने उनका निकटतम् प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार घनश्याम भुषालले २१ हजार ३ सय ८ मत ल्याएका छन् । नेकपा एमालेका सचिव समेत रहेका छविलाल नेकपा एमालेकै पूर्व नेता भुषाललाई ३ हजार ५ सय ६४ मतले पराजित गरेका छन् ।

रुपन्देह निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेकै उपाध्यक्ष बिष्णु पौडेल लगातार चौथो पटक जित निकालेका छन् । पौडेल २७ हजार १ सय ४८ मतले विजयी भएका हुन् । उनको निकटतम् प्रतिद्धन्द्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल २५ हजार ७ सय ८५ मत ल्याए पनि पराजित भए । सत्ता गठबन्धनको समर्थन प्राप्त राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव बहादुर थापा मगरले २२ हजार १० मत पाए ।

कडा टक्कर भएको रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा अन्ततः राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बोहरा २ हजार ६ सय ८१ मतान्तरले विजयी भएका छन् । सबैको चासोको केन्द्र रहेको रुपन्देही–३ को नतिजा सबै भन्दा ढिलो आएको थियो । मूख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाका अनुसार रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बोहराले ३६ हजार ७ सय १७ मत पाए । । यस्तै नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणले ३४ हजार ३६ मत ल्याए ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका सर्वेन्द्रनाथ शुक्ल तेश्रो पटक विजयी भएका छन । शुक्ल २८ हजार मत ल्याई विजयी घोषित भए । उनका निकटतम् प्रतिद्धन्द्धी नेपाल कांग्रेसका प्रमोद कुमार यादव २२ हजार ७ सय ४ मत पाएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए । यादव यस अघि सोही क्षेत्रबाट सांसद चुनिएका थिए ।

रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा एमालले सहज जित निकालेको छ । तिलोत्तमा नगरपालिकाका निर्वतमान प्रमुख समेत रहेका बासुदेव घिमिरेले नेपाली कांग्रेसका भरत कुमार शाहलाई पराजित गरेका छन् । घिमिरे ३६ हजार ८ सय २२ मत पाउदा निर्वतमान सांसद समेत रहेका शाहले २७ हजार १ सय २० मत मात्र पाएका छन् । प्रदेश सभा तर्फ रुपन्देहीमा मिश्रित परिणाम देखिएको छ । प्रतिनिधि सभामा शून्य रहेको नेपाली कांग्रेस प्रदेश सभामा २ स्थानमा जित निकालेको छ । यस्तै नेकपा एमाले ४ स्थान, लोसपा २ स्थानमा, जनमत र राप्रपा ले १÷१ स्थानमा जित निकालेका छन् ।

पछिल्लो मत परिणाम अनुसार प्रदेश सभा तर्फ रुपन्देही क्षेत्र नम्बर १(क) मा राप्रपाका आशिष चौधरी (१७,७८५ मत), १(ख) मा नेपाली कांग्रेसका अब्दुल रज्जाक (२२,१८४ मत) विजयी भएका छन् । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा रहेको प्रदेश सभा तर्फको २ स्थानमै एमालेले जित निकालेको छ । रुपन्देही २(क) मा लिला गिरी (१७,६३२ मत) र भोजराज श्रेष्ठ (१६,२९८) विजयी भएका छन् ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३(क) मा लोसपाका सन्तोष कुमार पाण्डे (१४,९२८ मत ) तथा ३(ख) मा तुलसी प्रसाद चौधरी (१६,३९४मत) विजयी भएका छन् । । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४(क) मा लोसपाकै कन्हैया बनिया (१५,१५५ मत) र ४(ख) मा नेपाली कांग्रेसका वसिउद्दिन खाँन (११,३०५ मत) विजयी भएका छन् । क्षेत्र नम्बर ५(क) मा नेकपा एमालेका भुमिश्वर ढकाल (१९,०७८ मत) र ५(ख) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता (१२,९४१ मत) विजयी भएका छन् ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा