ताजा अपडेट »

मेडिकल कलेज बनाउन सरकारले बेवास्ता गर्यो : एमाले सचिव विश्वकर्मा

सोमबार, २१ कार्तिक २०७९, १८ : ०४
2 Shares

बुटवल । नेकपा एमालेका सचिव छविललाल विश्वकर्माले तिलोत्तमा १ र ८ को २ सय बिघामा निर्माण गर्ने भनी अघि बढेको सरकारी मेडिकल कलेज निर्माणमा अहिलेको सरकारले बेवास्ता गरेको बताएका छन् । केपी ओली नेतृत्वको सरकारको पालामा २०७५ चैत ८ गते मेडिकल कलेज बनाउन नयांमिलमा कार्यालय नै स्थापना भएर कम अघि बढेपनि एमाले सरकार ढालिएपछि काम अवरुद्ध भएको विश्वकर्माले बताए ।

एमाले नेतृत्वको सरकारले सात वटै प्रदेशमा एक एक वटा प्रादेशिक स्तरका मेडिकल कलेज बनाउने निर्णय अनुसार पहिलो चरणमा लुम्बिनी र प्रदेश २ मा बनाउने गरी सरकारले वजेट पनि छुट्टाएको थियो । एमाले सरकारमा रहंदासम्म गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेपनि सरकार ढालेर बनेको ५ दलीय गठबन्धनले काम अघि बढाउन बेवास्ता गरेको रुपन्देही १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका नेता विश्वकर्माले बताए । मेडिकल कलेजसहित एमालेले अघि सारेका ठूला आयोजनाहरुमा गठबन्धन सरकारले वजेट कटौति गर्ने र अघि बढाउन बेवास्ता गरेको भन्दै मंसीर ४ पछि गठन हुने नेकपा एमालेको सरकारले त्यसलाई पूर्णता दिनेमा जोड दिए । अहिलेको सरकारको गलत नीतिका कारण देशको आर्थिक अवस्था कमजोर बन्दै गएको रु आर्थिक समस्या देखाउदै विकास निर्माणको कामहरु रोकेको उम्मेदवार विश्वकर्माले बताए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–८, मा नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त घरदैलो कार्यक्रममा बोल्दै पुर्व मन्त्री समेत रहेका विश्वकर्माले डेंगुको प्रकोपले आमनागरिकहरु आक्रान्तित भएको अवस्थामा समेत गठबन्धन सरकारले कुनै पहल नगरेको बताए । नेता विश्वकर्माले रुपन्देही १ को विकासको लागि दशगजाबाट कामको शुरुवात गरेको दावी गर्दै नमुना क्षेत्र बनाउने गरी आफुले काम गर्ने बताए । सोही अवसरमा बोल्दै क्षेत्र नम्वर १(२) प्रदेश सभा सदस्यका उम्मेदवार दधिराम न्यौपानेले विकास निर्माण र शुसासनको लागि नेकपा एमाले, राप्रपा र जसपा प्रतिवद्ध रहेको बताए । राप्रपाका नेता रुक्मागत पाण्डेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आंट गरेर नेपालको चुचे नक्सा जारी गरेको र भारतीय नाकावन्दी विरुद्धमा सामना गरेको कारण निर्वाचनमा सहकार्य गरेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।