ताजा अपडेट »

रुपन्देहीको मर्चवारवासी भन्छन्- ‘ठूला आश्वासन हैन, मल र बिउ उपलब्ध गराउनेलाई हाम्रो भोट’

सोमबार, २८ कार्तिक २०७९, १० : ३८
12 Shares

भैरहवा । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदको लागि उम्मेदवाहरुले घरदैलो अभियान तिव्र बनाएका छन् । बिकास निर्माणका ठूला ठूला आश्वासन एवम मतदातालाई बिभिन्न प्रलोभन देखाउदै उम्मेदवारहरुले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन्।
क्षेत्र नम्बर ४ अन्र्तगत पर्ने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा पनि बिभिन्न पार्टीका उम्मेदवारहरु मतदाताको घरदैलोमा बिभिन्न आश्वासन संगै पुगिरहेका छन् ।

मर्चवारमा अपेक्षाकृत रुपमा कम बिकास भएको बताउदै उम्मदेवारहरु आफुलाई भोट दिए मर्चवारमा बिकासका ठूला ठूला विकासका सपना बाड्दै छन् । बाटो, सिंचाईका ठूला आयोजना, ठूला अस्पताल निर्माणको सपना बाड्दै हिडेका उम्मेदवाहरुले मर्चवारका सामान्य मतदाताको मन जित्न सकिरहेका छैनन् । मर्चवारका सामान्य परिवारका मतदाताहरु बिभिन्न उम्मेदवारहरुका ठूला ठूला आश्वासन भन्दा पनि समयमा मल र बिउको अपेक्षा गरेका छन् । नेपालकै अन्न भण्डारको रुपमा रहेको मर्चवारमा समयमा मल र बिउ उपलब्ध गराउने उम्मेदवारहरुलाई आफुले चयन गर्ने उनिहरुको भनाई छ ।

कोटहीमाई गाउँपालिका वडा नम्बर ६ बोगडीकी ७५ बर्षिय मोहबती हरिजनले मर्चवारमा बसनेले मल र बिउको लागि सास्ती भोग्दै आएको बताइन । अझै पनि सीमावर्ती भारतीय बजार नौतनवाको भर परेको उनका भनाई छ । “स्थानिय जनप्रतिनिधि आए केही आराम हुन्छ, हाम्रो लागि काम गर्छन भन्ने अपेक्षा थियो ।” हरिजनले भनिन “तर केही भएन, हामी आफै पारी गएर पुलिसको पिटाई खादै मल र बिउ ल्याउछौं, मेहनत गरेर रोप्छौं र ईश्वरले दिएको खान्छौं ।” उनले सरकारले गरिब र पिडितको लागि पठाएको राहतमा पनि नेताहरुले बेईमानी गरेको गुनासो गरिन । “सरकारले गरिब बिपन्नको राहतको लागि भनेर केही समान पठाई दिन्छ ।” उनले भनिन “नेताहरुले त्यो पनि छानीछानी आफ्नै मान्छे तथा कार्यकर्तालाई बाड्छन, हाम्रो लागि कोही छैन ।” जसले सहज रुपमा मल र बिउबिजन उपलब्ध गराउने प्रतिवद्धता गर्छ उसैलाई आफ्नो भोट दिने वृद्धा हरिजनको भनाई छ ।

उनकै भनाईलाई मेल खान्छ मर्चवारी गाउँपालिका वडा नम्बर ६ बगौलीकी सुनिता कुमारी यादवको पनि । यादवले पनि स्थानिय नेताहरु आफ्नो मान्छे छानी छानी बिउ र मल दिएको गुनासो गरिन । “गँहु छर्ने बेला भएको छ, वडाले २ बोरा गँहुको बिउ दिने भनेको थियो अहिले ४–५ किलो दिन्छु भन्छ, त्यति बिउले हामीले के गर्ने ?” यादवले भनिन् “हामीमाथि चरम भेदभाव भएको छ ।” उनले उम्मेदवाहरु अहिले घरमै आएर बिभिन्न प्रलोभन दिने गरे पनि जितेर गए पछि भेदभाव गर्ने गरेको आरोप लगाईन । उनले सबैले मत दिएको कारण सबैलाई एकै नजरले हेर्नु पर्ने धारणा समेत राखिन् ।

मर्चवारका उम्मेदवारहरुले यहीकै समस्यालाई ध्यानमा राखेर कृषिलाई ग्राहयता दिनुपर्ने मर्चवारका मतदाताहरुको भनाई छ । कोटहीमाई गाउँपालिका वडा नम्बर ५ का कृषक रामअवध पासवानले उम्मेदवाहरुलाई ठूला बिकासे योजना भन्दा पनि कृषकको समस्यालाई ध्यानमा राखेर एजेण्डा बनाउन सुझाव दिए । “चुनाव त एक दिनमै सकिन्छ, कृषि भनेको बर्षभरि खानलाई गरिन्छ ।” उनले भने “त्यसकारण सरकारले पनि कृषकका समस्या ध्यानमा राखेर निति नियम बनाउनुपर्छ ।”

उनले उम्मेदवारहरु अहिले बिभिन्न ठूला आश्वासन लिएर आउने गरे पनि कृषकको समस्याको दिर्घकालीन रुपमा हल हुने गरि कसैको एजेण्डामा पर्न नसकेको बताए । नेपालमै कम मात्रामा मल आउने गरेको बताउदै उनले यसको दिर्घकालीन समाधानको लागि नितिगत रुपमै निर्णय हुनुपर्ने सुझाव दिए । “कृषिको लागि जसले दिर्घकालीन समाधानको उपाय बताउछ, मेरो भोट उसैलाई हुन्छ ।” पासवानले भने
पासवानले अहिले मध्य खेतीपातीकै समयमा सरकारले निर्वाचन गरेर कृषकलाई झन समस्या थपिदिएको गुनासो गरे । उनले सरकार कहिल्यै पनि कृषकको समस्या बुझ्न नसकेको बताछन् ।

मर्चवारी गाउँपालिका, कोटहीमाई गाउँपालिका, सम्मरीमाई गाउँपालिका, मायादेवी गाउँपालिका, सियारी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका केही वडा गरि ३१ वटा वडा रहेको निर्वाचन क्षेत्र नम्बर ४ मा १ लाख ५ हजार ६ सय ५९ जना मतदाता रहेका छन् ।
यस क्षेत्रमा नेपाली कांग्रेसबाट निर्वतमान सांसद समेत रहेका नेपाली कांग्रेसका नेता प्रमोद कुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ल, जनमत पार्टीका केन्द्रिय सचिव भोपेन्द्र प्रसाद यादव, नेकपा एमालेको समर्थनमा जनता समाजवादी पार्टीका ओम प्रकाश यादव (गुल्जारी) लगायतका नेताहरु प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा