ताजा अपडेट »

‘महापुरूष’ हेर्न २५ वर्षपछि हल पुगे कुलमान घिसिङ

आइतबार, २७ कार्तिक २०७९, ११ : ५७
13 Shares

काठमाडौं । नेपालमा लोडसेडिङको अन्त्य गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रदर्शनरत फिल्म ‘महापुरूष’ हेरेका छन् । उनले आफ्नी श्रीमतीसँगै काठमाडौंको चावहिलमा रहेको एफएक्युब सिनेमाजमा पुगेर फिल्म हेरेका हुन् । मह जोडीको अभिनय रहेको र फिल्मलाई हेर्नेले राम्रो भनेकाले दर्शक बनेर बिदाको समय सदुपयोग गरेको उनले बताए ।

शनिबार साँझ ५ बजेर १५ मिनेटको शोमा फिल्म हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले आफूलाई मन पर्ने सामाजिक विषयवस्तुमै फिल्म रहेको जानकारी दिए । ‘हलमा फिल्म हेरिरहँदा उठान गरेको विषयले छोयो । सरल प्रस्तुति तर गम्भीर विषय । राम्रो कथा र नेपाली समाजसँग जोडिएको विषय’, निर्देशक घिसिङले भने, ‘हलमा खर्चेको समय र पैसाको सदुपयोग भयो । मन भित्रको अन्धकारलाई हटाउदै खुसी हुनुपर्छ भन्ने सन्देश दिएको छ । फिल्म राम्रो बनेको छ ।’

उनले फिल्मले उठान गरेको कथावस्तु, कलाकारको अभिनयको प्रशंसा गरे । महापुरूषरुपी मानवको मनभित्र गुम्सिकेको वास्तविकतालाई देख्न पाएको र मनोरञ्जनसँगै शिक्षा दिने पक्ष सशक्त रहेको प्रतिक्रिया दिए । निर्देशक घिसिङलाई दर्शकको रुपमा हलमा पाउँदा आफू उत्साहित भएको लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए । 

‘हामीले अध्यारोमा गुम्सिएको आमाबुवालाई उज्यालो दिने प्रयास गरेका हौँ । आज उज्यालोको देउतालाई दर्शकको रुपमा पाउँदा सफल भएका छौँ’, निर्देशक भट्टराईले भने, ‘हल भिजिटमा पाएको प्रतिक्रियाले दर्शकसँग जोडिएको फिल्म बनाए भन्ने लागेको छ । अघिल्लो फिल्मको तुलनामा यसले पाएको वर्ड अफ माउथ निकै बलियो छ । म दर्शकसँग जोडिएको आभाष भइरहेको छ ।’ प्रतिक्रिया लिन नव अभिनेता अरुण क्षेत्री र नव अभिनेत्री अञ्जना बराइली पनि हल पुगेका थिएँ ।

निर्माता दीपेश खत्रीले फिल्ममार्फत एकल अभिभावकको समस्यालाई उजागर गर्ने प्रयाश गरेको बताए । ‘एक्लोपनमा गुम्सिएका बुवाआमाको मर्म फिल्ममार्फत व्यक्त गरेका हौँ । महापुरूष नभई मानव बनेर बाच्न फिल्मले प्रेरित गर्नेछ’, निर्माता खत्रीले भने । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्ट लगायतले अभिनय रहेको छ । 

फिल्ममा एक्लोपनको कथा देखाइएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।

षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गरेकाछन् ।

फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य ÷ शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली, मिडिया कसल्टेन दिनेश सिटौला फिल्म्स, पब्लिसिटी डिजाइन ट्राइडेन्ट, सहायक निर्देशक शान्तिम कोइराला र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।