ताजा अपडेट »

मतदाता रिझाउने अन्तिम कसरतमा उम्मेदवार

मंगलबार, २९ कार्तिक २०७९, १२ : ४३
16 Shares

चितवन । आसन्न निर्वाचनका लागि प्रचारप्रसार गर्ने अवधि तीन दिन मात्रै बाँकी छ ।  आइतबार हुने निर्वाचनको मौन अवधि बिहीबारदेखि सुरु हुनेछ । मौन अवधिमा प्रचारप्रसार गर्न नपाइने भएपछि चितवनका उम्मेदवारे घरदैलो अभियानलाई तीव्र पारेका छन् । 

तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा गठबन्धन दल र एमालेबीच मूख्य प्रतिस्पर्धा हुने देखिए पनि यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनौती दिने मतदाताको आँकलन छ । प्रमुख राजनीतिक दलहरुले भरतपुरमा चुनावीसभा पनि सम्पन्न गरिसकेका छन् । सत्ता गठबन्धनले शनिबार सत्ता गठबन्धनले भरतपुरको गेष्टहाउस चौरमा जनसभा आयोजना गर्यौ भने सोही ठाउँमा ने नेकपा ९एमाले० ले सोमबार जनसभा सम्पन्न गर्यो ।

शनिबारको जनसभालाई सम्बोधन गर्ने प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अझै केही वर्ष यही गठबन्धन कायम रहने भन्दै आफ्ना उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । देउवाले स्थायी शान्ति र विकासका लागि लोकतान्त्रिक–वामगठबन्धनले चुनाव जित्नुपर्ने धारणा राखे ।

सोही कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई जनमत सङग्रहको संज्ञा दिँदै गठबन्धनका उम्मेदवार विजयी भए मात्र देशमा स्थायित्व कायम हुने बताए । 

उनले चितवनबाट गोरखा जानुको कारण बताउँदै आफू चितवनकै स्थायी बासिन्दा भएको प्रष्ट पारे । प्रचण्डले निर्वाचनपछि गठबन्धनको सरकार बन्ने बताउँदै उम्मेदवारहरुलाई मत मागे । 

गठबन्धनले सभा गरेको दुई दिनपछि सोही ठाउँमा एमालेले आयोजना गरेको जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार निर्माण भएमात्रै देशमा स्थिर सरकार आउने दाबी गरे । 

गठबन्धन र एमाले दुवैका जनसभा सकिएपछि प्रमुख पार्टीका उम्मेदवार आज र भोलि जनमत धेरै भएको क्षेत्रमा केन्द्रित घरदैलो र कोणसभा गर्दैछन् । उम्मेदवार व्यक्तिगत रुपमा मतदाता भेट्ने र फोन गरेर समेत मत मागिरहेका छन् । 

घरदैलोका क्रममा भेट्न नपाएका मतदातालाई गठबन्धनका उम्मेदवारले फोनमार्फत कुरा गरेर मत मागिरहेको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए । 

उनले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका अन्तिम कसरतमा लागेको भन्दै पार्टीले कार्यकर्ता व्यापक रुपमा परिचालन गरेको जानकारी दिए । 

माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले धेरैभन्दा धेरै मतदाता भेटघाट गर्न उम्मेदवार घर–घरमा गइरहेको बताए। उनले निर्वाचनको सङ्घारमा कुन उम्मेदवारलाई मत दिने भन्ने निर्णय नगरिसकेका मतदातालाई आफ्नो पक्षमा पार्न गठबन्धनका पार्टी लागिरहेको जानकारी दिए । 

नेकपा (एमाले) चितवनका उपसचिव प्रकाश ढुङगानाले पार्टीका उम्मेदवार अवको तीन दिन घरदैलो र जनता भेटघाटमा नै केन्द्रित हुने बताए । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले भने यसपटक जनसभाको आयोजना नगर्ने तर घरदैलो र कोणसभा भने मौन अवधि सुरु हुनुभन्दा अघिसम्म गर्ने भएको छ । राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले पार्टीले घरदैलोलाई नै प्राथमिकता दिएको भन्दै आज एक दर्जन बढी ठाउँमा भेटघाटका कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।  

राष्ट्रिय स्वतन्त्र पार्टीले भने अन्तिम कसरतका रुपमा मङ्सिर १ गते नारायणी नदी किनारमा जनसभा गर्ने जनाएको छ । पार्टी सभापति रवि लामिछानेले तीन दिन चितवन केन्द्रित घरदैलो गर्ने बताए । 

चितवनका तीनवटै निर्वाचन क्षेत्रमा स्वतन्त्र रुपमा उम्मेदवार बनेकाहरुले पनि मतदाता रिझाउन अन्तिम दौडधूपमा लागेका छन् । जिल्लामा चार लाख आठ हजार तीन सय ४२ मतदाता छन् ।-रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।