ताजा अपडेट »

रुपन्देही-२ मा बामदेव गौतम नेतृत्वको एकता अभियानले विष्णु पौडेललाई समर्थन गर्ने

सोमबार, २१ कार्तिक २०७९, १४ : १६
18 Shares

बुटवल । ने.क.पा. राष्ट्रिय एकता अभियानले रुपन्देही क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बिष्णु पौडेललाई समर्थन जनाउने भएको छ । एमाले उपाध्यक्ष पौडेललाई आगामी मंसिर ४ को निर्वाचनमा मतदान गर्न एकता अभियानले आह्वान गरेको छ ।

पौडेललाई समर्थन गरेको जानकारी गराउन सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज  महेन्द्र अर्यालले भने-'बिष्णु पौडेल एमाले पार्टीका लागि मात्रै नभएर सिंगो राष्ट्रका लागि आवश्यक पात्र भएका कारण हामीले समर्थन जनाएका हौं ।' उनले अघि भने  'विष्णु पौडेल सिंगो बामपन्थी आन्दोलनलाई एकीकृत गरेर लैजानुपर्छ भन्ने मान्यता बोकेका व्यक्ति हुन् ।  नितान्त एमाले मात्रै नबुझेर उहाँ राष्ट्रको नेता हो । राष्ट्रका लागि आवश्यक नेता हो ।' यहाँका उद्योगीहरुको लगानी, युवाहरुको रोजगारी लगायतका कुराहरुको ग्यारेन्टीका लागि पनि पौडेललाई जिताउन आवश्यक रहेको उनले बताए । 

बामदेव गौतम नेतृत्वको एकता अभियानका रुपन्देही जिल्ला ईन्चार्ज राधेश्याम गुप्ताले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा आफूहरुको २५ सय बढी मतदाता रहेको दाबी गरे । आगामी निर्वाचनका लागि एकता अभियानले बुटवलबाट पौडेललाई समर्थन गरेसँगै देशैभरका उम्मेदवारहरुलाई समर्थन गरेर अघि बढ्ने अभियानमा रहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।